रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेशको सांसद
रुपन्देही । लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ । भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको मृत्यु भएपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङको नियुक्ति भएसँगै प्रदेश सभाले पूर्णता पाएको हो । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिइन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो ।
पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङलाई मनोनयन गरिएको हो । गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी र प्राथमिकता सूचीको पहिलो स्थानमा परेकाले अवसर पाएकी हुन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त हुने व्यवस्था छ ।
एमाले रुपन्देहीमा तीन कार्यकाल जिल्ला सदस्य बनेकी गुरुङ यसअघि प्रदेश कमिटीमा रहेकी थिइन् । दुई छोरा र श्रीमानसहित देवदहमा बस्ने उनी अध्ययनमा साक्षर मात्रै रहे पनि लामो समयदेखि राजनीतिमा क्रियाशील थिइन् । ०७९ सालमै पहिलो सूचिमा सांसद बन्ने आशा राखेकी उनले नपाएपछि असन्तुष्ट रहेकी थिइन् । चैतमा जनमतबाट राजीनामा दिएर खाली भएको स्थानमा केही समयअघि निलम पासवान नियुक्त भएकी थिइन् । पासवान र गुरुङ दुई बाँकी दुई वर्षे कार्यकालका लागि सांसद बनेका हुन् ।
