`

साम्प्रदायिक विभाजनबाट देश बचाउन पार्टी खोल्यौं : खगेन्द्र सुनार

Nepal One HD ८ मंसिर २०८२ १४:३८
प्रमुख खबर

काठमाडौं । ‘हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले देशमा बढ्दो साम्प्रदायिक विभाजन रोक्न आफ्नो पार्टी वैकल्पिक शक्ति रूपमा सिर्जना गरिएको बताएका छन् । उनले सोमबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुरा गर्दै स्थापित दलहरू व्यक्ति–केन्द्रित बन्दै गएको आरोप लगाउँदै नयाँ पार्टी सबैका लागि ‘साझा राजनीतिक घर’ बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सुनारका अनुसार परम्परागत ठूला दलहरू व्यक्तिको नामसँग जोडिँदै गएपछि सर्वसाधारणले अपनत्व महसुस गर्न नसकेको परिस्थिति बनेको छ । उनले भने, ‘एमाले केपी ओलीको पार्टी जस्तो भयो, कांग्रेस देउवाकै पार्टी जस्तो भयो, अरु दलहरू पनि नेता नै–केन्द्रितझैं देखिन्छन् । तर ‘हाम्रो पार्टी’ को विशेषता यही हो—यो पार्टी सबैले ‘हाम्रो’ भनेर भन्न सकून् भन्ने उद्देश्यले जन्मिएको हो ।’ उनले देशमा पछिल्ला वर्षहरूमा पहिचान, क्षेत्र, समुदाय र जातीयताका आधारमा राजनीति बढ्दै गएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले राष्ट्रिय एकता कमजोर बनाएको बताए ।

‘कसैले मधेश मात्रै भन्छन्, कसैले हिमाल मात्र भन्छन्, कोही दलित, कोही जनजाति भन्ने छुट्टाछुट्टै आवाज आउँछन् । साम्प्रदायिकता फैलिँदै जाँदा राष्ट्र कमजोर हुन्छ । त्यसैले साझा राष्ट्रिय पहिचान बनाउने अभ्यास हाम्रो पार्टीले गर्न चाहेको हो’, सुनारले भने । उनका अनुसार ‘हाम्रो पार्टी नेपाल’ लाई आधुनिक डेमोक्रेटिक पार्टीका रूपमा विकास गर्ने, समुदायबीच सहअस्तित्व र समानता प्रवर्द्धन गर्ने तथा विभाजनकारी राजनीतिको विकल्प प्रस्तुत गर्ने लक्ष्य रहेको छ । आगामी फागुन २१ मा हुने भनिएको निर्वाचनबारे पनि उनले आत्मविश्वास व्यक्त गर्दै पार्टी निर्वाचन प्रक्रियामा सक्रिय रूपमा जाने तयारीमा रहेको जानकारी दिए । सुनारले नयाँ राजनीतिक अभ्यासले देशमा सहिष्णुता, एकता र साझा राष्ट्रिय सोच मजबुत बनाउने दाबी पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *