`

डा. बाबुराम भट्टराईको व्यंग्यात्मक टिप्पणी : अबको वाम बहस ‘अ’ कार कि ‘ई’ कार ?

Nepal One HD २४ कार्तिक २०८२ ८:३४
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी नेता डा. बाबुराम भट्टराईले नेपाली वाम आन्दोलनमा पछिल्ला नाम, प्रतीक र स्वरूपका विवादप्रति तीखो व्यंग्य गरेका छन् । उनले यस्ता विवादले वास्तविक जनजीवनका समस्या समाधान गर्न नसक्ने भन्दै वाम नेतृत्वलाई यथार्थपरक र समयसापेक्ष वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गरेका छन् ।

आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै भट्टराईले अहिलेको वाम राजनीतिक बहसलाई ‘निरर्थक शब्दजाल’ को संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो ।’

भट्टराईका अनुसार वामपन्थी दलहरूबीचको नाम र प्रतीकको संघर्षले मुलुकका गम्भीर समस्या– बेरोजगारी, श्रम–निर्यात र आयात–निर्भर अर्थतन्त्रलाई स्पर्श गर्न सकेको छैन । उनले व्यंग्य गर्दै भनेका छन्, ‘लाखौं बेरोजगार सर्वहारा विदेशिने र श्रम–निर्यात तथा वस्तु–आयातको परनिर्भरताको दुष्चक्र चाहिँ तोडिने भन्दा कस्सिने क्रम यथावत् छ; तिनले यो बहसलाई ‘बे’ कार नभनून् !’

उनले वाम नेतृत्वलाई माक्र्सको द्वन्दात्मक भौतिकवाद, आधुनिक विज्ञान र चौथो औद्योगिक क्रान्तिको यथार्थ बुझेर नयाँ विचार, नीति र संगठन निर्माण गर्न आह्वान गरे । भट्टराईले नयाँ पुस्ताको सोच र विद्रोही ऊर्जा बुझ्न राजनीतिक नेतृत्व असफल भएको टिप्पणी गर्दै भनेका छन्, ‘देश–काल सापेक्ष नयाँ विचार र विकल्पको खोज नै अबको मार्ग हो ।’

उनले हाल विश्वभर देखा परिरहेको जेन–जेड (Gen Z) पुस्ताको चेतनालाई ‘चमत्कारिक विद्रोह’ भन्दै त्यसलाई समयको रूपान्तरणको संकेतका रूपमा लिएको उल्लेख गरेका छन् । भट्टराईका अनुसार, नयाँ पुस्ताको सोचसँग तालमेल नगर्ने नेतृत्व अन्ततः इतिहासको गर्तमा हराउनेछ ।

यसै सन्दर्भमा उनले वाम राजनीतिमा वैचारिक पुनर्निर्माण र नवीन दृष्टिको आवश्यकता औंल्याउँदै भनेका छन्, ‘नाम र चिन्हको जुधाइ होइन, समयअनुसारको दृष्टिकोण नै अबको राजनीतिक पुनर्जागरणको आधार बन्नु पर्छ ।’

हेर्नुस् भट्टराईको स्टाटस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *