रास्वपाको समानुपातिक उम्मेदवारमा दलिततर्फ डा. रूपक घिमिरे आकांक्षी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रूपक घिमिरे पनि समावेश भएका छन् । हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौँ सम्पर्क समितिका संयोजक डा. घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको दलिततर्फ आकांक्षी सूचीमा समेटिएका हुन् ।
काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस र एमडी (डर्माटोलोजी) अध्ययन गरेका उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्य डा. घिमिरे चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन् । काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल गरेका थिए ।

युवामैत्री राजनीतिका पक्षधर डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् । स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेनजी आन्दोलनका अगुवाका रूपमा चिनिन्छन् । मिस्टर नेपाल २०११ का विजेता तथा २०१५ मा प्रदर्शन भएको नेपाली चलचित्रको नायक समेत रहेका उनीसँग दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा अभिनयको समेत अनुभव छ । रास्वपाले पुस १२ र १३ गते आरएसपी मोबाइल एपमार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।
