`

पूर्वमन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा चल्यो महानगरको डोजर

Nepal One HD २७ कार्तिक २०८२ ८:५१
प्रमुख खबर

काठमाडौं । पूर्व ऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनीले भोगचलन गरिरहेको नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ ।

आज बिहान महानगर प्रहरीहरु डोजरसहित पुगेर संरचनाहरु भत्काएका हुन् । कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका छन् । तर लामो समयदेखि भाडा तिरेका छैनन् । त्यसैले २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । सो म्याद आज सकिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने चेतावनी दिइएको थियो ।

पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना भत्काउन महानगर प्रहरी डोजर लिएर पुगेका हुन् । स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।

स्काउटका दुई वटा व्यवसायिक भवन समेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ । दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल रहेका छन् । यी दुई भवनमध्ये पहिलो भवन २०६३ र दोस्रो २०६४ सालमा टेन्डर गरेर खड्का ल्याण्ड डेभलपमेन्टलाई दिइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *