`

‘ढाकछोप र पपुलिस्ट नाराले देशलाई अझ ठूलो संकटमा धकेल्न सक्छ’

Nepal One HD १६ मंसिर २०८२ १२:३७
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अभिभावक डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनले नेपाली अर्थ–राजनीतिको समग्र पुनर्संरचनाको ऐतिहासिक आवश्यकता स्पष्ट पारेको टिप्पणी गरेका छन् । उनले हालको तरङ्गलाई सामान्य सुधारको नाममा ढाकछोप गर्ने वा पपुलिस्ट नाराले मोड्न खोजिएको खतरनाक प्रयासले देशलाई अझ ठूलो संकटतर्फ धकेल्न सक्ने चेतावनी दिए ।

भट्टराईका अनुसार अहिलेको अवस्था सतहमा देखिने असन्तुष्टिसँगै राज्य र समाजको गहिराइमा थुप्रै अन्तरविरोधहरूको ‘ज्वालामुखी’ चलिरहेको संकेत हो । ‘यसलाई स्याउलाले छोपेर थाम्न खोज्नु इतिहासमै कहिल्यै सफल हुँदैन’, उनले भनेका छन् । जेन–जी आन्दोलनपछिको परिस्थितिलाई दीर्घकालीन समाधानतर्फ मोड्न उनले चार प्रमुख कदम तुरुन्तै चालिनुपर्ने सुझाव दिएका छन् :-

१. जेन–जी समूहहरूले पेश गरेको सहमतिपत्र (म्यान्डेट) मा सरकार र आन्दोलन पक्ष बीच तुरुन्त सहमति भई कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्छ ।
२. भदौ २३ र २४ का घटनाबारे कार्की आयोगले गर्दै आएको छानबिनलाई ‘कछुवागत’ होइन, ‘रकेटको गतिमा’ अघि बढाएर छिटो निष्कर्षमा पुर्‍याउनु र त्यसका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्छ ।
३. निर्धारित मितिमा स्वतन्त्र, निष्पक्ष र अवरोधरहित निर्वाचन सम्पन्न गरियोस् भन्नेमा सरकार गम्भीर हुनुपर्ने उनले बताए ।
४. निर्वाचनपछि पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक प्रक्रियाबाट ससम्मान विदाइ गर्दै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूबीच वृहद् सहकार्य, ध्रुवीकरण र मोर्चावन्दी निर्माण गरेर देशलाई नयाँ लोकतान्त्रिक नेतृत्व दिने वातावरण तयार पार्नुपर्ने उनको भनाइ छ ।
भट्टराईले नयाँ पुस्ताले उठाएको परिवर्तनको मागलाई दिशाबिहीन बनाउने वा अवसरवादले कब्जा गर्ने प्रयास असफल र जोखिमपूर्ण हुने भन्दै सबै सरोकारवालालाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *