`

यसरी मनाइँदैछ धान्यपूर्णिमा, योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस {तस्वीरहरु}

Nepal One HD १८ मंसिर २०८२ १२:३८
फिचर

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

नयाँ धान भित्र्याएको खुशीयालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले योःमरि पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन् । यस वर्षको योःमरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ ।  र्‍याली हाँडिगाउँ बाट सुरु हुदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगंःथा, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्यःर, असं,बालकुमारी,केलत्वाः , वंघः, मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुदै बसन्तपुरमा समाप्त हुने आयोजकले जानकारी दिएको छ ।

योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरुले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । नेवार समुदायको प्रमुख र मौलिक पर्व ‘यःमरी पुन्हि’ आज मनाइँदैछ । विशेषगरी काठमाडौं उपत्यकाका रैथाने नेवार समुदायले मनाउने यो पर्वको आफ्नै महत्व र विशेषता छ । नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् ।मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो । यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गरिन्छ, जसलाई ‘यःमरी’ भनिन्छ । नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरीलाई पञ्चतत्वका रुपमा पनि लिइन्छ ।

यःमरीमा धरतीको रुपमा चामलको मिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ । नयाँ धान भित्र्याएको खुशीयालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाट यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवम् भण्डारमा यःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो स–साना पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाइन्छ । यःमरीलाई भकारीलगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पत्ति र अन्नलाभ हुने नेवार समुदायमा विश्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादका रुपमा परिवारका सबै सदस्यले बाँडेर खाने चलन छ ।

साँझपख टोलटोलमा केटाकेटी, युवा–युवती जम्मा भई यःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारको देउसी, भैलो जस्तो हो । यसरी यःमरी माग्ने प्रचलन आजको दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो, जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ । वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने यःमरी पुन्हिमा पकाइने यःमरीमा हालिने चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *