घर जलेका बेला ‘को ठूलो कोठामा सुत्ने’ भनेर झगडा गर्ने होइन : बाबुराम भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल अहिले इतिहासकै सबैभन्दा कमजोर मनोबलको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले राष्ट्रको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सबै पक्ष अस्थिर र अन्योलग्रस्त बन्दै गएको विश्लेषण गरेका हुन् । ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ,’ भट्टराईले भने ।
देश गम्भीर चुनौतीमा परेको बेला दलहरूबीच भएको सत्ता–प्रतिष्पर्धा र आरोप–प्रत्यारोपले समस्या झनै चुलिएको भट्टराईको टिप्पणी छ । उनले राष्ट्र संकटमा हुँदा ‘को ठूलो कोठामा सुत्ने’ र ‘को ठूलो भाग खाने’ भन्ने विवादको कुनै अर्थ नरहेको उल्लेख गर्दै सबै पक्ष मिलेर समस्या समाधानमा उभिनु पर्नेमा जोड दिएका छन् ।
‘घरमा आगो लागेको बेला झगडा गर्ने समय होइन । बरु सबै मिलेर आगो निभाउने र नयाँ, अझ सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो,’ उनले भने । सबै राजनीतिक शक्तिहरूले आत्मसमीक्षा गर्न नसके इतिहासले कसैलाई पनि क्षमा नगर्ने चेतावनी पनि उनले दिएका छन् ।

