फागुन २१ गतेको निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुनेछ – राष्ट्रपति पौडेल
 					काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु नपर्ने अवस्थाका लागि आन्दोलन गरेको बताएका छन् । दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुनेक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको र यसलाई सफल पार्न सबैलाई आग्रह गरे ।
उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताए । पौडेलले संसारका अन्य देशमा युवा पुस्तको आन्दोलनले ल्याएको आँधीबेरीको समाधान निकाल्न कठिन भए पनि नेपालमा प्रणाली र संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकिएको बताए ।
सो कार्यक्रममा कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह पनि गरेको जनाइएको छ ।
कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार नै यहाँ आइपुगेका राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहितको नेपाली प्रतिनिधिमण्डललाई कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेल, उच्च पदस्थ कर्मचारी, गै्रह आवासीय नेपाली संघका प्रतिनिधिले स्वागत गरेका थिए ।
