युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनु पर्छ : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनु पर्ने बताएका छन् । समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताएका हुन् । उनले युवाहरुले सरकारमा पनि नेतृत्व गर्न पाउनु पर्ने बताए । युवाहरुको सहभागिता बिना कुनै पनि आन्दोलन सम्भव नरहेको जिकिर गरे । युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवाहरुलाई उमेरले मात्र नभई सोच र चिन्तनले समेत युवा बन्नुपर्ने बताए ।
अग्रगामी क्रान्तिकारी सोच बोकेकाहरुलाई मात्र युवा भन्न सकिने उनको भनाई थियो । उनले भने, ‘हरेक आन्दोनलमा युवाहरु नेतृत्व गर्दै आएका छन्, उनीहरुको सहभागिता बिना विश्वको कुनै पनि आन्दोलन सम्भव भएको छैन । उनीहरुले सत्ताको पनि नेतृत्व गर्नुपर्छ ।’ आसन्न प्रतिनिधि सभाको निर्वाचन र संघर्षलाई साथसाथ अघि बढाएको जसपा नेपालले सम्मेलनमार्फत निर्वाचन केन्द्रित तयारीको लक्ष्यसहित युवाहरुलाई प्रशिक्षत गरेको छ ।
