तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु
दमौली (तनहुँ) – तनहुँमा ४५० जना एड्स सङ्क्रमित रहेका छन् । त्यसमध्ये २६८ जनाले प्रदेश अस्पताल दमौलीबाट एआरटी औषधि सेवन गरिरहेका छन् । बाँकीले भने बाहिरी जिल्लाबाट औषधि सेवन गर्दै आएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले चालु आर्थिक वर्षमा सात जना नयाँ एचआइभी सङ्क्रमित थपिएको जानकारी दिनुभयो । चालु आवमै एक जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । उहाँले एचआइभी सङ्क्रमितको परीक्षणका लागि दमौली अस्पतालमा उपचार केन्द्रको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । गर्भवतीका लागि जिल्लास्थित सबै स्वास्थ्य संस्थामा एचआइभी परीक्षणको व्यवस्था मिलाइएको दवाडीले बताउनुभयो ।
एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको जानकारी दिनुभयो ।
