`

‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’

मधु शाही २५ कार्तिक २०८२ १७:१५
प्रमुख खबर

काठमाडौँ । मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किइन् । सन्तोष गहना पसलमा काम गर्थे । बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो ।

गत भदौ २३ गते भने सन्तोष सधैँ भन्दा अलि हतारमा देखिन्थे । अम्बिकाले त्यो दिन सम्झिँदै भनिन्, “खै किन हतार थियो ? फोन आइरहेको थियो साथीहरूको । खाएर निस्किहाल्नुभयो ।” कामका लागि होला भन्दै अम्बिकाले छिटो खाना खुवाएर सन्तोषलाई बिदा गर्नुभयो । “छोराछोरीले बाउ खोज्छन्, साँझ बेलैमा आउनु है,” सन्तोषले अम्बिकातिर हेर्दै जवाफमा “ल ! ल ।”

दुई शब्द मात्रै फर्काए । भदौ २३ गते बिहान १०ः०० बजे बिदा भएका सन्तोष रात बित्यो, फकिएनन् ।

दिनभर बानेश्वर संसद् भवनअगाडि आगजनी र गोली चल्यो भन्ने समाचार, भिडियोहरू अम्बिकाले सामाजिक सञ्जालमा हेरिरहिन् । त्यही संसद् भवन नजिकै आन्दोलनमा सहभागी भएका सन्तोषलाई अम्बिकाले गोली लागेको खबर राति १२ः०० बजे मात्रै थाहा पाइन् ।

काम गर्न भनेर निस्किएका श्रीमान् बेलुका आएरसँगै खाना खाउँला भन्ने प्रतीक्षामा रहेकी अम्बिकालाई श्रीमानलाई गोली लागेर अस्पताल भर्ना भएको खबर मध्यरातमा पाउँदा पृथ्वी भासिएझैँ भयो ।

खुट्टाहरू काँपिरहे । मुटु चिसो भयो । उदयपुरको बेलका नगरपालिका–४ देखि काठमाडौँ आएर सपरिवार बस्न थालेको एक वर्ष मात्रै भएको थियो ।

काठमाडौँको रहनसहनमा त्यति अभ्यस्त हुन बाँकी अम्बिका बिचल्लीमा परिन् । राति हिँड्ने स्थिति थिएन । भोलिपल्ट उनी सन्तोषका साथीहरूको सहयोगमा काठमाडाैँमा भए जतिका अस्पतालमा घाइते श्रीमान् खोज्न हिँडिन् । अन्तिममा वीर अस्पतालमा मृत शरीर रहेको थाहा भयो । गेटबाट भित्र प्रवेश गर्ने अवस्था थिएन । प्रहरीको कडा सुरक्षाले गर्दा आफ्नो मान्छेसमेत हेर्न जान पाइनन् । अम्बिकालाई त्यो दिन सम्झँदा अहिले पनि रिङ्गटा लाग्छ ।

बोल्दाबोल्दै वाक्य बन्द हुन्छ । आँखाबाट आँसु टिल्पिलाउन थालिहाल्छ । अनि मन पोल्छ । अँध्यारो कोठामा चिच्याउँदै रुन मन लाग्छ । “कति रुनुँ ? मैँ रोए छोराछोरीको मुहारमा हाँसो कसरी आउला ?”

अम्बिका यसैगरी फेरि कमजोर भएको मनलाई बलियो बनाएर छोराछोरीका लागि सङ्घर्ष गर्दै छिन् । उनको सङ्घर्ष अब राज्यसँग छ ।

आन्दोलनमा ज्यान गुमाएर सहिद भएका श्रीमानको सपना पूरा गर्ने जिम्मेवारी अम्बिकाको काँधमा छ । दुई छोराछोरीको शिक्षादीक्षासँगै उदयपुर, बेलका–४ मा रहेका बाबुआमाको हेरचाहसमेत गर्नुछ ।

सन्तोष कान्छा छोरा थिए । उमेरले ७० कटेका वृद्ध बुबाआमाको हेरचाह उनले नै गर्दथे । मजदुरी गरेरै जीवन चलाएका सन्तोषको परिवारको अहिलेसम्म सरकारी भूमिमा स्वामित्व छैन ।

“ऐलानी जग्गामा घर छ, कमाउने मान्छे ढल्यो । सधैँ सुकुम्वासी बन्ने भइयो”, अम्बिका वेदना पोख्दै भनिन्,“केही काम पाए, गर्थें । केटाकेटीको पेट पाल्न त सक्थेँ ।”

अम्बिकाका अनुसार सरकारले सहिदका नाममा रु १५ लाख राहत रकम दिएको छ । यीबाहेक जेनजी आन्दोलनमा सहिद भएका परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, श्रीमान् वा श्रीमतीलाई रोजगार दिने आमा वा बुबामध्ये एक जनालाई पेन्सन दिनुपर्ने माग थियो ।

अहिले अम्बिका राज्यसँग पूरा हुन नसकेका माग प्राप्तिका लागि सङ्घर्षरत छिन् । श्रीमान् बितेको दिन महिनादेखि अम्बिकाको आम्दानीको स्रोत बन्द भएको छ ।

सरकारी विद्यालयमा दुई छोराछोरी पढ्छन् । उनीहरूको भविष्यका लागि पनि अम्बिकालाई रोजगारी आवश्यक छ । उनले भनिन्,“मैले जीवन साथी गुमाएँ, छोराछोरीले बाउको सहारा गुमाए । बाँच्ने आधार के हो ? राज्यले निकास दिनुपर्छ ।”

जेनजी सहिदहरूको समूहमा उनले यिनै कुरा उठान गर्दै आएकी छन् । कलाकारितामा रुचि भएकी छोरीलाई कलाकार बनाउने सन्तोषको सपना अधुरै रहेको अम्बिकाले बताइन् ।

जेनजी आन्दोलनमा बुबा गुमाएको कुरा गरिरहँदा छोराछोरीको मनोविज्ञानमा असर परेको पनि उनको भनाइ छ । “छोरीले बाबा सम्झिन्छिन्, छोरो टोलाइरहन्छ”, अम्बिकाले भनिन्,“के काम गरेर पेट पाल्ने ? रोजगार छैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *