`

मन्त्री बन्न नपाएकी टासीलाई उम्मेदवार बन्न ‘ब्वाइफ्रेण्ड’ बाधक !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार बन्दसूचीबाट टासी ल्हाजोमको नाम हटाइएको विषयले राजनीतिक वृत्तमा विवाद चर्किएको छ । आदिवासी जनजाति महिला क्लस्टरतर्फ पहिलो नम्बरमा रहेकी ल्हाजोमको नाम हटाइएकोबारे निर्वाचन आयोग स्रोतले निवेदन परेको पुष्टि गरे पनि पार्टीले औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।

स्वयं टासी ल्हाजोमले भने आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले पार्टी नेतृत्वले आफूसँग कुनै छलफल नगरी नाम हटाइएको दाबी गरेकी छन् । ‘मैले नाम फिर्ता लिएको छैन, न त फिर्ता लिने प्रक्रियामा सहभागी नै भएकी छु’, उनले लेखेकी छन् ।

ल्हाजोममाथि तिब्बतसम्बन्धी गतिविधिसँग जोडिएको, ‘फ्रि तिब्बत’ अभियानमा संलग्न भएको तथा तिब्बती प्रेमीसँग सम्बन्ध रहेको जस्ता आरोपहरू सार्वजनिक भएपछि पार्टीले नाम हटाएको दाबी रास्वपा स्रोतहरूले गरेका छन् । तर ती सबै आरोपको उनले कडा खण्डन गरेकी छन् । ‘म तिब्बती नागरिक होइन, फ्रि तिब्बतसम्बन्धी कुनै गतिविधिमा संलग्न छैन र मेरो प्रेमी पनि तिब्बती होइन’, उनले स्पष्ट पारेकी छन् । उच्च शिक्षा भारत र अमेरिकामा हासिल गरेकी तथा आफूलाई ‘जेनजी अभियन्ता’ भनेर चिनाउने ल्हाजोम यसअघि मन्त्री बन्ने चर्चामा रहे पनि अन्तिम समयमा उनको नाम काटिएको थियो । अहिले फेरि समानुपातिक सूचीबाट हटाइएपछि उनले यो निर्णयलाई राजनीतिक र व्यक्तिगत चरित्रहत्या प्रयासका रूपमा लिएको संकेत गरेकी छन् ।

उनले आफूविरुद्ध लगाइएका आरोपहरू यदि सत्य भए प्रमाण सार्वजनिक गर्न खुला चुनौती दिएकी छन् । ‘जो–कोहीसँग म वा मेरो गतिविधि तिब्बतसँग जोडिएको प्रमाण छ भने सार्वजनिक गरियोस्’, उनको भनाइ छ । साथै सार्वभौम देशको नागरिकको हैसियतमा आफूलाई संविधानले दिएको चुनाव लड्ने अधिकार कसैले खोस्न नसक्ने बताउँदै, अधिकार हनन भए कानुनी बाटो अपनाउने चेतावनी पनि दिएकी छन् । यस विषयमा रास्वपाका प्रवक्ता मनिष झाले भने टासीले पार्टी नेतृत्वसँग छलफल गरेरै नाम फिर्ता लिएको दाबी गरेका छन् । ‘उहाँले तत्काल सांसद नबन्ने, समुदायका लागि अन्य क्षेत्रबाट काम गर्ने बताउनु भएको हो’, उनको भनाइ छ ।

तर ल्हाजोमले उक्त दाबी अस्वीकार गर्दै आफूलाई नेतृत्वबाट कुनै जानकारी वा परामर्श नआएको बताइन् । उनले यसबारे उपसभापति डिपी अर्यालसँग सोध्न आग्रह गरेकी छन् । यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले ल्हाजोम तिब्बती शरणार्थी भएको दाबी गर्दै नागरिकतामाथि प्रश्न उठाएका थिए भने जेनजी कर्णालीकी अध्यक्ष सुप्रिया शाहीले उनलाई फ्रि तिब्बत अभियानसँग जोड्दै छानबिनको माग गरेकी थिइन् । निर्वाचन कानुनअनुसार उम्मेदवारले स्वयं लिखित रूपमा नाम फिर्ता नलिएसम्म बन्दसूचीबाट हटाउन नमिल्ने व्यवस्था छ । यही कानुनी प्रावधानलाई आधार मानेर टासी ल्हाजोमले आफ्नो नाम हटाइएको प्रक्रिया नै शंकास्पद भएको दाबी गर्दै सार्वजनिक बहस र कानुनी लडाइँको संकेत गरेकी छन् ।

भावी प्रधानमन्त्रीको दौडमा बालेन, मधेशबाट रास्वपाको राष्ट्रिय अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याउने तयारी गरेको छ । पार्टीभित्रको नीतिगत संवाद, संगठन विस्तार र चुनावी रणनीतिलाई एकै सूत्रमा बाँध्दै रास्वपाले मधेशबाटै नयाँ राजनीतिक अभियानको औपचारिक शंखघोष गर्ने भएको छ ।

रास्वपाका प्रभावशाली नेता डा. स्वर्णिम वाग्ले र मेयर बालेनबीच हालै सघन संवाद भएको छ । बिहीबार बिहान बालेनसँगको तस्वीर सार्वजनिक गर्दै वाग्लेले यसलाई ‘नीतिगत स्पष्टताको चरण’ भनेका छन् । उनका अनुसार आर्थिक सुधार, रोजगारी सिर्जना, राजस्व–खर्च व्यवस्थापन, आधुनिक पूर्वाधार र काठमाडौं महानगरमा प्रयोग भएको ‘डेलिभरी मोडल’ लाई राष्ट्रिय एजेण्डाका रूपमा स्थापित गर्ने विषयमा चरणबद्ध छलफल भइरहेको छ । यही सन्दर्भमा बालेनलाई आगामी सरकारको ‘प्रस्तावित प्रधानमन्त्री’ का रूपमा अघि सार्ने तयारी पार्टीले गरेको संकेत वाग्लेले दिएका छन् ।

यसै रणनीतिअन्तर्गत रास्वपाको शीर्ष नेतृत्व आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्दैछ । सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्लेसहितको टोलीले उक्त दिनदेखि ‘देश जोड्ने र बनाउने महाअभियान’ सुरु गर्ने जनाएको छ । वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास २१ फागुनको निर्वाचनबाट ।’ मधेश यात्रालाई केवल सांगठनिक भ्रमण नभई नयाँ राष्ट्रिय सोचको बीजारोपणका रूपमा रास्वपाले व्याख्या गरेको छ । पार्टीका अनुसार मधेशको माटोबाटै राष्ट्रिय एकता, विकास र सुशासनको नयाँ कथा लेख्ने लक्ष्य राखिएको छ ।

यसबीच, राजनीतिक वृत्तमा थप चासोको विषय बनेको छ—बालेनको प्रत्यक्ष चुनावी मैदानमा प्रवेश । रास्वपामा औपचारिक रूपमा आबद्ध भइसकेका बालेनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिने तयारी गरेका छन् । ५ माघबाटै उनको चुनाव केन्द्रीत यात्रा सुरु हुने र पहिलो सार्वजनिक कार्यक्रम जनकपुरधाममै हुने तय भएको छ । यो कार्यक्रम बालेन र रवि लामिछाने पहिलो पटक एउटै मञ्चमा देखिने अवसरसमेत हुनेछ ।

रास्वपाले बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको बताइन्छ, यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ । जनकपुरको कार्यक्रमपछि बालेन झापा जाने र रवि लामिछाने चितवन झर्ने कार्यतालिका बनाइएको छ । माघ ६ गते प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता भएपछि दुवै नेताहरू देशव्यापी दौडाहामा निस्किने पार्टीको योजना छ । मधेशमा प्रभाव पार्ने रणनीतिअन्तर्गत रास्वपाले बालेनलाई ‘मधेश पुत्र’ का रूपमा ब्रान्डिङ गर्न थालेको छ ।

मधेशका विभिन्न स्थानमा ‘अबकी बार–बालेन सरकार’ लेखिएका पोस्टर देखिन थालेका छन् । बालेनको पुख्र्यौली थलो महोत्तरी जिल्ला (एकडारा गाउँपालिका) पर्नु र उनलाई ‘सम्भावित पहिलो मधेशी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गर्नुले मधेशी जनमतमा गहिरो प्रभाव पार्ने विश्लेषण भइरहेको छ । यद्यपि उनको जन्म काठमाडौंको नरदेवीमा भएको हो र उनी हाल काठमाडौंका स्थायी बासिन्दा हुन् । समग्रमा, रास्वपाले मधेशबाटै चुनावी अभियान सुरु गर्दै बालेनलाई विकास, सुशासन र नयाँ राजनीतिक संस्कृतिको प्रतीकका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ । मधेश यात्रा केवल क्षेत्रीय भ्रमण नभई राष्ट्रिय सत्ता राजनीतिमा नयाँ अध्यायको सुरुवात बन्ने संकेत रास्वपाले स्पष्ट रूपमा दिएको छ ।

 

 

 

रास्वपा सहमहामन्त्री आचार्य समानुपातिक सूचीबाट बाहिरिए, अब प्रत्यक्ष चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। पुस १३ गते रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम खस÷आर्य समूहतर्फ पहिलो नम्बरमा थिए । तर, आफै समानुपातिक उम्मेदवार खोज्ने समितिमा रहेर आफै पहिलो नम्बरमा बसेको भन्दै उनको चर्को आलोचना भएको थियो ।

निर्वाचन आयोगले समानुपातिक सूची सच्याउन दिएको आज अन्तिम दिनमा उनले नाम फिर्ता लिएका हुन् । आचार्यले पार्टी सभापति रवि लामिछानेसँग परामर्श गरेर नाम फिर्ता लिएका हुन् । उनले अब प्रत्यक्ष चुनाव लड्ने बताएका छन् । ‘समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउँदैछु,’ आचार्यले फेसबुकमा लेखेका छन्, ‘साथ र सहयोगको अपेक्षा गर्दछु ।’ उनी दाङका हुन् । दाङमा ३ वटा निर्वाचन क्षेत्र छन् । अब तीमध्ये कुनै एक क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने छन् ।

एकता भङ्गपछि रास्वपाले सच्यायो समानुपातिक बन्दसूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बुझाएको बन्दसूची पुनः अध्यावधिक गरेको छ । उज्यालो नेपाल पार्टीसँग भएको एकता औपचारिक रूपमा भङ्ग भएपछि रास्वपाले आइतबार निर्वाचन आयोग पुगेर संशोधित सूची दर्ता गराएको हो । रास्वपाका प्रवक्ता मनीष झाले उज्यालो नेपालसँगको एकता शनिबार साँझ अन्त्य भएपछि आसन्न निर्वाचनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरिएको जानकारी दिए। यसअघि एकताको सहमतिअनुसार दुवै दलले संयुक्त रूपमा समानुपातिक बन्दसूची बुझाएका थिए ।

एकता भंग भएसँगै उज्यालो नेपाल पार्टीका अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् । तर, अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टी समानुपातिकतर्फ सहभागी नहुने भएको छ । एकता कायम रहँदा उज्यालो नेपालका तर्फबाट पनि रास्वपाकै नाममा सूची बुझाइएको थियो । यसैबीच, रास्वपाले यसअघि बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर पार्टीभित्र र बाहिर व्यापक आलोचना भएको थियो ।

आलोचनापछि सूचीमा समेटिएका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु) र मोहना अन्सारीलगायतले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए । उज्यालो नेपालबाट समावेश गरिएका तथा नाम फिर्ता लिएका नेताहरूको स्थानमा नयाँ नाम समेटेर रास्वपाले समानुपातिक बन्दसूची पुनः संशोधन गरेको हो । पार्टीका अनुसार अद्यावधिक सूची निर्वाचन आयोगको नियम र समयसीमाअनुसार दर्ता भइसकेको छ । एकता भङ्ग र बन्दसूची संशोधनको यो घटनाले निर्वाचनको तयारीमा रहेका दलहरूको आन्तरिक व्यवस्थापन र रणनीतिमा प्रभाव पार्ने देखिएको छ ।

 

उज्यालो नेपालको आकस्मिक बैठक बस्दै, रास्वपासँग छुट्टिएर अध्यक्ष बन्दै कुलमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भंग भएपछि उज्यालो नेपाल पार्टीमा ठूलो राजनीतिक मोड आएको छ । सहमति अगाडि बढ्न नसकेपछि पार्टीका संरक्षक कुलमान घिसिङले अब नेतृत्व आफैं सम्हाल्ने तयारी गरेका छन् र उनी उज्यालो नेपालको अध्यक्ष बन्ने भएका छन् ।

रास्वपासँग भएका छलफलहरू निष्कर्षमा नपुगेपछि उज्यालो नेपालले शनिबार आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक दिउँसो ४ः३० बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बस्नेछ । बैठकपछि साँझ ६ बजे सोही स्थानमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको छ, जहाँ एकता भंग हुनुका कारण र आगामी राजनीतिक बाटोबारे औपचारिक धारणा सार्वजनिक गरिनेछ ।

उज्यालो नेपालका तर्फबाट अघि सारिएका केही राजनीतिक र संगठनात्मक मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता प्रक्रिया टुटेको घोषणा गरिसकेको छ । पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेकै कारण सहकार्य निरन्तरता दिन नसकिने निष्कर्षमा कुलमान घिसिङ पुगेका हुन् । यसैबीच, उज्यालो नेपालसँगको सहकार्य अगाडि नबढ्ने भएपछि त्यसबारे छलफल गर्न रास्वपाको आकस्मिक सचिवालय बैठक पनि अहिले जुममार्फत जारी छ ।

रास्वपा र उज्यालो नेपालबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो, तर त्यसलाई व्यवहारमा उतार्ने क्रममा देखिएका मतभेदले अन्ततः एकता प्रक्रिया टुटेको हो ।
एकता भंगसँगै उज्यालो नेपालले अब स्वतन्त्र राजनीतिक यात्राको संकेत दिएको छ । आजको केन्द्रीय समिति बैठक र त्यसपछि हुने पत्रकार सम्मेलनले कुलमान घिसिङको औपचारिक नेतृत्व घोषणा र पार्टीको आगामी रणनीतिबारे स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

उज्यालो नेपालसँग सहकार्य टुंगिएको रास्वपाको निष्कर्ष, बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको सहकार्य सम्भावना अन्त्य भएको निष्कर्षमा रास्वपा पुगेको छ । उज्यालो नेपालका तर्फबाट अघि सारिएका राजनीतिक र संगठनात्मक मागहरू स्वीकार्य नहुने ठहर गर्दै रास्वपाले सहकार्यलाई औपचारिक रूपमा टुंग्याउने तयारी गरेको हो ।

रास्वपा नेतृत्वका अनुसार उज्यालो नेपालले लोकतान्त्रिक सिद्धान्तमै पुनर्विचार गरी नयाँ राजनीतिक सिद्धान्त निर्माण गर्नुपर्ने प्रस्ताव राखेको थियो । तर, व्यवस्था र संविधानप्रति विमति नरहेको स्पष्ट धारणा राख्दै आएको रास्वपाले उक्त मागमा सहमति जनाउन नसकेको प्रवक्ता मनिष झाले बताए । उनले भने, ‘अवस्था परिवर्तन गर्ने हाम्रो अभियान हो । व्यवस्था र संविधानप्रति हाम्रो असहमति छैन भन्ने स्पष्ट धारणा राख्दा कुरा मिलेन ।’

वार्ताका क्रममा संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाबारे पनि उज्यालो नेपालले फरक धारणा अघि सारेको रास्वपा नेताहरूको भनाइ छ । यसका साथै संगठनात्मक भागबन्डामा पनि सहमति हुन सकेन । उज्यालो नेपालले हालका पदाधिकारीबाहेक थप तीन पद, वरिष्ठ उपसभापति कुलमान घिसिङलाई दिने, साथै एक नयाँ महामन्त्री पद सिर्जना गरी त्यसलाई उज्यालो नेपालको भागमा पार्नुपर्ने शर्त राखेको बताइएको छ ।

रास्वपाका एक नेताले भने, ‘यस्ता शर्तहरूमा हामी सहमत हुन सकेनौं ।’ त्यसैगरी, आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीका लागि सिट तोकेरै जानुपर्ने उज्यालो नेपालको माग र भविष्यमा सरकार गठन भएपछिका राज्यका अवसरहरूबारे अहिले नै भागबण्डा गर्नुपर्ने धारणा पनि रास्वपाले अस्वीकार गरेको छ ।

एक पदाधिकारीका अनुसार रास्वपाको तर्क निर्वाचन र तत्कालीन उपलब्धिमा मात्र छलफल सीमित नगरौँ, यो देश बदल्ने दीर्घकालीन अभियान हो भन्ने रहेको छ । ‘रास्वपा र उज्यालो नेपालबीचको सहकार्य औपचारिक रूपमा टुंगिएको घोषणा मात्र बाँकी छ’, उनले भने ।

यसैबीच, सहकार्यको सम्भावना सकिएको उज्यालो नेपालका संरक्षक कुलमान घिसिङको अभिव्यक्तिपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले आज दिउँसो ३ः१५ बजेबाट सुरु हुने गरी भर्चुअल बैठक आह्वान गरेका हुन् ।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टी एकता, समायोजन प्रक्रिया, उज्यालो नेपालसँगको सहकार्य टुट्नुका कारण र आगामी राजनीतिक रणनीतिबारे छलफल हुनेछ । रास्वपा र उज्यालो नेपालबीच यसअघि पुस १४ गते ७ बुँदे सहमति भएको थियो । तर, राजनीतिक विचार र पदीय भागबण्डामा सहमति नजुट्दा सहकार्य अन्त्यतर्फ पुगेको निष्कर्ष निकालिएको छ ।

मिलिनसक्दै छुटिने तयारीमा रवि–कुलमान

काठमाडौं । औपचारिक घोषणा हुनै नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया गम्भीर संकटमा परेको छ । पद बाँडफाँट, वरीयता र संघीयता–धर्मनिरपेक्षता जस्ता संवेदनशील सैद्धान्तिक मुद्दामा सहमति नजुट्दा दुई पक्षबीचको दूरी झनै बढ्दै गएको छ ।

एकताको अन्तिम चरणमा आइपुग्दा रास्वपाले पूर्व सहमति पालना नगरेको आरोप उज्यालो नेपाल पक्षले लगाएको छ । रास्वपा नेतृत्वबाट ‘ठूलो दलको दम्भ’ देखिएको, आफ्ना नेता–कार्यकर्तामाथि अपमानजनक व्यवहार भएको निष्कर्षसहित उज्यालो नेपालका नेताहरूले एकता प्रक्रियामै पुनर्विचार गर्न दबाब बढाएका छन् ।

स्रोतका अनुसार, प्रारम्भिक समझदारीमा उज्यालो नेपाललाई प्रत्यक्षतर्फ ३० प्रतिशत उम्मेदवारी, केन्द्रीय समितिमा २६ सदस्य र समानुपातिकतर्फ १८ सिट दिने सहमति भएको थियो । तर, अन्तिम समयमा समानुपातिक सिट १४ मा झारिनुका साथै सांसद बन्ने निश्चित मानिएका ६ जनाको क्लस्टर नै हटाइएपछि विवाद चर्किएको हो ।

निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको उज्यालो नेपाललाई एकीकरणका नाममा ९४ सदस्यीय बनाइए पनि, अधिकांश केन्द्रीय सदस्यहरूले यस्तो अवस्थामा पार्टीको साख जोगाउन गाह्रो हुने भन्दै यथास्थितिमा एकता अस्वीकार्य भएको बताएका छन् । शुक्रबार काठमाडौंको बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछाने व्यक्तिगत रूपमा लचिलो देखिए पनि उनको सचिवालय र ‘कोर टिम’ सहमति कार्यान्वयनमा बाधक बनेको बताएका थिए ।

त्यसअघि रविसँग भएको प्रत्यक्ष भेटवार्तामा कुलमानले वरीयता, केन्द्रीय समितिमा २६ सदस्य र समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद बन्ने सुनिश्चितता माग गरेका थिए । तर, रविले २१ केन्द्रीय सदस्यसम्म दिन तयार भए पनि समानुपातिक सांसद सुनिश्चित गर्न नसकिने जवाफ दिएपछि कुलमान थप असन्तुष्ट बनेका छन् ।

उज्यालो नेपालका नेताहरूका अनुसार, यही असन्तुष्टिले कुलमानलाई वैकल्पिक रणनीति अर्थात् ‘प्लान बी’ तर्फ धकेलेको छ । उक्त योजनाअनुसार कुलमानले उज्यालो नेपाल पार्टीबाटै प्रत्यक्ष चुनाव लड्ने र समानुपातिक मतका लागि अर्कै चिह्न भएको दलसँग मोर्चाबन्दी वा सहकार्य गर्ने तयारी गरेका छन् । समानुपातिक सूची बुझाइसकेका पाँच–छ वटा पार्टी कुलमानसँग सम्पर्कमा रहेको दाबी पनि उनी निकट नेताहरूले गरेका छन् ।

यद्यपि, उज्यालो नेपालका केही दोस्रो तहका नेताहरू भने अझै पनि असमझदारी हटाएर रास्वपासँगको एकता जोगाउने अन्तिम प्रयासमा छन् । उनीहरूको भनाइमा, एक पटक हस्ताक्षर भइसकेको सहमतिपछि ‘आए आऊ, नआए नआऊ’ भन्ने शैलीले पार्टी–पार्टीबीचको सम्मानमा चोट पुगेको छ ।

उज्यालो पार्टीभित्रै केही नेताहरूले भने अहिलेको विवादमा तीनै पक्ष–रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाह-सबैको भूमिका प्रश्नयोग्य रहेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार, व्यक्ति केन्द्रित करिज्मामा बढी भरोसा गर्दा संस्थागत राजनीति र सहमतिको मूल्य ओझेलमा परेको छ ।

दुई साता नपुग्दै एकता प्रक्रिया लगभग ठप्प अवस्थामा पुगेको छ । नयाँ ठोस समझदारी नभए कुलमान घिसिङ रास्वपाबाट अलग भएर उज्यालो नेपाल पार्टीलाई आफ्नै नेतृत्वमा अघि बढाउने लगभग निश्चित जस्तै देखिएको छ । तर, अन्तिम क्षणसम्म पनि केही नेताहरू ‘मिल्ने सानो झ्याल’ खुला राखेर वार्ता जारी राख्नुपर्ने पक्षमा छन् ।

रास्वपा–उज्यालो नेपाल एकता ‘संकट’ मा, ‘नयाँ विकल्प’ को खोजीमा हुन् कुलमान ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते भएको एकता १२ दिन नपुग्दै संकटमा परेको छ । समानुपातिक बन्दसूची सच्च्याउने निर्वाचन आयोगको अन्तिम म्याद नजिकिँदै गर्दा उज्यालो नेपाल पार्टी रास्वपासँगको सहकार्य तोडेर नयाँ राजनीतिक विकल्पतर्फ जाने तयारीमा देखिएको छ । एकतापछि बनेको संरचनामा रास्वपा, रवि लामिछाने र कुलमान घिसिङ पक्ष अत्यधिक हाबी भएको निष्कर्ष निकाल्दै उज्यालो नेपाल पार्टी अलग्गिने मनस्थितिमा पुगेको स्रोतहरूको भनाइ छ । उज्यालो नेपालका अवधारणाकार कुलमान घिसिङले पार्टीभित्र ब्रिफिङ गर्दै रास्वपासँग छुट्टिएर फरक ढंगले अगाडि बढ्ने संकेत दिएका छन् ।

रास्वपासँगको सहमतिअनुसार समानुपातिकतर्फ उज्यालो नेपालका १८ जनाको नाम समावेश गर्ने भनिए पनि व्यवहारमा दलित महिला कोटाबाट रिमा विश्वकर्माबाहेक अन्य नेताको सांसद बन्ने सम्भावना न्यून रहेको उज्यालो नेताहरूको मूल्याङ्कन छ । यही कारण एकताबाट पार्टीको पहिचान नै हराएको अनुभूति उज्यालो नेपालमा बढ्दै गएको छ । ‘आज रातिसम्म सहमति नबने नयाँ ढंगले अगाडि बढ्छौं,’ उज्यालो नेपालका एक केन्द्रीय सदस्यले सुनाए । पार्टी नेता जीतराम वाइबाले पनि सहमति हुने–नहुने दुवै सम्भावना बराबर रहेको भन्दै सम्मानजनक एकता र समायोजन नै आफ्नो माग भएको स्पष्ट पारे।

शुक्रबार बिहान कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच करिब तीन घण्टा वार्ता भए पनि कुनै ठोस निचोड ननिस्किएको स्रोतले जनाएको छ । त्यसपछि घिसिङ उज्यालो नेपाल पार्टीका नेताहरूसँग काठमाडौँको बौद्धमा छलफलमा जुटेका छन् । उक्त बैठकमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायसहित केन्द्रीय नेताहरू सहभागी छन् । रास्वपा स्रोतका अनुसार, कुलमानलाई वरिष्ठ उपसभापति बनाउने सहमति पार्टीभित्र अनुमोदनको प्रक्रियामा भए पनि उज्यालो नेपाल पक्ष त्यसबाट सन्तुष्ट छैन । ‘यो सहमतिबाट न रवि खुशी छन्, न कुलमान,’ एक स्रोतले भन्यो, ‘नयाँहरू मिल्नु पर्छ भन्ने सन्देश दिनका लागि मात्र हस्ताक्षर भएको जस्तो देखिन्छ ।’

मन्त्री पदबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका कुलमान घिसिङले आफ्नै बलमा २५–३० सिट जित्न सके प्रधानमन्त्री बन्ने अवस्था आउन सक्ने दाबी पार्टीभित्र गरेका छन् । ‘पहिचान र इमान गुमाएर बस्नुको अर्थ छैन,’ घिसिङको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा पनि घिसिङले आफूले कुनै दलको सदस्यता नलिएको र रास्वपाको वरिष्ठ उपसभापति स्वीकार नगरेको स्पष्ट पारेका थिए ।
रास्वपासँग सहकार्य कमजोर बनेपछि उज्यालो नेपाल पार्टीले बन्दसूची बुझाइसकेको अन्य दलसँग संवाद अघि बढाएको छ ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतसँग चुनावी तालमेल र बन्दसूची पुनर्संरचनाबारे छलफल भइरहेको स्रोतले जनाएको छ । एकता भएकै दिन त्रिपुरेश्वरमा कार्यालय स्थापना गरेको उज्यालो नेपाल पार्टी अहिले भने रास्वपासँगको सहकार्य अन्त्य गर्ने कि अन्तिम प्रयासमा सहमति खोज्ने भन्ने निर्णायक मोडमा पुगेको छ । आज रातिसम्म हुने छलफलले नयाँ राजनीतिक समीकरणको दिशा तय गर्ने देखिन्छ ।

 

 

 

 

ममाथि अझै तरबार झुण्डिए पनि डर छैन, देशलाई जालझेलबाट मुक्त गर्छु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको राजनीतिक प्रतिशोधलाई क्षमा गर्न सक्ने क्षमता आफूमा रहेको बताएका छन् । चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिशोधको राजनीति अन्त्य गरेर देशको भविष्य लेख्ने अधिकार नेपाली जनतालाई नै सुम्पिने घोषणा गरे ।

लामिछानेले पुराना दल र प्रवृत्तिलाई प्रतिपक्षमै राखिरहनु आवश्यक नरहेको टिप्पणी गरेका छन् । ‘किन राख्ने प्रतिपक्षमा ? के का लागि राख्ने ? कलिला बालबालिकाको टाउको र छातीमा ताकीताकी गोली हान्न ?’ भन्दै उनले विगतका राजनीतिक अभ्यासप्रति तीखो प्रश्न उठाएका छन् । आफूलाई कटाक्ष गर्ने मन नभए पनि राज्यबाट भएको दमनले चित्त दुखेको उनको भनाइ थियो । उनले आफूविरुद्धको मुद्दा र कारबाहीलाई व्यक्तिगत विषय नभई समग्र देशसँग जोडिएको प्रश्नका रूपमा व्याख्या गरे । ‘यो मेरो निजी कुरा रहेन, सिङ्गो देशको कुरा बनिसक्यो’, उनले भने, ‘मैले कारागारबाट पनि भनेको थिएँ–मलाई जेल हाले भनेर चिन्ता नगर्नुस्, किनकी यिनीहरूले सिङ्गो देशलाई नै जेल बनाएका छन् ।’

लामिछानेले देशलाई ‘जेल’ बनाउने प्रवृत्तिबाट मुक्त गराउने संघर्ष अझै बाँकी रहेको बताए । ‘यो लडाइँ लड्नै परे पनि मलाई कुनै आपत्ति छैन’, भन्दै उनले राजनीतिक दबाब र जोखिमबीच पनि पछि नहट्ने संकेत गरे । कार्यक्रममा उनले अझै पनि आफू माथि ‘पाँच ठाउँमा तरबार झुण्डिएको’ अवस्था रहेको उल्लेख गर्दै जुनसुकै बेला त्यो खस्न सक्ने बताए । तर, त्यसप्रति आफूलाई कुनै डर नरहेको उनले स्पष्ट पारे । ‘तरबार खसोस्, मलाई पर्वाह छैन’, उनले भने, ‘तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो ।’

आफू सांसदका रूपमा निर्वाचित भए पनि जनताका घरआँगनमा पुगेर अपेक्षित रूपमा काम गर्न नपाएको गुनासो उनले व्यक्त गरे । ‘धित मर्ने गरी काम गर्नै पाइनँ, जनताबीच पुग्नै पाइनँ’, उनले स्वीकारे । यद्यपि, आफ्नो कार्यकालमा तीनवटा सार्वजनिक सुनुवाइ गर्न सफल भएको उल्लेख गर्दै उनले पारदर्शिताप्रति प्रतिबद्धता दोहोर्‍याए । बारम्बारका मुद्दा, झमेला र कानुनी प्रक्रियाका कारण धेरै प्रतिबद्धता पूरा गर्न नपाएको स्वीकार्दै उनले समर्थकप्रति भावुक सन्देश दिए । ‘तपाईंहरूले मेरा लागि बगाउनु भएको आँशसु मलाई याद छ’, उनले भने, ‘त्यो आँशसुको एक–एक थोपा खेर जान दिने छैन।’ लामिछानेको सम्बोधनले रास्वपाले आफूलाई केवल सत्ता राजनीतिमा सीमित नराखी ‘व्यवस्था र प्रवृत्तिविरुद्धको आन्दोलन’ का रूपमा अगाडि बढाउन खोजेको सन्देश दिएको विश्लेषकहरू बताउँछन् ।

रास्वपाको समानुपातिक सूचीबाट रामजी रामले पनि फिर्ता लिए नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार डा. रामजी रामले आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनीद्वारा जारी गरिएको वक्तव्यमा डा. रामले यस निर्णयको पृष्ठभूमि दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्व भएको स्पष्ट पारेका छन् । डा. रामका अनुसार बन्दसूचीमा उनको नाम केवल व्यक्तिगत सम्मान मात्र नभई ‘पुस्तौंदेखि आवाजविहीन बनाइएका हजारौं सपनाको प्रतिनिधित्व’ पनि थियो । उनले भनेका छन्, ‘यो केवल मेरो नाम मात्र थिएन, दलित समुदायको सामूहिक आकांक्षा र पहिचान पनि थियो ।’

तर उनले राजनीतिलाई अवसरको माध्यमको रूपमा मात्र नहेर्ने बताएका छन् । डा. रामले स्पष्ट पारेका छन् कि राजनीति त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी हो । यही आत्ममूल्यांकनका आधारमा उनले आफूभन्दा पनि बढी पीडित र कम सुनिएका आवाज संसदमा पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् । ‘यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एउटा ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ’, उनले भनेका छन् ।

डा. रामले संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव भन्ने धारणा राख्दैनन् । उनले सामाजिक चेतना, नागरिक आन्दोलन र वैचारिक संघर्षका विभिन्न मोर्चाबाट पनि न्यायका लागि लड्न सकिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार, यो निर्णय पलायन होइन, बरु जिम्मेवारीको नयाँ सुरुवात हो । डा. रामले फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘यो यात्रा यहीँ समाप्त भएको होइन, अझ जिम्मेवार रूपमा सुरु भएको मात्र हो ।’ डा. राम रास्वपाको समानुपातिकतर्फ दलित कलस्टरको चौथो नम्बरमा सिफारिस भएका थिए । उनका साथै उक्त सूचीबाट हालसम्म ८ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । यो निर्णयले दलित समुदायको लामो समयदेखि मागेको राजनीतिक प्रतिनिधित्वमा नयाँ दृष्टिकोण र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन् ।

 

सिर्जना सिज्जुले पनि फिर्ता लिइन् रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि सार्वजनिक बहसमा आएकी ट्राभलर सिर्जना सिज्जु वलीले अन्ततः आफ्नो नाम फिर्ता लिएकी छन् । सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले यो निर्णय योजनाबद्ध नभई यात्राकै क्रममा आएको आकस्मिक प्रस्तावका कारण भएको स्पष्ट पारेकी छन् ।

पर्यटन सम्भावनाको अध्ययन गर्दै ढोरपाटन, रुकुम पूर्व–पश्चिम, बुर्तिबाङ र चुङ्री बुक्की जस्ता दुर्गम क्षेत्रको एकल यात्रा गरिरहेका बेला आफूलाई समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको वलीको भनाइ छ । यात्रामा रहेकै कारण निर्णयका लागि पर्याप्त समय नपाएको र सूची सार्वजनिक भएपछि मात्र यसको गहिराइ महसुस भएको उनले स्वीकारेकी छन् ।

‘यात्राको थकान र सीमित समयका बीचमा गरिएको निर्णयले मलाई आत्ममन्थन गर्न बाध्य बनायो,’ उनले उल्लेख गरेकी छन् । बन्द सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई उनले स्वाभाविक प्रतिक्रिया मानेकी छन् ।
आफ्नो राजनीतिक पृष्ठभूमिबारे उठेका टिप्पणीप्रति पनि वलीले प्रष्ट पारेकी छन् । उनले जीवनका निर्णयहरू सधैं स्वतन्त्र रूपमा लिँदै आएको र परिवारको नाम प्रयोग गरेर अघि बढ्ने सोच कहिल्यै नराखेको बताइन् । वन विज्ञानको अध्ययन, एकल यात्रामार्फत दुर्गम क्षेत्रको प्रवद्र्धन र स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यटन विकासमा योगदान पुर्‍याउनु नै आफ्नो मूल लक्ष्य भएको उनको भनाइ छ ।

हुम्लाको लिमी उपत्यका, डोल्पाको कागमारा, ढोरपाटनका पाटन, मुन्धुम ट्रेल र सिंजा उपत्यकाजस्ता क्षेत्रको यात्राले गाउँमै रोजगारी र आशा सिर्जना गर्न सकिने सम्भावना देखाएको वलीको दाबी छ । ‘पर्यटन केवल घुमफिर होइन, ग्रामीण अर्थतन्त्र उठाउने बलियो माध्यम हो,’ उनले उल्लेख गरेकी छन् । राजनीतिमा तत्काल प्रवेश गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै वलीले भनिन्, ‘म अहिले राजनीतिमा आउँदिन । तर यसको अर्थ म राजनीति बुझ्दिनँ वा भिजन छैन भन्ने होइन।’ समानुपातिक सूचीमार्फत पद ओगट्ने चाहना नरहेको भन्दै उनले आफ्नो नाम औपचारिक रूपमा फिर्ता लिइसकेको जानकारी दिएकी छन् । यात्रामा रहेकाले यसबारे सार्वजनिक जानकारी दिन ढिलाइ भएको पनि उनले स्वीकारेकी छन् ।

भविष्यमा पनि राजनीति बाहिरै रहेर पर्यटन र ग्रामीण विकासका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै वलीले नेपालको अर्थतन्त्र सुदृढ बनाउन पर्यटन क्षेत्रलाई दीर्घकालीन दृष्टिले अघि बढाउनुपर्ने धारणा दोहो¥याएकी छन् । वलीले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै समानुपातिक सूचीमा नाम पर्नु योजनाबद्ध नभई यात्राकै क्रममा भएको आकस्मिक निर्णय भएको बताएकी छन् । ढोरपाटन, रुकुम पूर्व पश्चिम, बुर्तिबाङ, चुङ्री बुक्की जस्ता क्षेत्रमा एकल यात्रा गर्दै पर्यटन सम्भावनाको अध्ययन गरिरहेका बेला आफूलाई समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको उनको भनाइ छ ।

यात्राका कारण निर्णयका लागि पर्याप्त समय नपाएको र बन्द सूचीमा नाम सार्वजनिक भएपछि मात्र यसको गम्भीरता महसुस भएको वलीले उल्लेख गरेकी छन्। ‘यो निर्णय अलि हतारमा भएछ’ भन्दै उनले सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई स्वाभाविक मानेकी छन् ।

राजनीतिक पृष्ठभूमिसँग जोडिएका टिप्पणीबारे प्रष्ट्याउँदै वलीले आफूले जीवनका अधिकांश निर्णय स्वतन्त्र रूपमा लिँदै आएको र परिवारको नाम प्रयोग गरेर अघि बढ्ने सोच कहिल्यै नराखेको बताइन् । वन विज्ञान अध्ययन, एकल यात्रामार्फत कर्णाली, सुदूरपश्चिम र पहाडी जिल्लाका लुकेका गन्तव्यको प्रवद्र्धन नै आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ छ । हुम्लाको लिमी उपत्यका, डोल्पाको कागमारा, ढोरपाटनका पाटन, मुन्धुम ट्रेल, सिंजा उपत्यका जस्ता क्षेत्रमा गरेको लामो यात्रा र स्थानीयसँगको सहकार्यले आफूले पर्यटनमार्फत गाउँमै रोजगारी र आशा सिर्जना गर्न खोजेको वलीले दाबी गरेकी छन् ।

उनले स्पष्ट पार्दै भनिन, ‘म अहिले राजनीतिमा आउँदिन । तर यसको अर्थ म राजनीति बुझ्दिनँ वा भिजन छैन भन्ने होइन ।’ समानुपातिक सूचीमा बसेर पद ओगट्ने सोच नरहेको उल्लेख गर्दै उनले आफ्नो नाम फिर्ता लिइसकेको जानकारी दिएकी छन्, यात्रामा रहेकाले सार्वजनिक जानकारी दिन ढिलाइ भएको पनि उनले स्वीकारेकी छन् । वलीले पर्यटनलाई नेपालको अर्थतन्त्र सुदृढ गर्ने मुख्य आधारको रूपमा व्याख्या गर्दै, भविष्यमा पनि राजनीति बाहिरै रहेर पर्यटन र ग्रामीण विकासका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

 

रास्वपा सचिवालय वैठक बस्दै, यस्ता छन् छलफलका १० कार्यसूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आज (मंगलबार) बस्दै छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठक दिउँसो २ बजे सुरु हुने छ र यसमा १० वटा महत्वपूर्ण कार्यसूचीमा छलफल हुने तय छ । बैठकको मुख्य एजेण्डामध्ये प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मितिको घोषणा प्रमुख छ । यसअघि रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन मागिसकेको छ । बैठकले त्यसका लागि आवेदन दिने मिति तय गर्नेछ ।

त्यस्तै, बैठकले दुई उपसमितिको विस्तार र पुनर्संरचना गर्ने विषयमा छलफल गर्नेछ । उम्मेदवार सिफारिस उपसमितिको संयोजक डा. स्वर्णिम वाग्ले र पार्टी समायोजन उपसमितिको संयोजक महामन्त्री कविन्द्र बुर्लाकोटी रहेका छन् । पार्टीको केन्द्रीय समिति विस्तारको मुद्दा पनि बैठकको एजेन्डामा रहेको छ । गत आइतबार बसेको केन्द्रीय समिति बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समूहबाट २६ जना र विवेकशील साझा पार्टीबाट ७ जनालाई समितिमा मनोनीत गरिएको थियो । आजको बैठकले यसलाई थप सुदृढ पार्ने सम्भावना रहेको छ ।

