`

बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ । सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिहरू निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत रहेको दाबी गर्दै उजुरी दायर गरिएको हो । धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा दर्ता गराएको निवेदनमा बालेन शाहले हालै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा दिएको टिप्पणीलाई लिएर आपत्ति जनाइएको छ ।

निवेदनअनुसार ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहसको प्रस्तावको प्रत्युत्तरमा बालेन शाहले सामाजिक सञ्जालमा प्रयोग गरेका शब्दहरू लोकतान्त्रिक बहसको मर्यादाविपरीत रहेको उल्लेख गरिएको छ। निवेदनमा बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’, ‘देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण, अनुसन्धान वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप भएको दाबी गरिएको छ । यस्ता अभिव्यक्तिले सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउनुका साथै वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको सोचमा भ्रम सिर्जना गर्ने खतरा रहेको निवेदनमा उल्लेख छ ।

‘यस किसिमका गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउँछ,’ निवेदनमा भनिएको छ, ‘यसले लोकतान्त्रिक बहसलाई नीति र विचारको तहबाट तल झारेर हिंसात्मक आरोप, अफवाह र घृणाको तहमा पुर्‍याउने काम गर्दछ ।’

निवेदकले नेपालको संविधान, निर्वाचन आचारसंहिता तथा प्रचलित कानूनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति र अपुष्ट आरोप प्रयोग गरी मतदातालाई प्रभावित पार्न स्पष्ट रूपमा निषेध गरेको स्मरण गराएका छन् । सोही आधारमा बालेन शाहका अभिव्यक्तिमाथि तथ्यपरक छानबिन गरी आचारसंहिता उल्लंघन ठहर भएमा आवश्यक कानुनी कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।

यसै उजुरीमा अर्को विषय पनि समेटिएको छ । महोत्तरी लगायतका जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको देखिने भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको उल्लेख गरिएको छ । उक्त कार्य पनि निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै त्यसको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ । निर्वाचन आयोगले उजुरी प्राप्त भएको पुष्टि गरे पनि यस विषयमा आवश्यक अध्ययनपछि मात्रै आधिकारिक निर्णय सार्वजनिक गर्ने जनाएको छ ।

रास्वपाको चुनावी सक्रियता तीव्र : झापामा सबिनाको घरदैलो, बालेन सुदूरपश्चिम यात्रामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न क्षेत्रमा चुनावी सक्रियता बढाएको छ । झापादेखि सुदूरपश्चिमसम्म पार्टीका शीर्ष नेताहरू मतदाता केन्द्रित अभियान र भ्रमणमा जुटिरहेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सोमबार बिहान रास्वपाले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेको नेतृत्वमा बिहान ८ बजेदेखि ११ बजेसम्म घरदैलो अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ ।

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको कार्यक्रम पाणिनि स्कूल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो । घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरिएको रास्वपाले जनाएको छ । यता, वरिष्ठ नेता बालेन्द्र शाह सोमबार बर्दिया हुँदै सुदूरपश्चिमतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

रास्वपा बर्दियाका सचिव दीपक बीसीका अनुसार बालेन शाह दिउँसो करिब साढे १ बजे गुलरिया बजारको राधाकृष्ण चोकमा पुग्ने छन् । ‘उहाँ यही मार्ग प्रयोग गरी सुदूरपश्चिम जान लाग्नु भएको हो । औपचारिक भेटघाटको कार्यक्रम तय नभए पनि चोकमा केहीबेर रोकिनु हुनेछ,’ सचिव बीसीले बताए । बालेन शाह बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने जानकारी दिइएको छ । रास्वपाले देशका विभिन्न क्षेत्रमा यसरी सक्रियता बढाउँदै जनसम्पर्क र संगठन विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ ।

 

 

 

 

रास्वपाका उपत्यकाका उम्मेदवारसँग बालेन शाहको छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका नेता शाहले आइतबार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गरेका हुन् ।

नेता शाहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिएको भेटमा संलग्न नेताहरुले बताए । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार समेत रहेकी नेतृ तोषिमा कार्कीले भेटमा चुनावी अभियानबारे नेता शाहले जानकारी लिएको बताइन् । उनले भेटमा चुनावी रणनीतिबारे समेत छलफल भएको उल्लेख गरिन् । उनकाअनुसार नेता शाहले उम्मेदवारहरुलाई आफूहरुको स्पष्ट बहुमतको सरकार बन्ने भन्दै जनता समस्या बुझ्ने कार्यमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन् ।

उनले भने, ‘उहाँले हामीहरुसँग अपडेट लिनु भएको हो । अर्को, चुनावी रणनीतिको बारेमा थोरै छलफल भयो । उहाँले स्पष्ट रुपमा भन्नु भएको छ–सरकार हाम्रो बन्दैछ । ढुक्क भएर जनताको घर घरमा जानुस्, समस्या सुन्नुस् । उहाँहरुको समस्या समाधान गर्छौं, हाम्रो स्पष्ट बहुमतको सरकार बन्दैछ ।’ पार्टीकी नेतृ रञ्जु दर्शनाले चुनावी रणनीतिबारे छलफल भएको जानकारी दिइन् ।

उनले भनिन्, ‘उहाँले ढुक्क भएर आफ्नो चुनावी क्याम्पेङ गरेर अगाडि बढ्नुस् भन्नु भयो । अन्य चुनावी रणनीतिको बारेमा पनि केही छलफल भयो ।’ रास्वपा नेता तथा काठमाडौं–३ का उम्मेदवार राजुनाथ पाण्डेले निर्वाचन क्षेत्रमा भइरहेको गतिविधिबारे जानकारी गराउन नेता साहसँग भेट भएको बताए ।

उनले भेटमा चुनावी रणनीतिबारे छलफल भएको उल्लेख गरे । उनले आफूहरु सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गइरहेको उल्लेख गर्दै नागरिकले परिवर्तनलाई आत्सात गरेको पाइएको पनि बताए । उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३ मा के भइरहेको छ भन्नेबारे रिपोर्टिङको लागि म आएको थिएँ । हामी सौहाद्र्रपूर्ण वातावरणमा जनताको घरदैलोमा गएका छौँ । नागरिकले देशमा विकसित राजनीतिक परिवर्तनलाई आत्मसात गरेको देखिन्छ । हामीलाई बहुमतले अनुमोदन गर्नु हुन्छ भन्ने विश्वास छ ।’ अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेता शाहले झापा–५ बाट उम्मेदवारी दिएका छन् ।

 

झापा–५ मा बालेन बिहानैदेखि घरदैलोमा व्यस्त {तस्वीरहरु}

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा सक्रिय रूपमा मैदानमा उत्रिएका छन् । मंगलबार उम्मेदवारी दर्ता गराएपछि उनी बुधबार बिहानैदेखि निर्वाचन क्षेत्रमै रहेर घरदैलो अभियान र मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।

बालेनले झापा–५ का विभिन्न बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । समुदायका सबै वर्गका नागरिकसँग भेटघाट गर्दै उनीहरूले उठाएका समस्या, गुनासा र अपेक्षा सुन्ने कार्यलाई उनले प्राथमिकता दिएका छन् । सडक, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विषयमा स्थानीयको धारणा सुन्दै उनले आफ्नो दृष्टिकोण पनि राखिरहेका छन् ।

काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका बालेन झापा–५ मा प्रभावशाली प्रतिष्पर्धामा छन् । यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेकाले चुनावी प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।

मतदातासँगको भेटघाटका क्रममा बालेन सरल शैलीमा प्रस्तुत भएका छन् । स्थानीय चिया पसल, घरआँगन र सामुदायिक जमघटमा पुगेर उनले ‘प्रतिनिधि संसदमा पुगेर जनताको आवाज बलियो बनाउने’ प्रतिबद्धता दोहो¥याएका छन् ।
झापा–५ मा बालेनको सक्रियतासँगै निर्वाचनको माहोल क्रमशः तातिँदै गएको छ । उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत तस्वीर र गतिविधि साझा गरिरहेका छन् भने राजनीतिक वृत्तमा यो प्रतिष्पर्धालाई यस पटकको निर्वाचनको सबैभन्दा रोचक लडाइँमध्ये एकका रूपमा हेरिएको छ ।

रविको मुद्दा फिर्ताको निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त रिट निवेदनमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको हो । युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मीसहितले छुट्टाछुट्टै रिट दायर गरेका थिए । ती रिट आइतबार सर्वोच्च अदालतमा दर्ता भएका हुन् । महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते रवि लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् ।

त्यसपछि माघ २ गते जिबी राईसहित अन्य प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिइएको थियो । रिट निवेदकहरूले उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई बदर गर्न माग गरेका छन् । साथै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अपराधलाई कमजोर बनाउने गरी महान्यायाधिवक्ताको कार्यालय तल्लीन देखिएको भन्दै त्यस्तो कार्य नगर्न परमादेश जारी गर्नुपर्ने माग पनि रिटमा उल्लेख छ ।

समानुपातिकबाट हटाइएकी टासीलाई रास्वपाले दियो हुम्लाबाट टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जेनजी प्रतिनिधि टासी ल्हान्जोमले हुम्लाबाट उम्मेदवारी पाएकी छिन्। रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम्बरमा नै परेकी उनीलाई विभिन्न कारण हाटाइएको थियो । तर, उनलाई रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएको हो । उनले आफ्नै थातथलोबाट प्रत्यक्ष चुनाव लड्ने भएकी छिन् ।

रविको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो । सर्वोच्चका न्यायाधीश मसुलमानको इजलासको ‘ग’ नम्बरमा पेशी परेको हो ।

लामिछानेविरुद्ध विभिन्न अदालतमा रहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा महान्यायाधिवक्ता सबिता भण्डारीले फिर्ता लिने निर्णय गरेकी थिइन् । त्यसविरुद्ध युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट दायर गरेका थिए ।

त्यसमाथि आज सुनुवाइ तोकिएको हो । केपी शर्मा ओलीको पालामा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । यसलाई रास्वपाले प्रतिशोध भन्दै बताउँदै आएको थियो । अहिले महान्यायाधीवक्ता कार्यालयले लामिछानेसँगै यो सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्दा संशोधन गरेर फिर्ता लिएको थियो ।

बालेनले रविको हातबाट लिए झापा–५ को टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर जनकपुरमा छन् । बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् । आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए । जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।

 

 

जनकपुरबाट रविको हुंकार : छलछामले रोकिँदैनौं, अब सबैभन्दा ठूलो पार्टी बनाएर संसद फर्किन्छौं

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट हटाइए पनि अब जनताको बलमा सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसदमा पुनः प्रवेश गर्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले अघिल्लो निर्वाचनमा चितवनका जनताले सबैभन्दा धेरै मत दिएर पठाउँदा पनि षड्यन्त्रपूर्वक आफूलाई संसदबाट बाहिर गरिएको आरोप लगाए ।

‘चितवनका जनताले मलाई सबैभन्दा धेरै भोट दिएर पठाएका थिए । हिजो सबैभन्दा धेरै मत ल्याउने सांसद म नै थिएँ,’ उनले भने, ‘तर छलछाम गरेर मलाई संसदबाट हटाइयो । अब व्यक्तिका रूपमा होइन, पार्टीकै रूपमा सबैभन्दा धेरै मत ल्याएर संसदमा जानेछौं ।’ लामिछानेले आफू जनताको मुद्दा बोकेर हिँडेकाले आफूमाथि लगाइएका मुद्दाबाट डराउने अवस्था नरहेको बताए । अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दाले फेरि जेल जानुपरे पनि अब चिन्ता नभएको उनको भनाइ थियो । ‘हेलिकप्टरबाट भाग्ने, बच्चाको टाउको र छातीमा गोली ठोकेर भाग्ने सरकारले लगाएको मुद्दाले मलाई जेल पुर्‍याउला,’ उनले भने, ‘तर अब मलाई कुनै चिन्ता छैन ।’

उनले देशले अब वैकल्पिक नेतृत्व पाइसकेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति भरोसा व्यक्त गरे । ‘मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ,’ उनले भने । बच्चामाथि गोली चलाउने र जनतामाथि दमन गर्नेहरूले देश र मधेशलाई गरेको अन्यायको हिसाब अब लिनुपर्ने समय आएको उनको भनाइ थियो । जनताले भगाएका शक्तिहरूलाई अब देश छाड भनेर भन्न नपर्ने अवस्था आउने दाबीसमेत उनले गरे ।

सभामा बोल्दै लामिछानेले बालेनले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘मैले आमाको फोटो हेरेर गम्भीर रूपमा सोचें,’ उनले भावुक हुँदै भने, ‘मलाई लाग्यो, बालेनले देश बनाउँछ । मैले आमासँग भनेँ, आमा बालेनले देश बनाउँछ ।’ देश र जनताको हितका लागि आफू र बालेन एकै ठाउँमा उभिएको उनको भनाइ थियो । उनले आफू र बालेनबीच भएको छलफल छोटो तर सार्थक भएको पनि खुलाए ।

‘रवि र बालेनको वार्ता पाँच मिनेटमै सकिएको हो,’ उनले भने, ‘अरु समय त एक–अर्कालाई चिन्ने र बुझ्ने क्रममा बित्यो ।’ लामिछानेले अबको राजनीति डर, दमन र षड्यन्त्रको होइन, जनताको भरोसा, इमानदारी र परिवर्तनको हुने दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसको नेतृत्व गर्न तयार रहेको बताए । उनले जनतालाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनताको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

 

राजुनाथ पाण्डे रास्वपाबाट काठमाडौं क्षेत्र नं–३ बाट उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरका निवर्तमान प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ । काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट रास्वपाले उनलाई काठमाडौं क्षेत्र नं– ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको हो । उनले रास्वपाबाट उम्मेदवार बन्नकै लागि माग ४ गतेदेखि लागू हुने गरी २ गते राजीनामा दिएका थिए । उनले आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर टिकट लिएका छन् ।

 

म भाषण होइन, काम गर्ने मान्छे हुँ : बालेन शाह

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले आफू भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै जनकपुरधामबाट प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक गरेका छन् । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयरका रूपमा गरेको कामलाई आधार बनाउँदै अब देशकै नेतृत्व सम्हाल्ने दाबी गरे ।

सभालाई सम्बोधन गर्दै बालेनले भने, ‘म भाषण गर्ने मान्छे होइन, काम गर्ने मान्छे हुँ । काम गरेको हेर्न चाहनुहुन्छ भने मेरो विगत हेर्नुस् ।’ काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि आफूले काम गरेर देखाएको जिकिर गर्दै उनले काठमाडौंबासीले आफ्नो कार्यशैली नजिकबाट देखिसकेको बताए । ‘अब यहाँका जनताले पनि मेरो काम हेर्न चाहनु हुन्छ ?’ भन्दै उनले मधेसका जनतासँग समर्थन मागे ।

यस पटकको सभामा बालेन पहिलो पटक चुनावी मञ्चबाट बोलेका थिए । उनले मैथिली भाषामै सम्बोधन गर्दै भावनात्मक अपिल गरे । ‘मधेसी छौरा प्रधानमन्त्री बन्ने वाला है’, भन्दै उनले रास्वपालाई मत दिन आग्रह गरे। रास्वपाले उनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको उल्लेख गर्दै उनले देशलाई नयाँ ढंगले हाँक्ने अवसर दिन मतदातासँग अनुरोध गरे ।

तर बालेनको सम्बोधन केवल उपलब्धिको चर्चा मात्रमा सीमित रहेन । उनले काठमाडौंको मेयरका रूपमा चार वर्ष काम गर्दा पनि धेरै जनसमस्यामा आफू असहाय बनेको स्वीकारोक्ति दिए । माइतीघर मण्डलामा उखु किसान, मिटरब्याज पीडितलगायतका आन्दोलन हुँदा समेत स्थानीय सरकारको सीमित अधिकारका कारण आफू मुकदर्शक भएर बस्नुपरेको उनको भनाइ थियो । ‘चार वर्ष मेयर हुँदा पनि धेरै पीडामा केही गर्न सकिनँ’, भन्दै उनले आफ्नो अनुभव सुनाए ।

यद्यपि, सीमित अधिकारबीच पनि केही काम गर्न सकेको उदाहरण उनले प्रस्तुत गरे । काठमाडौंको मेयर भएर देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्याउन भूमिका खेलेको स्मरण गर्दै उनले संघीय सरकारको नेतृत्व पाए कति धेरै गर्न सकिन्छ भन्ने प्रश्न उठाए । ‘स्थानीय तहमा रहेर यति गर्न सकेँ भने प्रधानमन्त्री भएर कति गर्न सकिएला ?’ भन्दै उनले आफ्नो आकांक्षा प्रस्ट पारे ।

जनकपुरको सभामा बालेनको प्रस्तुति आत्मविश्वास, आत्मालोचना र भविष्यको दाबीको मिश्रण देखिन्थ्यो । भाषणभन्दा कामलाई प्राथमिकता दिने उनको शैलीले समर्थकहरू उत्साहित देखिए भने उनले गरेको आत्मस्वीकृतिले राजनीतिक बहसलाई थप गहिरो बनाएको छ ।

 

 

 

 

 

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंहको उदघोष : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु

काठमाडौं । निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन् । सोमबार जनकपुरमा आयोजित विशाल सभामार्फत सिंह रास्वपामा आबद्ध भएका हुन् । उनलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेशसँगै डा. सिंहले अब सर्लाही–४ बाट रास्वपाकै उम्मेदवारका रूपमा चुनाव लड्ने घोषणा गरेका छन् । सभालाई सम्बोधन गर्दै उनले आफू रवि लामिछाने र बालेन शाहलाई देशका नायकको रूपमा लिएको उल्लेख गर्दै उनीहरूको सिपाही भएर अगाडि बढ्ने बताए । भाषणका क्रममा सिंहले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आक्रामक अभिव्यक्ति दिए । उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आत्मदाह गर्ने दाबी समेत गरे ।

‘हामी सीता माताका सन्तान हौं । सीता माता यही धर्तीमा समाहित भएकी थिइन्’, भन्दै उनले दोहोर्‍याए, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म पनि जनकपुरको धर्तीमै समाहित हुनेछु ।’ सिंहले बालेनलाई देशको ‘महानायक’ भन्दै मधेशबाट प्रधानमन्त्री बनाइनु पर्ने धारणा राखे । गम्छा देखाउँदै उनले भावुक अपिल गरे, ‘मसँग केही छैन । हात जोडेर गम्छामै भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ ।’

सभामा उनले आफू देशका खलनायकविरुद्ध लड्ने र नायकहरूको पक्षमा उभिने स्पष्ट पारे । रास्वपामा प्रवेशसँगै मधेश केन्द्रित राजनीति थप चर्किने संकेत देखिएको छ भने सिंहको अभिव्यक्तिले राजनीतिक वृत्तमा व्यापक चर्चा पैदा गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं–१ बाट रञ्जु दर्शना रास्वपाको प्रत्यक्ष उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–१ क्षेत्रबाट रञ्जु दर्शनालाई प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि उनी समानुपातिक बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिएकी थिइन् । रञ्जु दर्शना विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी हुन् । उनी पार्टीले समानुपातिक उम्मेदवार चयनका लागि गरेको प्राइमरी इलेक्शनमा सहभागी भएकी थिइन् र महिला आकांक्षीहरुमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारमध्ये एक थिइन् ।

तर, जब पार्टीले समानुपातिक बन्दसूची तयार गर्‍यो, खस–आर्य महिलाको क्लस्टरमा उनलाई १०औं नम्बरमा राख्दा उनी असन्तुष्ट भएकी थिइन् । उनीमाथि अन्याय भएको भन्दै पार्टीभित्र र बाहिर विरोध व्याप्त भयो । प्रारम्भिक संशोधनपछि पनि उनी सन्तुष्ट हुन सकिनन् र अन्ततः आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिइन् ।
पार्टी नेतृत्वले पछि उनी प्रत्यक्ष उम्मेदवारी दिन तयार भएको जनाइएको छ ।

रञ्जु दर्शना चाँडै आमा बन्ने तयारीमा पनि छिन् । उनले प्रत्यक्ष उम्मेदवारी दिन चाहनुको कारण भनेको समानुपातिकबाट निर्वाचित हुने सम्भावना नदेख्नु र काठमाडौं–१ मा घरदैलो गरेर निर्वाचन प्रचार गर्न सहज हुने हो । यस क्षेत्रमा रास्वपाबाट पुकार बम पनि उम्मेदवार बन्ने तयारीमा थिए । अघिल्लो निर्वाचनमा बमले स्वतन्त्र उम्मेदवारका रूपमा भाग लिएर तेस्रो स्थान हासिल गरेका थिए । तर, यस पटक उनलाई टिकट नदिने पार्टीको निर्णय भएको छ । रास्वपा अनुसार, रञ्जु दर्शनालाई प्रत्यक्ष उम्मेदवार बनाउनुले पार्टीको महिला प्रतिनिधित्व र निर्वाचन रणनीतिलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

रास्वपाले टुंग्यायो थप उम्मेदवार, झापा–२ बाट पूर्व उपसभामुख राना मैदानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभातर्फ उम्मेदवार छनोटलाई तीव्र बनाउँदै विभिन्न जिल्लाका थप निर्वाचन क्षेत्र टुंगो लगाएको छ । पार्टीको केन्द्रीय नेतृत्वको हिजो राति अबेरसम्म चलेको बैठकले देशका पहाडी, हिमाली र तराई क्षेत्र समेट्ने गरी नयाँ उम्मेदवारको सूची सार्वजनिक गरेको हो । निर्णयअनुसार नुवाकोट क्षेत्र नम्बर १ बाट डा. विक्रम तिमिल्सिना र क्षेत्र नम्बर २ बाट डा. अच्युतम लामिछाने उम्मेदवार बनेका छन् । दाङ क्षेत्र नम्बर ३ मा कमल सुवेदीलाई मैदानमा उतार्ने निर्णय गरिएको छ भने लमजुङबाट धर्म केसीले रास्वपाको प्रतिनिधित्व गर्ने भएका छन् ।

पूर्वी नेपालमा रास्वपाले उल्लेख्य उपस्थिति जनाउने संकेत देखिएको छ । झापा क्षेत्र नम्बर १ मा निशा डाँगी उम्मेदवार चयन भएकी छन् भने झापा–२ बाट पूर्व उपसभामुख इन्दिरा राना मगरलाई उम्मेदवार बनाइएको छ । यसैगरी झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भु सुस्केरा ढकाल र झापा–५ मा बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाइएको पार्टीले जनाएको छ ।

नवलपुर क्षेत्र नम्बर १ बाट राजन गौतमले टिकट पाएका छन् । कर्णालीतर्फ जुम्लाबाट विनिता कठायत उम्मेदवार चयन भएकी छन् भने सुदूरपश्चिमको कञ्चनपुर क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महताले प्रतिनिधित्व गर्नेछन् । मध्य तथा पूर्वी पहाडी जिल्लामा पनि रास्वपाले पेशागत र नयाँ अनुहारलाई प्राथमिकता दिएको देखिन्छ । दोलखाबाट इञ्जिनियर जगदीश खरेल, मोरङ–१ बाट अधिवक्ता यज्ञमणि न्यौपाने र मोरङ–३ बाट गणेश कार्की उम्मेदवार बनेका छन्। ओखलढुंगामा विश्वराज पोखरेल र स्याङ्जा क्षेत्र नम्बर १ मा धनन्जय रेग्मीले टिकट पाएका छन् ।

यसैगरी बाजुराबाट हेमराज थापा, बागलुङ क्षेत्र नम्बर २ बाट ‘जेनजी युवा’ भनेर चिनिने सोम शर्मा, रामेछापबाट डा. कृष्णहरि बुढाथोकी उम्मेदवार चयन भएका छन् । तनहुँ क्षेत्र नम्बर २ मा श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको छ । रास्वपाले विभिन्न पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाएर पुराना राजनीतिक अभ्यासभन्दा फरक ढंगले निर्वाचनमा होमिने संकेत दिएको विश्लेषकहरू बताउँछन् । पार्टी नेतृत्वले आगामी दिनमा बाँकी क्षेत्रका उम्मेदवार पनि क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ ।

 

 

रास्वपा प्रवेश गर्दै सुदन गुरुङ, बालेनसँगै घण्टीघर जाँदै

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले आज आफू र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत गुरुङले यो निर्णय कुनै पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट प्रेरित भएको स्पष्ट पारेका छन् ।

उनले जनताले निरन्तर माग गर्दै आएको जबाफदेहिता, स्पष्ट दिशा र ठोस नतिजा लाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको बताएका छन् । सुदन गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौं । यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो । तपाईंहरूले माग गर्नुभएको जबाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ । जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ । यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ ।’

 

गोरखामा रास्वपा नेताहरु चढेको गाडी तोडफोड

गोरखा । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता चढेको गाडी तोडफोड भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३, कमलटारमा वडा अधिवेशनका लागि गएका नेताहरूको गाडी तोडफोड गरिएको हो । गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहित नेता सवार थिए ।

उनीहरू चढेको बागमती प्रदेश ०२५ च ७०३० गाडीमाथि तोडफोड भएको केन्द्रीय सदस्य परियारले जानकारी दिएका छन् । आफूहरू सबै सुरक्षित रहेको बताउँदै परियारले सुनाए, ‘हामीले सम्भावित राजनीतिक प्रपञ्च, षडयन्त्र, प्रतिशोध र हुलहुज्डबाजको वहुकोण सहित प्रहरीमा उजुरी गरिसकेका छौं ।’ पार्किङस्थलमा राखिएको गाडीमाथि तोडफोड भएको उनले जानकारी दिए । यसले घटनाले कार्यक्रम केही ढिला भए पनि स्थगित नगरिएको उनले बताएका छन् ।

रविविरुद्धको आरोपपत्र संशोधन स्विकृती दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ता कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै उक्त रिट पेस गरेका हुन् । उनको निवेदन दर्ता हुने वा नहुनेबारे अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ । उनले लामिछानेमाथि लागेका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम नयाँ प्रमाण फेला परेको अवस्थामा बाहेक अभियोग संशोधन गर्न नमिल्ने कानुनी प्रावधान भए पनि लामिछानेलाई उन्मुक्ति दिने नियतले स्वेच्छाचारी निर्णय गरिएको निवेदकको जिकिर छ ।

 

 

 

मन्त्री बन्न नपाएकी टासीलाई उम्मेदवार बन्न ‘ब्वाइफ्रेण्ड’ बाधक !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार बन्दसूचीबाट टासी ल्हाजोमको नाम हटाइएको विषयले राजनीतिक वृत्तमा विवाद चर्किएको छ । आदिवासी जनजाति महिला क्लस्टरतर्फ पहिलो नम्बरमा रहेकी ल्हाजोमको नाम हटाइएकोबारे निर्वाचन आयोग स्रोतले निवेदन परेको पुष्टि गरे पनि पार्टीले औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।

स्वयं टासी ल्हाजोमले भने आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले पार्टी नेतृत्वले आफूसँग कुनै छलफल नगरी नाम हटाइएको दाबी गरेकी छन् । ‘मैले नाम फिर्ता लिएको छैन, न त फिर्ता लिने प्रक्रियामा सहभागी नै भएकी छु’, उनले लेखेकी छन् ।

ल्हाजोममाथि तिब्बतसम्बन्धी गतिविधिसँग जोडिएको, ‘फ्रि तिब्बत’ अभियानमा संलग्न भएको तथा तिब्बती प्रेमीसँग सम्बन्ध रहेको जस्ता आरोपहरू सार्वजनिक भएपछि पार्टीले नाम हटाएको दाबी रास्वपा स्रोतहरूले गरेका छन् । तर ती सबै आरोपको उनले कडा खण्डन गरेकी छन् । ‘म तिब्बती नागरिक होइन, फ्रि तिब्बतसम्बन्धी कुनै गतिविधिमा संलग्न छैन र मेरो प्रेमी पनि तिब्बती होइन’, उनले स्पष्ट पारेकी छन् । उच्च शिक्षा भारत र अमेरिकामा हासिल गरेकी तथा आफूलाई ‘जेनजी अभियन्ता’ भनेर चिनाउने ल्हाजोम यसअघि मन्त्री बन्ने चर्चामा रहे पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । अहिले फेरि समानुपातिक सूचीबाट हटाइएपछि उनले यो निर्णयलाई राजनीतिक र व्यक्तिगत चरित्रहत्या प्रयासका रूपमा लिएको संकेत गरेकी छन् ।

उनले आफूविरुद्ध लगाइएका आरोपहरू यदि सत्य भए प्रमाण सार्वजनिक गर्न खुला चुनौती दिएकी छन् । ‘जो–कोहीसँग म वा मेरो गतिविधि तिब्बतसँग जोडिएको प्रमाण छ भने सार्वजनिक गरियोस्’, उनको भनाइ छ । साथै सार्वभौम देशको नागरिकको हैसियतमा आफूलाई संविधानले दिएको चुनाव लड्ने अधिकार कसैले खोस्न नसक्ने बताउँदै, अधिकार हनन भए कानुनी बाटो अपनाउने चेतावनी पनि दिएकी छन् । यस विषयमा रास्वपाका प्रवक्ता मनिष झाले भने टासीले पार्टी नेतृत्वसँग छलफल गरेरै नाम फिर्ता लिएको दाबी गरेका छन् । ‘उहाँले तत्काल सांसद नबन्ने, समुदायका लागि अन्य क्षेत्रबाट काम गर्ने बताउनु भएको हो’, उनको भनाइ छ ।

तर ल्हाजोमले उक्त दाबी अस्वीकार गर्दै आफूलाई नेतृत्वबाट कुनै जानकारी वा परामर्श नआएको बताइन् । उनले यसबारे उपसभापति डिपी अर्यालसँग सोध्न आग्रह गरेकी छन् । यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ल्हाजोम तिब्बती शरणार्थी भएको दाबी गर्दै नागरिकतामाथि प्रश्न उठाएका थिए भने जेनजी कर्णालीकी अध्यक्ष सुप्रिया शाहीले उनलाई फ्रि तिब्बत अभियानसँग जोड्दै छानबिनको माग गरेकी थिइन् । निर्वाचन कानुनअनुसार उम्मेदवारले स्वयं लिखित रूपमा नाम फिर्ता नलिएसम्म बन्दसूचीबाट हटाउन नमिल्ने व्यवस्था छ । यही कानुनी प्रावधानलाई आधार मानेर टासी ल्हाजोमले आफ्नो नाम हटाइएको प्रक्रिया नै शंकास्पद भएको दाबी गर्दै सार्वजनिक बहस र कानुनी लडाइँको संकेत गरेकी छन् ।

भावी प्रधानमन्त्रीको दौडमा बालेन, मधेशबाट रास्वपाको राष्ट्रिय अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याउने तयारी गरेको छ । पार्टीभित्रको नीतिगत संवाद, संगठन विस्तार र चुनावी रणनीतिलाई एकै सूत्रमा बाँध्दै रास्वपाले मधेशबाटै नयाँ राजनीतिक अभियानको औपचारिक शंखघोष गर्ने भएको छ ।

रास्वपाका प्रभावशाली नेता डा. स्वर्णिम वाग्ले र मेयर बालेनबीच हालै सघन संवाद भएको छ । बिहीबार बिहान बालेनसँगको तस्वीर सार्वजनिक गर्दै वाग्लेले यसलाई ‘नीतिगत स्पष्टताको चरण’ भनेका छन् । उनका अनुसार आर्थिक सुधार, रोजगारी सिर्जना, राजस्व–खर्च व्यवस्थापन, आधुनिक पूर्वाधार र काठमाडौं महानगरमा प्रयोग भएको ‘डेलिभरी मोडल’ लाई राष्ट्रिय एजेण्डाका रूपमा स्थापित गर्ने विषयमा चरणबद्ध छलफल भइरहेको छ । यही सन्दर्भमा बालेनलाई आगामी सरकारको ‘प्रस्तावित प्रधानमन्त्री’ का रूपमा अघि सार्ने तयारी पार्टीले गरेको संकेत वाग्लेले दिएका छन् ।

यसै रणनीतिअन्तर्गत रास्वपाको शीर्ष नेतृत्व आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्दैछ । सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्लेसहितको टोलीले उक्त दिनदेखि ‘देश जोड्ने र बनाउने महाअभियान’ सुरु गर्ने जनाएको छ । वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास २१ फागुनको निर्वाचनबाट ।’ मधेश यात्रालाई केवल सांगठनिक भ्रमण नभई नयाँ राष्ट्रिय सोचको बीजारोपणका रूपमा रास्वपाले व्याख्या गरेको छ । पार्टीका अनुसार मधेशको माटोबाटै राष्ट्रिय एकता, विकास र सुशासनको नयाँ कथा लेख्ने लक्ष्य राखिएको छ ।

यसबीच, राजनीतिक वृत्तमा थप चासोको विषय बनेको छ—बालेनको प्रत्यक्ष चुनावी मैदानमा प्रवेश । रास्वपामा औपचारिक रूपमा आबद्ध भइसकेका बालेनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिने तयारी गरेका छन् । ५ माघबाटै उनको चुनाव केन्द्रीत यात्रा सुरु हुने र पहिलो सार्वजनिक कार्यक्रम जनकपुरधाममै हुने तय भएको छ । यो कार्यक्रम बालेन र रवि लामिछाने पहिलो पटक एउटै मञ्चमा देखिने अवसरसमेत हुनेछ ।

रास्वपाले बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको बताइन्छ, यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ । जनकपुरको कार्यक्रमपछि बालेन झापा जाने र रवि लामिछाने चितवन झर्ने कार्यतालिका बनाइएको छ । माघ ६ गते प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता भएपछि दुवै नेताहरू देशव्यापी दौडाहामा निस्किने पार्टीको योजना छ । मधेशमा प्रभाव पार्ने रणनीतिअन्तर्गत रास्वपाले बालेनलाई ‘मधेश पुत्र’ का रूपमा ब्रान्डिङ गर्न थालेको छ ।

मधेशका विभिन्न स्थानमा ‘अबकी बार–बालेन सरकार’ लेखिएका पोस्टर देखिन थालेका छन् । बालेनको पुख्र्यौली थलो महोत्तरी जिल्ला (एकडारा गाउँपालिका) पर्नु र उनलाई ‘सम्भावित पहिलो मधेशी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गर्नुले मधेशी जनमतमा गहिरो प्रभाव पार्ने विश्लेषण भइरहेको छ । यद्यपि उनको जन्म काठमाडौंको नरदेवीमा भएको हो र उनी हाल काठमाडौंका स्थायी बासिन्दा हुन् । समग्रमा, रास्वपाले मधेशबाटै चुनावी अभियान सुरु गर्दै बालेनलाई विकास, सुशासन र नयाँ राजनीतिक संस्कृतिको प्रतीकका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ । मधेश यात्रा केवल क्षेत्रीय भ्रमण नभई राष्ट्रिय सत्ता राजनीतिमा नयाँ अध्यायको सुरुवात बन्ने संकेत रास्वपाले स्पष्ट रूपमा दिएको छ ।

 

 

 

रास्वपा सहमहामन्त्री आचार्य समानुपातिक सूचीबाट बाहिरिए, अब प्रत्यक्ष चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। पुस १३ गते रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम खस÷आर्य समूहतर्फ पहिलो नम्बरमा थिए । तर, आफै समानुपातिक उम्मेदवार खोज्ने समितिमा रहेर आफै पहिलो नम्बरमा बसेको भन्दै उनको चर्को आलोचना भएको थियो ।

निर्वाचन आयोगले समानुपातिक सूची सच्याउन दिएको आज अन्तिम दिनमा उनले नाम फिर्ता लिएका हुन् । आचार्यले पार्टी सभापति रवि लामिछानेसँग परामर्श गरेर नाम फिर्ता लिएका हुन् । उनले अब प्रत्यक्ष चुनाव लड्ने बताएका छन् । ‘समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउँदैछु,’ आचार्यले फेसबुकमा लेखेका छन्, ‘साथ र सहयोगको अपेक्षा गर्दछु ।’ उनी दाङका हुन् । दाङमा ३ वटा निर्वाचन क्षेत्र छन् । अब तीमध्ये कुनै एक क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने छन् ।

एकता भङ्गपछि रास्वपाले सच्यायो समानुपातिक बन्दसूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बुझाएको बन्दसूची पुनः अध्यावधिक गरेको छ । उज्यालो नेपाल पार्टीसँग भएको एकता औपचारिक रूपमा भङ्ग भएपछि रास्वपाले आइतबार निर्वाचन आयोग पुगेर संशोधित सूची दर्ता गराएको हो । रास्वपाका प्रवक्ता मनीष झाले उज्यालो नेपालसँगको एकता शनिबार साँझ अन्त्य भएपछि आसन्न निर्वाचनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरिएको जानकारी दिए। यसअघि एकताको सहमतिअनुसार दुवै दलले संयुक्त रूपमा समानुपातिक बन्दसूची बुझाएका थिए ।

एकता भंग भएसँगै उज्यालो नेपाल पार्टीका अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् । तर, अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टी समानुपातिकतर्फ सहभागी नहुने भएको छ । एकता कायम रहँदा उज्यालो नेपालका तर्फबाट पनि रास्वपाकै नाममा सूची बुझाइएको थियो । यसैबीच, रास्वपाले यसअघि बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर पार्टीभित्र र बाहिर व्यापक आलोचना भएको थियो ।

आलोचनापछि सूचीमा समेटिएका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु) र मोहना अन्सारीलगायतले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए । उज्यालो नेपालबाट समावेश गरिएका तथा नाम फिर्ता लिएका नेताहरूको स्थानमा नयाँ नाम समेटेर रास्वपाले समानुपातिक बन्दसूची पुनः संशोधन गरेको हो । पार्टीका अनुसार अद्यावधिक सूची निर्वाचन आयोगको नियम र समयसीमाअनुसार दर्ता भइसकेको छ । एकता भङ्ग र बन्दसूची संशोधनको यो घटनाले निर्वाचनको तयारीमा रहेका दलहरूको आन्तरिक व्यवस्थापन र रणनीतिमा प्रभाव पार्ने देखिएको छ ।

 

उज्यालो नेपालको आकस्मिक बैठक बस्दै, रास्वपासँग छुट्टिएर अध्यक्ष बन्दै कुलमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भंग भएपछि उज्यालो नेपाल पार्टीमा ठूलो राजनीतिक मोड आएको छ । सहमति अगाडि बढ्न नसकेपछि पार्टीका संरक्षक कुलमान घिसिङले अब नेतृत्व आफैं सम्हाल्ने तयारी गरेका छन् र उनी उज्यालो नेपालको अध्यक्ष बन्ने भएका छन् ।

रास्वपासँग भएका छलफलहरू निष्कर्षमा नपुगेपछि उज्यालो नेपालले शनिबार आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक दिउँसो ४ः३० बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बस्नेछ । बैठकपछि साँझ ६ बजे सोही स्थानमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको छ, जहाँ एकता भंग हुनुका कारण र आगामी राजनीतिक बाटोबारे औपचारिक धारणा सार्वजनिक गरिनेछ ।

उज्यालो नेपालका तर्फबाट अघि सारिएका केही राजनीतिक र संगठनात्मक मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता प्रक्रिया टुटेको घोषणा गरिसकेको छ । पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेकै कारण सहकार्य निरन्तरता दिन नसकिने निष्कर्षमा कुलमान घिसिङ पुगेका हुन् । यसैबीच, उज्यालो नेपालसँगको सहकार्य अगाडि नबढ्ने भएपछि त्यसबारे छलफल गर्न रास्वपाको आकस्मिक सचिवालय बैठक पनि अहिले जुममार्फत जारी छ ।

रास्वपा र उज्यालो नेपालबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो, तर त्यसलाई व्यवहारमा उतार्ने क्रममा देखिएका मतभेदले अन्ततः एकता प्रक्रिया टुटेको हो ।
एकता भंगसँगै उज्यालो नेपालले अब स्वतन्त्र राजनीतिक यात्राको संकेत दिएको छ । आजको केन्द्रीय समिति बैठक र त्यसपछि हुने पत्रकार सम्मेलनले कुलमान घिसिङको औपचारिक नेतृत्व घोषणा र पार्टीको आगामी रणनीतिबारे स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

उज्यालो नेपालसँग सहकार्य टुंगिएको रास्वपाको निष्कर्ष, बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको सहकार्य सम्भावना अन्त्य भएको निष्कर्षमा रास्वपा पुगेको छ । उज्यालो नेपालका तर्फबाट अघि सारिएका राजनीतिक र संगठनात्मक मागहरू स्वीकार्य नहुने ठहर गर्दै रास्वपाले सहकार्यलाई औपचारिक रूपमा टुंग्याउने तयारी गरेको हो ।

रास्वपा नेतृत्वका अनुसार उज्यालो नेपालले लोकतान्त्रिक सिद्धान्तमै पुनर्विचार गरी नयाँ राजनीतिक सिद्धान्त निर्माण गर्नुपर्ने प्रस्ताव राखेको थियो । तर, व्यवस्था र संविधानप्रति विमति नरहेको स्पष्ट धारणा राख्दै आएको रास्वपाले उक्त मागमा सहमति जनाउन नसकेको प्रवक्ता मनिष झाले बताए । उनले भने, ‘अवस्था परिवर्तन गर्ने हाम्रो अभियान हो । व्यवस्था र संविधानप्रति हाम्रो असहमति छैन भन्ने स्पष्ट धारणा राख्दा कुरा मिलेन ।’

वार्ताका क्रममा संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाबारे पनि उज्यालो नेपालले फरक धारणा अघि सारेको रास्वपा नेताहरूको भनाइ छ । यसका साथै संगठनात्मक भागबन्डामा पनि सहमति हुन सकेन । उज्यालो नेपालले हालका पदाधिकारीबाहेक थप तीन पद, वरिष्ठ उपसभापति कुलमान घिसिङलाई दिने, साथै एक नयाँ महामन्त्री पद सिर्जना गरी त्यसलाई उज्यालो नेपालको भागमा पार्नुपर्ने शर्त राखेको बताइएको छ ।

रास्वपाका एक नेताले भने, ‘यस्ता शर्तहरूमा हामी सहमत हुन सकेनौं ।’ त्यसैगरी, आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीका लागि सिट तोकेरै जानुपर्ने उज्यालो नेपालको माग र भविष्यमा सरकार गठन भएपछिका राज्यका अवसरहरूबारे अहिले नै भागबण्डा गर्नुपर्ने धारणा पनि रास्वपाले अस्वीकार गरेको छ ।

एक पदाधिकारीका अनुसार रास्वपाको तर्क निर्वाचन र तत्कालीन उपलब्धिमा मात्र छलफल सीमित नगरौँ, यो देश बदल्ने दीर्घकालीन अभियान हो भन्ने रहेको छ । ‘रास्वपा र उज्यालो नेपालबीचको सहकार्य औपचारिक रूपमा टुंगिएको घोषणा मात्र बाँकी छ’, उनले भने ।

यसैबीच, सहकार्यको सम्भावना सकिएको उज्यालो नेपालका संरक्षक कुलमान घिसिङको अभिव्यक्तिपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले आज दिउँसो ३ः१५ बजेबाट सुरु हुने गरी भर्चुअल बैठक आह्वान गरेका हुन् ।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टी एकता, समायोजन प्रक्रिया, उज्यालो नेपालसँगको सहकार्य टुट्नुका कारण र आगामी राजनीतिक रणनीतिबारे छलफल हुनेछ । रास्वपा र उज्यालो नेपालबीच यसअघि पुस १४ गते ७ बुँदे सहमति भएको थियो । तर, राजनीतिक विचार र पदीय भागबण्डामा सहमति नजुट्दा सहकार्य अन्त्यतर्फ पुगेको निष्कर्ष निकालिएको छ ।

मिलिनसक्दै छुटिने तयारीमा रवि–कुलमान

काठमाडौं । औपचारिक घोषणा हुनै नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया गम्भीर संकटमा परेको छ । पद बाँडफाँट, वरीयता र संघीयता–धर्मनिरपेक्षता जस्ता संवेदनशील सैद्धान्तिक मुद्दामा सहमति नजुट्दा दुई पक्षबीचको दूरी झनै बढ्दै गएको छ ।

एकताको अन्तिम चरणमा आइपुग्दा रास्वपाले पूर्व सहमति पालना नगरेको आरोप उज्यालो नेपाल पक्षले लगाएको छ । रास्वपा नेतृत्वबाट ‘ठूलो दलको दम्भ’ देखिएको, आफ्ना नेता–कार्यकर्तामाथि अपमानजनक व्यवहार भएको निष्कर्षसहित उज्यालो नेपालका नेताहरूले एकता प्रक्रियामै पुनर्विचार गर्न दबाब बढाएका छन् ।

स्रोतका अनुसार, प्रारम्भिक समझदारीमा उज्यालो नेपाललाई प्रत्यक्षतर्फ ३० प्रतिशत उम्मेदवारी, केन्द्रीय समितिमा २६ सदस्य र समानुपातिकतर्फ १८ सिट दिने सहमति भएको थियो । तर, अन्तिम समयमा समानुपातिक सिट १४ मा झारिनुका साथै सांसद बन्ने निश्चित मानिएका ६ जनाको क्लस्टर नै हटाइएपछि विवाद चर्किएको हो ।

निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको उज्यालो नेपाललाई एकीकरणका नाममा ९४ सदस्यीय बनाइए पनि, अधिकांश केन्द्रीय सदस्यहरूले यस्तो अवस्थामा पार्टीको साख जोगाउन गाह्रो हुने भन्दै यथास्थितिमा एकता अस्वीकार्य भएको बताएका छन् । शुक्रबार काठमाडौंको बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछाने व्यक्तिगत रूपमा लचिलो देखिए पनि उनको सचिवालय र ‘कोर टिम’ सहमति कार्यान्वयनमा बाधक बनेको बताएका थिए ।

त्यसअघि रविसँग भएको प्रत्यक्ष भेटवार्तामा कुलमानले वरीयता, केन्द्रीय समितिमा २६ सदस्य र समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद बन्ने सुनिश्चितता माग गरेका थिए । तर, रविले २१ केन्द्रीय सदस्यसम्म दिन तयार भए पनि समानुपातिक सांसद सुनिश्चित गर्न नसकिने जवाफ दिएपछि कुलमान थप असन्तुष्ट बनेका छन् ।

उज्यालो नेपालका नेताहरूका अनुसार, यही असन्तुष्टिले कुलमानलाई वैकल्पिक रणनीति अर्थात् ‘प्लान बी’ तर्फ धकेलेको छ । उक्त योजनाअनुसार कुलमानले उज्यालो नेपाल पार्टीबाटै प्रत्यक्ष चुनाव लड्ने र समानुपातिक मतका लागि अर्कै चिह्न भएको दलसँग मोर्चाबन्दी वा सहकार्य गर्ने तयारी गरेका छन् । समानुपातिक सूची बुझाइसकेका पाँच–छ वटा पार्टी कुलमानसँग सम्पर्कमा रहेको दाबी पनि उनी निकट नेताहरूले गरेका छन् ।

यद्यपि, उज्यालो नेपालका केही दोस्रो तहका नेताहरू भने अझै पनि असमझदारी हटाएर रास्वपासँगको एकता जोगाउने अन्तिम प्रयासमा छन् । उनीहरूको भनाइमा, एक पटक हस्ताक्षर भइसकेको सहमतिपछि ‘आए आऊ, नआए नआऊ’ भन्ने शैलीले पार्टी–पार्टीबीचको सम्मानमा चोट पुगेको छ ।

उज्यालो पार्टीभित्रै केही नेताहरूले भने अहिलेको विवादमा तीनै पक्ष–रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाह-सबैको भूमिका प्रश्नयोग्य रहेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार, व्यक्ति केन्द्रित करिज्मामा बढी भरोसा गर्दा संस्थागत राजनीति र सहमतिको मूल्य ओझेलमा परेको छ ।

दुई साता नपुग्दै एकता प्रक्रिया लगभग ठप्प अवस्थामा पुगेको छ । नयाँ ठोस समझदारी नभए कुलमान घिसिङ रास्वपाबाट अलग भएर उज्यालो नेपाल पार्टीलाई आफ्नै नेतृत्वमा अघि बढाउने लगभग निश्चित जस्तै देखिएको छ । तर, अन्तिम क्षणसम्म पनि केही नेताहरू ‘मिल्ने सानो झ्याल’ खुला राखेर वार्ता जारी राख्नुपर्ने पक्षमा छन् ।

रास्वपा–उज्यालो नेपाल एकता ‘संकट’ मा, ‘नयाँ विकल्प’ को खोजीमा हुन् कुलमान ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते भएको एकता १२ दिन नपुग्दै संकटमा परेको छ । समानुपातिक बन्दसूची सच्च्याउने निर्वाचन आयोगको अन्तिम म्याद नजिकिँदै गर्दा उज्यालो नेपाल पार्टी रास्वपासँगको सहकार्य तोडेर नयाँ राजनीतिक विकल्पतर्फ जाने तयारीमा देखिएको छ । एकतापछि बनेको संरचनामा रास्वपा, रवि लामिछाने र कुलमान घिसिङ पक्ष अत्यधिक हाबी भएको निष्कर्ष निकाल्दै उज्यालो नेपाल पार्टी अलग्गिने मनस्थितिमा पुगेको स्रोतहरूको भनाइ छ । उज्यालो नेपालका अवधारणाकार कुलमान घिसिङले पार्टीभित्र ब्रिफिङ गर्दै रास्वपासँग छुट्टिएर फरक ढंगले अगाडि बढ्ने संकेत दिएका छन् ।

रास्वपासँगको सहमतिअनुसार समानुपातिकतर्फ उज्यालो नेपालका १८ जनाको नाम समावेश गर्ने भनिए पनि व्यवहारमा दलित महिला कोटाबाट रिमा विश्वकर्माबाहेक अन्य नेताको सांसद बन्ने सम्भावना न्यून रहेको उज्यालो नेताहरूको मूल्याङ्कन छ । यही कारण एकताबाट पार्टीको पहिचान नै हराएको अनुभूति उज्यालो नेपालमा बढ्दै गएको छ । ‘आज रातिसम्म सहमति नबने नयाँ ढंगले अगाडि बढ्छौं,’ उज्यालो नेपालका एक केन्द्रीय सदस्यले सुनाए । पार्टी नेता जीतराम वाइबाले पनि सहमति हुने–नहुने दुवै सम्भावना बराबर रहेको भन्दै सम्मानजनक एकता र समायोजन नै आफ्नो माग भएको स्पष्ट पारे।

शुक्रबार बिहान कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच करिब तीन घण्टा वार्ता भए पनि कुनै ठोस निचोड ननिस्किएको स्रोतले जनाएको छ । त्यसपछि घिसिङ उज्यालो नेपाल पार्टीका नेताहरूसँग काठमाडौँको बौद्धमा छलफलमा जुटेका छन् । उक्त बैठकमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायसहित केन्द्रीय नेताहरू सहभागी छन् । रास्वपा स्रोतका अनुसार, कुलमानलाई वरिष्ठ उपसभापति बनाउने सहमति पार्टीभित्र अनुमोदनको प्रक्रियामा भए पनि उज्यालो नेपाल पक्ष त्यसबाट सन्तुष्ट छैन । ‘यो सहमतिबाट न रवि खुशी छन्, न कुलमान,’ एक स्रोतले भन्यो, ‘नयाँहरू मिल्नु पर्छ भन्ने सन्देश दिनका लागि मात्र हस्ताक्षर भएको जस्तो देखिन्छ ।’

मन्त्री पदबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका कुलमान घिसिङले आफ्नै बलमा २५–३० सिट जित्न सके प्रधानमन्त्री बन्ने अवस्था आउन सक्ने दाबी पार्टीभित्र गरेका छन् । ‘पहिचान र इमान गुमाएर बस्नुको अर्थ छैन,’ घिसिङको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा पनि घिसिङले आफूले कुनै दलको सदस्यता नलिएको र रास्वपाको वरिष्ठ उपसभापति स्वीकार नगरेको स्पष्ट पारेका थिए ।
रास्वपासँग सहकार्य कमजोर बनेपछि उज्यालो नेपाल पार्टीले बन्दसूची बुझाइसकेको अन्य दलसँग संवाद अघि बढाएको छ ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतसँग चुनावी तालमेल र बन्दसूची पुनर्संरचनाबारे छलफल भइरहेको स्रोतले जनाएको छ । एकता भएकै दिन त्रिपुरेश्वरमा कार्यालय स्थापना गरेको उज्यालो नेपाल पार्टी अहिले भने रास्वपासँगको सहकार्य अन्त्य गर्ने कि अन्तिम प्रयासमा सहमति खोज्ने भन्ने निर्णायक मोडमा पुगेको छ । आज रातिसम्म हुने छलफलले नयाँ राजनीतिक समीकरणको दिशा तय गर्ने देखिन्छ ।

 

 

 

 

ममाथि अझै तरबार झुण्डिए पनि डर छैन, देशलाई जालझेलबाट मुक्त गर्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको राजनीतिक प्रतिशोधलाई क्षमा गर्न सक्ने क्षमता आफूमा रहेको बताएका छन् । चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिशोधको राजनीति अन्त्य गरेर देशको भविष्य लेख्ने अधिकार नेपाली जनतालाई नै सुम्पिने घोषणा गरे ।

लामिछानेले पुराना दल र प्रवृत्तिलाई प्रतिपक्षमै राखिरहनु आवश्यक नरहेको टिप्पणी गरेका छन् । ‘किन राख्ने प्रतिपक्षमा ? के का लागि राख्ने ? कलिला बालबालिकाको टाउको र छातीमा ताकीताकी गोली हान्न ?’ भन्दै उनले विगतका राजनीतिक अभ्यासप्रति तीखो प्रश्न उठाएका छन् । आफूलाई कटाक्ष गर्ने मन नभए पनि राज्यबाट भएको दमनले चित्त दुखेको उनको भनाइ थियो । उनले आफूविरुद्धको मुद्दा र कारबाहीलाई व्यक्तिगत विषय नभई समग्र देशसँग जोडिएको प्रश्नका रूपमा व्याख्या गरे । ‘यो मेरो निजी कुरा रहेन, सिङ्गो देशको कुरा बनिसक्यो’, उनले भने, ‘मैले कारागारबाट पनि भनेको थिएँ–मलाई जेल हाले भनेर चिन्ता नगर्नुस्, किनकी यिनीहरूले सिङ्गो देशलाई नै जेल बनाएका छन् ।’

लामिछानेले देशलाई ‘जेल’ बनाउने प्रवृत्तिबाट मुक्त गराउने संघर्ष अझै बाँकी रहेको बताए । ‘यो लडाइँ लड्नै परे पनि मलाई कुनै आपत्ति छैन’, भन्दै उनले राजनीतिक दबाब र जोखिमबीच पनि पछि नहट्ने संकेत गरे । कार्यक्रममा उनले अझै पनि आफू माथि ‘पाँच ठाउँमा तरबार झुण्डिएको’ अवस्था रहेको उल्लेख गर्दै जुनसुकै बेला त्यो खस्न सक्ने बताए । तर, त्यसप्रति आफूलाई कुनै डर नरहेको उनले स्पष्ट पारे । ‘तरबार खसोस्, मलाई पर्वाह छैन’, उनले भने, ‘तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो ।’

आफू सांसदका रूपमा निर्वाचित भए पनि जनताका घरआँगनमा पुगेर अपेक्षित रूपमा काम गर्न नपाएको गुनासो उनले व्यक्त गरे । ‘धित मर्ने गरी काम गर्नै पाइनँ, जनताबीच पुग्नै पाइनँ’, उनले स्वीकारे । यद्यपि, आफ्नो कार्यकालमा तीनवटा सार्वजनिक सुनुवाइ गर्न सफल भएको उल्लेख गर्दै उनले पारदर्शिताप्रति प्रतिबद्धता दोहोर्‍याए । बारम्बारका मुद्दा, झमेला र कानुनी प्रक्रियाका कारण धेरै प्रतिबद्धता पूरा गर्न नपाएको स्वीकार्दै उनले समर्थकप्रति भावुक सन्देश दिए । ‘तपाईंहरूले मेरा लागि बगाउनु भएको आँशसु मलाई याद छ’, उनले भने, ‘त्यो आँशसुको एक–एक थोपा खेर जान दिने छैन।’ लामिछानेको सम्बोधनले रास्वपाले आफूलाई केवल सत्ता राजनीतिमा सीमित नराखी ‘व्यवस्था र प्रवृत्तिविरुद्धको आन्दोलन’ का रूपमा अगाडि बढाउन खोजेको सन्देश दिएको विश्लेषकहरू बताउँछन् ।

रास्वपाको समानुपातिक सूचीबाट रामजी रामले पनि फिर्ता लिए नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार डा. रामजी रामले आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनीद्वारा जारी गरिएको वक्तव्यमा डा. रामले यस निर्णयको पृष्ठभूमि दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्व भएको स्पष्ट पारेका छन् । डा. रामका अनुसार बन्दसूचीमा उनको नाम केवल व्यक्तिगत सम्मान मात्र नभई ‘पुस्तौंदेखि आवाजविहीन बनाइएका हजारौं सपनाको प्रतिनिधित्व’ पनि थियो । उनले भनेका छन्, ‘यो केवल मेरो नाम मात्र थिएन, दलित समुदायको सामूहिक आकांक्षा र पहिचान पनि थियो ।’

तर उनले राजनीतिलाई अवसरको माध्यमको रूपमा मात्र नहेर्ने बताएका छन् । डा. रामले स्पष्ट पारेका छन् कि राजनीति त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी हो । यही आत्ममूल्यांकनका आधारमा उनले आफूभन्दा पनि बढी पीडित र कम सुनिएका आवाज संसदमा पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् । ‘यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एउटा ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ’, उनले भनेका छन् ।

डा. रामले संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव भन्ने धारणा राख्दैनन् । उनले सामाजिक चेतना, नागरिक आन्दोलन र वैचारिक संघर्षका विभिन्न मोर्चाबाट पनि न्यायका लागि लड्न सकिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार, यो निर्णय पलायन होइन, बरु जिम्मेवारीको नयाँ सुरुवात हो । डा. रामले फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘यो यात्रा यहीँ समाप्त भएको होइन, अझ जिम्मेवार रूपमा सुरु भएको मात्र हो ।’ डा. राम रास्वपाको समानुपातिकतर्फ दलित कलस्टरको चौथो नम्बरमा सिफारिस भएका थिए । उनका साथै उक्त सूचीबाट हालसम्म ८ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । यो निर्णयले दलित समुदायको लामो समयदेखि मागेको राजनीतिक प्रतिनिधित्वमा नयाँ दृष्टिकोण र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन् ।

 

सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि सार्वजनिक बहसमा आएकी ट्राभलर सिर्जना सिज्जु वलीले अन्ततः आफ्नो नाम फिर्ता लिएकी छन् । सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले यो निर्णय योजनाबद्ध नभई यात्राकै क्रममा आएको आकस्मिक प्रस्तावका कारण भएको स्पष्ट पारेकी छन् ।

पर्यटन सम्भावनाको अध्ययन गर्दै ढोरपाटन, रुकुम पूर्व–पश्चिम, बुर्तिबाङ र चुङ्री बुक्की जस्ता दुर्गम क्षेत्रको एकल यात्रा गरिरहेका बेला आफूलाई समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको वलीको भनाइ छ । यात्रामा रहेकै कारण निर्णयका लागि पर्याप्त समय नपाएको र सूची सार्वजनिक भएपछि मात्र यसको गहिराइ महसुस भएको उनले स्वीकारेकी छन् ।

‘यात्राको थकान र सीमित समयका बीचमा गरिएको निर्णयले मलाई आत्ममन्थन गर्न बाध्य बनायो,’ उनले उल्लेख गरेकी छन् । बन्द सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई उनले स्वाभाविक प्रतिक्रिया मानेकी छन् ।
आफ्नो राजनीतिक पृष्ठभूमिबारे उठेका टिप्पणीप्रति पनि वलीले प्रष्ट पारेकी छन् । उनले जीवनका निर्णयहरू सधैं स्वतन्त्र रूपमा लिँदै आएको र परिवारको नाम प्रयोग गरेर अघि बढ्ने सोच कहिल्यै नराखेको बताइन् । वन विज्ञानको अध्ययन, एकल यात्रामार्फत दुर्गम क्षेत्रको प्रवद्र्धन र स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यटन विकासमा योगदान पुर्‍याउनु नै आफ्नो मूल लक्ष्य भएको उनको भनाइ छ ।

हुम्लाको लिमी उपत्यका, डोल्पाको कागमारा, ढोरपाटनका पाटन, मुन्धुम ट्रेल र सिंजा उपत्यकाजस्ता क्षेत्रको यात्राले गाउँमै रोजगारी र आशा सिर्जना गर्न सकिने सम्भावना देखाएको वलीको दाबी छ । ‘पर्यटन केवल घुमफिर होइन, ग्रामीण अर्थतन्त्र उठाउने बलियो माध्यम हो,’ उनले उल्लेख गरेकी छन् । राजनीतिमा तत्काल प्रवेश गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै वलीले भनिन्, ‘म अहिले राजनीतिमा आउँदिन । तर यसको अर्थ म राजनीति बुझ्दिनँ वा भिजन छैन भन्ने होइन।’ समानुपातिक सूचीमार्फत पद ओगट्ने चाहना नरहेको भन्दै उनले आफ्नो नाम औपचारिक रूपमा फिर्ता लिइसकेको जानकारी दिएकी छन् । यात्रामा रहेकाले यसबारे सार्वजनिक जानकारी दिन ढिलाइ भएको पनि उनले स्वीकारेकी छन् ।

भविष्यमा पनि राजनीति बाहिरै रहेर पर्यटन र ग्रामीण विकासका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै वलीले नेपालको अर्थतन्त्र सुदृढ बनाउन पर्यटन क्षेत्रलाई दीर्घकालीन दृष्टिले अघि बढाउनुपर्ने धारणा दोहो¥याएकी छन् । वलीले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै समानुपातिक सूचीमा नाम पर्नु योजनाबद्ध नभई यात्राकै क्रममा भएको आकस्मिक निर्णय भएको बताएकी छन् । ढोरपाटन, रुकुम पूर्व पश्चिम, बुर्तिबाङ, चुङ्री बुक्की जस्ता क्षेत्रमा एकल यात्रा गर्दै पर्यटन सम्भावनाको अध्ययन गरिरहेका बेला आफूलाई समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको उनको भनाइ छ ।

यात्राका कारण निर्णयका लागि पर्याप्त समय नपाएको र बन्द सूचीमा नाम सार्वजनिक भएपछि मात्र यसको गम्भीरता महसुस भएको वलीले उल्लेख गरेकी छन्। ‘यो निर्णय अलि हतारमा भएछ’ भन्दै उनले सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई स्वाभाविक मानेकी छन् ।

राजनीतिक पृष्ठभूमिसँग जोडिएका टिप्पणीबारे प्रष्ट्याउँदै वलीले आफूले जीवनका अधिकांश निर्णय स्वतन्त्र रूपमा लिँदै आएको र परिवारको नाम प्रयोग गरेर अघि बढ्ने सोच कहिल्यै नराखेको बताइन् । वन विज्ञान अध्ययन, एकल यात्रामार्फत कर्णाली, सुदूरपश्चिम र पहाडी जिल्लाका लुकेका गन्तव्यको प्रवद्र्धन नै आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ छ । हुम्लाको लिमी उपत्यका, डोल्पाको कागमारा, ढोरपाटनका पाटन, मुन्धुम ट्रेल, सिंजा उपत्यका जस्ता क्षेत्रमा गरेको लामो यात्रा र स्थानीयसँगको सहकार्यले आफूले पर्यटनमार्फत गाउँमै रोजगारी र आशा सिर्जना गर्न खोजेको वलीले दाबी गरेकी छन् ।

उनले स्पष्ट पार्दै भनिन, ‘म अहिले राजनीतिमा आउँदिन । तर यसको अर्थ म राजनीति बुझ्दिनँ वा भिजन छैन भन्ने होइन ।’ समानुपातिक सूचीमा बसेर पद ओगट्ने सोच नरहेको उल्लेख गर्दै उनले आफ्नो नाम फिर्ता लिइसकेको जानकारी दिएकी छन्, यात्रामा रहेकाले सार्वजनिक जानकारी दिन ढिलाइ भएको पनि उनले स्वीकारेकी छन् । वलीले पर्यटनलाई नेपालको अर्थतन्त्र सुदृढ गर्ने मुख्य आधारको रूपमा व्याख्या गर्दै, भविष्यमा पनि राजनीति बाहिरै रहेर पर्यटन र ग्रामीण विकासका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

 

रास्वपा सचिवालय वैठक बस्दै, यस्ता छन् छलफलका १० कार्यसूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आज (मंगलबार) बस्दै छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठक दिउँसो २ बजे सुरु हुने छ र यसमा १० वटा महत्वपूर्ण कार्यसूचीमा छलफल हुने तय छ । बैठकको मुख्य एजेण्डामध्ये प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मितिको घोषणा प्रमुख छ । यसअघि रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन मागिसकेको छ । बैठकले त्यसका लागि आवेदन दिने मिति तय गर्नेछ ।

त्यस्तै, बैठकले दुई उपसमितिको विस्तार र पुनर्संरचना गर्ने विषयमा छलफल गर्नेछ । उम्मेदवार सिफारिस उपसमितिको संयोजक डा. स्वर्णिम वाग्ले र पार्टी समायोजन उपसमितिको संयोजक महामन्त्री कविन्द्र बुर्लाकोटी रहेका छन् । पार्टीको केन्द्रीय समिति विस्तारको मुद्दा पनि बैठकको एजेन्डामा रहेको छ । गत आइतबार बसेको केन्द्रीय समिति बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समूहबाट २६ जना र विवेकशील साझा पार्टीबाट ७ जनालाई समितिमा मनोनीत गरिएको थियो । आजको बैठकले यसलाई थप सुदृढ पार्ने सम्भावना रहेको छ ।

यसैगरी, बैठकमा निर्वाचन परिचालन समिति गठन गर्ने, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि तय गर्ने, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि निर्माण गर्ने जस्ता विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ । साथै, प्रदेश र जिल्ला स्तरमा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय तहमा उम्मेदवार क्लब गठन गर्नेबारे पनि छलफल हुनेछ । रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक संरचना र उम्मेदवारी प्रक्रियालाई मजबुत बनाउने रणनीति आजको बैठकमा अघि बढाउनेछ ।

थरुहट–थारुवान अभियन्ता र रास्वपाबीचको नौं बुँदै सम्झौतामा के छ (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग नौं बुँदे सहमति भएको छ । थरुहट थारूवान अभियन्ता र रास्वपाबीच नौं बुँदे सहमति भएर आज रास्वपामा समाहित भएका हुन् । उनीहरुलाई सभापति रवि लामिछाने, उपभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेसहित शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन्।

रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभा (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत राजनीतिक समायोजन घोषणा सभा सुरू भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम सुरू भएको हो । आज नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट–थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुन लागेको हो । घोषणा सभामा सहभागी हुन नेता कार्यकर्ताहरू उपस्थित भएका छन् ।
हेर्नुस् तस्वीरहरू

रास्वपा समानुपातिक बन्दसूचीबाट बाहिरिए डा. पाँडे, नाम फिर्ता लिनेको संख्या ६ पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिने क्रम जारी रहेको छ । यसै क्रममा डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै डा. पाँडेले बन्दसूचीमा रहिरहनुको औचित्य नदेखिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो निर्णय सार्वजनिक गरेका हुन् ।

पाँडेका अनुसार, अघिल्लो राति सम्पन्न केन्द्रीय समितिको बैठकमा नै उनले आफ्नो नाम सूचीबाट हटाउन नेतृत्वलाई जानकारी गराइसकेका थिए । ‘पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहनुको औचित्य नदेखी मैले बैठकमा साथीहरूलाई नाम हटाउने निर्णय सुनाएँ,’ उनले उल्लेख गरेका छन् ।

डा. पाँडेको यो घोषणासँगै रास्वपाको समानुपातिक सूचीबाट हट्नेहरूको संख्या आधा दर्जन पुगेको छ । यसअघि नै चर्चित अनुहारहरू आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, सञ्चारकर्मी तथा अभिनेता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारीबाट अलग हुने घोषणा गरिसकेका छन् ।

रास्वपाको आज वृहत्तर एकता घोषणा सभा

काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज (सोमबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत्तर एकता घोषणा सभा गर्दैछ ।

रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको थियो । पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

आइतबार बसेको बैठकले पार्टीमा आएकाहरुको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) रास्वपाको वरिष्ठ नेता बनेका छन् । यसअघि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँको मेयर बनेका उनी अब दलीय राजनीतिमा सहभागी भएका छन् । बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै स्वागत गरेका थिए ।

रास्वपा प्रवक्ता झाका अनुसार, केन्द्रीय समिति बैठकले बालेनसँगै २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउने छन् । रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो । त्यही सहमतिका आधारमा आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समायोजन गरेको हो ।

रास्वपाले थप्यो चार पदाधिकारी, महामन्त्रीमा बालेन–कुलमान पक्षको ‘रस्साकस्सी’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संरचना विस्तार गर्दै चार पदाधिकारी थप्ने निर्णय गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता पद थप्ने निर्णय गरेको हो ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ सँग एकताको सहमतिपछि पदीय समायोजन आवश्यक परेकाले पदाधिकारी संख्या बढाइएको पार्टीले जनाएको छ । यस निर्णयसँगै रास्वपामा अब पदाधिकारी संख्या कम्तीमा १४ पुगेको छ ।

