प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे खगेन्द्र, मागे माफी
काठमाडौं । ‘हाम्रो पार्टी नेपाल’ का अध्यक्ष खगेन्द्र सुनारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो कारणले आलोचना खेप्नु परेको भन्दै माफी मागेका छन् । अध्यक्ष सुनारसँगै हाम्रो पार्टी नेपालको टोली शुक्रबार प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेको थियो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनु पर्ने बताइन् ।
प्रधानमन्त्री कार्कीले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिइन् । सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुनसक्छ भनेर आफूले पनि प्रयास गर्ने बताइन् ।
हाम्रो पार्टी नेपालका अध्यक्ष सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्थाका लागि आग्रह गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेकोबारे आफ्नो मत प्रधानमन्त्रीलाई राखेको अध्यक्ष सुनारले बताए । यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै अध्यक्ष सुनारले क्षमायाचना समेत गरेका थिए । उनले विषम परिस्थितिमा मुलुक सम्हाल्न अगाडि सरेकामा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरेका छन् ।
