कुलमानको पार्टीमा अटेनन् सुमना–सुदन, यी हुन् केन्द्रिय समितिमा रहने सदस्य (सूचीसहित)
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षित नयाँ राजनीतिक दल ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा आफ्नो कार्यसमिति अद्यावधिक गरेको छ । पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय को नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति पेस गर्दै घिसिङ निकट समूहले औपचारिक तयारीलाई तीव्रता दिएको हो ।
साउन २७ गते नै मानबहादुर तामाङको अध्यक्षतामा दर्ता गरिएको पार्टीलाई यस पटक संशोधन गरी उपाध्यायलाई अगाडि सारिएको हो । पार्टीका प्रवक्ता जितराम वाइबाका अनुसार यो दर्ता होइन, अद्यावधिक प्रक्रिया मात्र हो । ‘पार्टी पहिले नै दर्ता भइसकेको हो, अहिले कार्यसमिति अद्यावधिक भएको हो’, उनले सुनाए ।
हाल ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान घिसिङ अहिले पार्टीको पदमा संलग्न छैनन् । उनी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदा मात्र सभापतिको भूमिकामा अघि सर्ने तयारीमा छन् । पार्टीले ‘बिजुलीको चिम’ चुनाव चिह्न माग गरेको छ ।
अद्यावधिक सूचीमा स्वतन्त्र सांसद डा. तारा जोशी (डडेलधुरा), चर्चित कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा, समाजसेवी खड्गबहादुर बस्नेत र चर्चामा रहेकी पूर्वमन्त्री बन्ने तयारीमा पुगेकी टासी ल्हान्जोम पनि छन् ।
त्यस्तै, सुशील कार्की निकट अभियन्ता डा. अभिशेषकुमार सिंह, युवा राजनीतिज्ञ डा. विशाल भण्डारी, पहिचानवादी चिन्तक डा. महेन्द्र लावती, काठमाडौंकी पूर्व उपमेयर उम्मेदवार विद्या श्रेष्ठ महर्जन र गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष जितराम लामा समेतको नाम सूचीमा समावेश गरिएको छ ।
पार्टीका प्रवक्ता वाइबाका अनुसार पूर्व सांसद सुमना श्रेष्ठ र हामी नेपालका संयोजक सुदन गुरुङ हालको अद्यावधिक टिममा छैनन् । ‘उनीहरू अहिले औपचारिक रूपमा उज्यालो नेपालमा छैनन्, तर सहकार्यको ढोका खुला छ’, वाइबाले स्पष्ट पारे ।
विश्वसनीय स्रोतका अनुसार, मंगलबार बिहान घिसिङले आफ्नै निवासमा सुमना र सुदनसँग छलफल गरेका थिए । सुमना लामो समयदेखि नयाँ दल गठनको तयारीमा घिसिङसँगै सक्रिय थिइन् । तर मन्त्री पदमा रहेका घिसिङले तत्काल नेतृत्व सम्हाल्न ढिलो गर्ने भएपछि, उनले दल दर्तामा सहभागी नहुने निर्णय गर्दै घिसिङलाई शुभकामना दिएकी थिइन् ।
घिसिङको लोकप्रियता ‘उज्यालो नेपाल’ भन्ने नाममै गाँसिएको छ । उनले ऊर्जा क्षेत्रमा गरेको कामको ब्रान्डलाई राजनीतिक रुपमा रूपान्तरण गर्दै यो दल ‘सुशासन, स्वच्छ ऊर्जा र विकासमुखी राजनीति’ को नारा बोकेर अघि बढ्ने तयारीमा छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० गतेसम्म दल दर्ता गर्नुपर्ने समय सीमा तोकेको छ । त्यसअनुसार उज्यालो नेपाल पार्टी अब औपचारिक रूपमा घिसिङकै नेतृत्वको वैकल्पिक राजनीतिक शक्ति का रूपमा उदाउने संकेत देखिएको छ ।
दल दर्ता–साउन २७ गते । अद्यावधिक मिति कात्तिक २८ गते ।
अध्यक्ष–पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय ।
संरक्षक–ऊर्जामन्त्री कुलमान घिसिङ ।
सदस्य संख्या– ५१
चर्चित नामहरू– डा. तारा जोशी, टासी ल्हान्जोम, रिमा विश्वकर्मा, विद्या श्रेष्ठ, डा. महेन्द्र लावती
सुमना श्रेष्ठ र सुदन गुरुङ हाल टिममा छैनन्
प्रस्तावित चुनाव चिह्न– बिजुलीको चिम ।
हेर्नुस् केन्द्रिय समितिमा रहने सदस्यहरुको नामावली