यसअघि रास्वपामा सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहप्रवक्ता गरी १० पदाधिकारी थिए । नयाँ निर्णयअनुसार अब एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थपिनेछ ।

बैठकपछि कुलमान घिसिङ उपसभापतिमा मनोनीत भइसकेका छन् भने बाँकी पदका लागि आन्तरिक छलफल जारी छ । विशेष गरी महामन्त्री पदलाई लिएर बालेनको टिम र उज्यालो नेपालबीच दाबी देखिएको छ । स्रोतका अनुसार कुलमानसँग एकता हुनुअघि नै बालेनको टिमलाई महामन्त्री दिने अनौपचारिक समझदारी भएको थियो । तर, उज्यालो नेपालले पनि उक्त पदमा दाबी गरेपछि सहमति टुंगिन सकेको छैन ।

पार्टीभित्रको छलफलअनुसार महामन्त्री बालेनकै टिमबाट हुने सम्भावना बलियो देखिएको छ । सभापति रवि लामिछानेले उज्यालो नेपाललाई एक उपसभापति, एक सहमहामन्त्री र एक सहप्रवक्ता दिने प्रस्ताव अघि सारेको बताइन्छ । यदि उज्यालो नेपालको भागमा महामन्त्री परे जितराम लामाको नाम चर्चामा रहेको छ ।

रास्वपामा सभापतिपछिको सबैभन्दा प्रभावशाली पद महामन्त्री मानिन्छ । पार्टी संगठन परिचालन र दैनिक व्यवस्थापनमा महामन्त्रीको भूमिका केन्द्रीय हुने गर्छ । डा. मुकुल ढकाल निष्काशित भएपछि कविन्द्र बुर्लाकोटी एकल महामन्त्रीका रूपमा कार्यरत छन्। अब भने पदाधिकारी विस्तारसँगै उनले आफ्नो जिम्मेवारी र अधिकार अर्को महामन्त्रीसँग बाँड्नु पर्ने अवस्था बनेको छ । पदाधिकारी बाँडफाँटको अन्तिम टुंगो भने आगामी छलफलपछि मात्रै लाग्ने पार्टी स्रोतले जनाएको छ ।

 

 

उम्मेदवार छनोट गर्न रास्वपाले बनायो स्वर्णिमको नेतृत्वमा उपसमिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाएको छ । यसै क्रममा पार्टीले उम्मेदवार छनोट तथा पार्टी एकता–समायोजनसँग सम्बन्धित दुई महत्वपूर्ण उपसमिति गठन गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार छनोट सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार उक्त उपसमितिलाई आगामी निर्वाचनका लागि योग्य उम्मेदवारको पहिचान गर्ने र उम्मेदवार छनोटको प्रक्रिया तय गरी केन्द्रीय समितिमा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उम्मेदवार छनोट उपसमितिमा संयोजकसहित सात जना सदस्य रहने छन् । उपसमितिका अन्य सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । पार्टीले पारदर्शी, मापदण्डमा आधारित र क्षमतावान उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत गर्न यो समिति गठन गरिएको जनाएको छ ।

त्यसैगरी बैठकले पार्टी एकता तथा समायोजनसम्बन्धी कार्यलाई सहजीकरण गरी निष्कर्षमा पुर्‍याउने उद्देश्यले अर्को उपसमिति पनि गठन गरेको छ । उक्त उपसमितिको संयोजकत्व पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिइएको छ । यो उपसमितिले पार्टीभित्रको एकता, समायोजन र संगठनात्मक व्यवस्थापनका विषयमा आवश्यक पहल गर्नेछ । रास्वपाले यी दुई उपसमिति गठनसँगै निर्वाचन केन्द्रित रणनीति र आन्तरिक संगठन सुदृढीकरणलाई एकसाथ अघि बढाउने संकेत दिएको छ । पार्टी नेतृत्वले यी निर्णयले आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ ।

 

 

विवेकशील साझाबाट आएका सात जना रास्वपा केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझाबाट आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। बैठकले पार्टी समायोजन पछि आज सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाले जनाएको छ । मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना छन् । केही समय अघि विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको थियो ।

समायोजन समिति गठन
रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रियालाई टुंगो लगाउन एकता समायोजन समिति गठन गरेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा शनिबार एकता समायोजन समिति गठन गरिएको एक नेताले जानकारी दिएका छन् । सात सदस्यीय समितिमा बालेनको समूहबाट दुई, उज्यालो नेपालबाट दुई र रास्वपाबाट दुई सदस्य रहने सहमति भएको उनले बताए ।

यसअघि पुस १३ मा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच एकता गर्ने सहमतिमा हस्ताक्षर भएको थियो। त्यसको भोलिपल्ट रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमतिमा हस्ताक्षर भएको थियो । बालेन समूह र उज्यालो पार्टीबीच सहमति भए पनि समायोजन हुन बाँकी छ । महामन्त्री बुर्लाकोटीको नेतृत्वमा बनेको समितिले समायोजन प्रक्रिया टुंगो लगाउनेछ । आज बस्ने रास्वपा केन्द्रीय समितिको बैठकले एकता समायोजन समितिलाई अनुमोदन गर्ने जनाइएको छ ।

 

 

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (सोमबार) बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ । रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा कार्यक्रम आयोजना गर्ने भएको हो।

उक्त सभामार्फत विभिन्न शक्ति र समूहबीचको एकता प्रक्रियालाई औपचारिक रूपमा टुंग्याइने जनाइएको छ । आजै नागरिक उन्मुक्ति पार्टीबाट सामूहिक राजीनामा दिएका नाउपा रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले पनि भोलि नैरास्वपा प्रवेश गर्दै छन्।

एकता घोषणासभामा पार्टीका शीर्ष नेता, जनप्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । भोलि हुने घोषणासभाबाट सो एकता प्रक्रियाले पूर्णता पाउने र आगामी दिनमा पार्टीको राजनीतिक कार्यदिशा तथा रणनीतिबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो पटक सचिवालय बैठकमा रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । सभापति रवि लामिछानेको सभापतित्वमा बसेको यो बैठक उनले पुनः सभापतिको जिम्मेवारी सम्हालेपछि आयोजना गरिएको पहिलो सचिवालय बैठक हो ।

पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठकमा मुख्यतः पार्टी समायोजन प्रक्रिया र आगामी निर्वाचन प्रक्रिया सम्बन्धी विषयमा छलफल भइरहेको छ । पछिल्लो समय रास्वपाले संगठन विस्तार र आन्तरिक संरचना सुदृढीकरणलाई प्राथमिकतामा राखेकाले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

यसै बैठकमा नेपाल उज्यालो पार्टीसँग भएको एकता सहमति र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगको सहकार्यसम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ । यी विषयले पार्टीको आगामी राजनीतिक दिशा र रणनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सभापति लामिछाने पुस ४ गते उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा भएका थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनी कारागारबाट छुटेका हुन् । सुरुमा उनलाई रुपन्देही कारागारमा राखिएको भए पनि पछि आफ्नै अनुरोधमा ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको थियो। बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् । लामिछानेको पुनः सक्रियतासँगै पार्टीभित्र संगठनात्मक निर्णय र राजनीतिक गतिविधि थप गतिशील हुने संकेत देखिएको छ । आजको सचिवालय बैठकलाई त्यसैको प्रारम्भिक कदमका रूपमा लिइएको छ ।

 

रास्वपा बैठकमा सागर ढकालदेखि सुदन गुरुङसम्म, बालेन–कुलमान के गर्लान् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर वनस्थली पुगिरहेका छन् । सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् । बालेन शाह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो ।

यसैबीच रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकतालगत्तै उत्पन्न भएको असमझदारी समाधानउन्मुख भएको दावी गरिएको छ । रास्वपा सभापति रवि लामिछाने, उपसभापति कुलमान घिसिङ र वरिष्ठ नेता बालेन्द्र साहबीचको छलफल तथा तीनै पक्षका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलको बैठकबाट विवाद समाधानको सूत्र पहिल्याइएको हो ।

हतारमा गरिएको एकतापश्चात समानुपातिकको बन्दसूचीदेखि प्रत्यक्ष निर्वाचन र केन्द्रीय कमिटीमा पाउने हिस्सा लगायतका विषयमा कुलमान असन्तुष्ट बनेका थिए । विवाद समाधानका लागि हिजो रवि, बालेन र कुलमानबीच भएको छलफल सकारात्मक भएको बुझिएको छ । रास्वपा र उज्यालो नेपाल दुवैतर्फका स्रोतहरूले यसको पुष्टि गरेका छन् ।

आज रास्वपाको सचिवालय बैठक र त्यसपछि केन्द्रीय समिति बैठकमा कार्यदलले जुटाएको सहमतिबारे छलफल हुनेछ । आजको बैठकमा बालेन र कुलमान भने सहभागी हुने छैनन् । स्रोतले भन्यो, ‘सुरूमा सचिवालय र त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर समायोजनको मोडालिटीलाई टुंग्याउँछौं । त्यसपछि सम्भव भयो भने आजै बालेन र कुलमानसहितको बैठक बस्ने योजना छ । आज भ्याइएन भने पनि अर्को बैठकमा उहाँहरू दुवै जना बस्नु हुन्छ ।’ एकताको सहमति भइसके पनि बालेन र कुलमानलाई औपचारिक कार्यक्रम गरेर पार्टीमा स्वागत गरिएको छैन । दुवै नेताहरू अहिलेसम्म रास्वपा कार्यालय गएका छैनन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

रास्वपा केन्द्रीय समितिकाे बैठक बस्दै, के–के छन् एजण्डा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्ने भएको छ । बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा सभापति रवि लामिछानेले ‘ब्रिफिङ’ गर्ने बताइएको छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बैठक आह्वान भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । पार्टी समायोजन, विस्तार एवम् सुदृढीकरण सम्बन्धसहित विविध विषयमा रास्वपाले छलफल गरेर धारणा बनाउनु पर्ने भएकाले केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देश भएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएको थियो । त्यसयता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।