पुरानै संरचनामा फर्कियो एमाले, यी नेता उत्रिए विधान संशोधनको विपक्षमा
काठमाडौं । नेकपा एमालेको पार्टी कमिटी पुरानै संरचनामा फर्किने भएको छ । ११ औं महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको हो । सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका छन् । सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउनुपर्ने बताएका थिए ।
अब बन्द सत्रबाट अध्यक्षसहित, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, समेत ३०१ सदस्यीय केन्द्रीय कमिटी बन्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । भदौ अन्तिम साता गोदावरीमा भएको विधान सम्मेलनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरेको थियो ।
नेकपा एमालेको विधान संशोधन गर्न नहुने पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू उभिएका छन् । केन्द्रीय कमिटी बैठकमा विधान संशोधन गर्न नहुने पक्षमा उनीहरू देखिएका हुन् । बैठकमा धारणा राख्दै उपाध्यक्षद्वय ज्ञवाली र शाक्य तथा स्थाथी कमिटी सदस्यहरू बिन्दा पाण्डे, कर्ण थापा र काशिनाथ अधिकारीले पनि विधान संशोधन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउनेगरि विधान संशोधन गर्ने प्रस्ताव ल्याउने तयारीमा थिए ।
तर, त्यहाँ सचिवालयका अधिकांश सदस्य विपक्षमा उभिएपछि गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसारै नेतृत्व निर्माण गर्ने निर्णय बैठकबाट भएको थियो । तर, ओली पक्षले फेरि केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव ल्याएर त्यही पारित गर्न खोजेपछि केही नेताहरू त्यसको विपक्षमा उभिएका हुन् । आफ्नो खेमाका नेताहरुको व्यवस्थापनका लागि सहज होस् भन्दै ओलीले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन खोजेका हुन् ।