यसैगरी, बैठकमा निर्वाचन परिचालन समिति गठन गर्ने, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि तय गर्ने, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि निर्माण गर्ने जस्ता विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ । साथै, प्रदेश र जिल्ला स्तरमा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय तहमा उम्मेदवार क्लब गठन गर्नेबारे पनि छलफल हुनेछ । रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक संरचना र उम्मेदवारी प्रक्रियालाई मजबुत बनाउने रणनीति आजको बैठकमा अघि बढाउनेछ ।

थरुहट–थारुवान अभियन्ता र रास्वपाबीचको नौं बुँदै सम्झौतामा के छ (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी छाडेका नेताहरुसँग नौं बुँदे सहमति भएको छ । थरुहट थारूवान अभियन्ता र रास्वपाबीच नौं बुँदे सहमति भएर आज रास्वपामा समाहित भएका हुन् । उनीहरुलाई सभापति रवि लामिछाने, उपभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेसहित शीर्ष नेताहरूले पार्टीमा स्वागत गरेका छन्।

रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभा (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत राजनीतिक समायोजन घोषणा सभा सुरू भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम सुरू भएको हो । आज नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व, थरूहट–थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुन लागेको हो । घोषणा सभामा सहभागी हुन नेता कार्यकर्ताहरू उपस्थित भएका छन् ।
हेर्नुस् तस्वीरहरू

रास्वपा समानुपातिक बन्दसूचीबाट बाहिरिए डा. पाँडे, नाम फिर्ता लिनेको संख्या ६ पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिने क्रम जारी रहेको छ । यसै क्रममा डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै डा. पाँडेले बन्दसूचीमा रहिरहनुको औचित्य नदेखिएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो निर्णय सार्वजनिक गरेका हुन् ।

पाँडेका अनुसार, अघिल्लो राति सम्पन्न केन्द्रीय समितिको बैठकमा नै उनले आफ्नो नाम सूचीबाट हटाउन नेतृत्वलाई जानकारी गराइसकेका थिए । ‘पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहनुको औचित्य नदेखी मैले बैठकमा साथीहरूलाई नाम हटाउने निर्णय सुनाएँ,’ उनले उल्लेख गरेका छन् ।

डा. पाँडेको यो घोषणासँगै रास्वपाको समानुपातिक सूचीबाट हट्नेहरूको संख्या आधा दर्जन पुगेको छ । यसअघि नै चर्चित अनुहारहरू आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, सञ्चारकर्मी तथा अभिनेता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारीबाट अलग हुने घोषणा गरिसकेका छन् ।

रास्वपाको आज वृहत्तर एकता घोषणा सभा

काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता कार्यकर्ताको व्यवस्थापनपछि आज (सोमबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत्तर एकता घोषणा सभा गर्दैछ ।

रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको थियो । पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

आइतबार बसेको बैठकले पार्टीमा आएकाहरुको व्यवस्थापनका लागि विभिन्न पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गरेको थियो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) रास्वपाको वरिष्ठ नेता बनेका छन् । यसअघि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँको मेयर बनेका उनी अब दलीय राजनीतिमा सहभागी भएका छन् । बालेनलाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै केन्द्रीय समितिको बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले बालेनलाई ‘वरिष्ठ नेता’ भन्दै स्वागत गरेका थिए ।

रास्वपा प्रवक्ता झाका अनुसार, केन्द्रीय समिति बैठकले बालेनसँगै २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउने छन् । रास्वपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो । त्यही सहमतिका आधारमा आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समायोजन गरेको हो ।

रास्वपाले थप्यो चार पदाधिकारी, महामन्त्रीमा बालेन–कुलमान पक्षको ‘रस्साकस्सी’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संरचना विस्तार गर्दै चार पदाधिकारी थप्ने निर्णय गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता पद थप्ने निर्णय गरेको हो ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ सँग एकताको सहमतिपछि पदीय समायोजन आवश्यक परेकाले पदाधिकारी संख्या बढाइएको पार्टीले जनाएको छ । यस निर्णयसँगै रास्वपामा अब पदाधिकारी संख्या कम्तीमा १४ पुगेको छ ।

यसअघि रास्वपामा सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहप्रवक्ता गरी १० पदाधिकारी थिए । नयाँ निर्णयअनुसार अब एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता थपिनेछ ।

बैठकपछि कुलमान घिसिङ उपसभापतिमा मनोनीत भइसकेका छन् भने बाँकी पदका लागि आन्तरिक छलफल जारी छ । विशेष गरी महामन्त्री पदलाई लिएर बालेनको टिम र उज्यालो नेपालबीच दाबी देखिएको छ । स्रोतका अनुसार कुलमानसँग एकता हुनुअघि नै बालेनको टिमलाई महामन्त्री दिने अनौपचारिक समझदारी भएको थियो । तर, उज्यालो नेपालले पनि उक्त पदमा दाबी गरेपछि सहमति टुंगिन सकेको छैन ।

पार्टीभित्रको छलफलअनुसार महामन्त्री बालेनकै टिमबाट हुने सम्भावना बलियो देखिएको छ । सभापति रवि लामिछानेले उज्यालो नेपाललाई एक उपसभापति, एक सहमहामन्त्री र एक सहप्रवक्ता दिने प्रस्ताव अघि सारेको बताइन्छ । यदि उज्यालो नेपालको भागमा महामन्त्री परे जितराम लामाको नाम चर्चामा रहेको छ ।

रास्वपामा सभापतिपछिको सबैभन्दा प्रभावशाली पद महामन्त्री मानिन्छ । पार्टी संगठन परिचालन र दैनिक व्यवस्थापनमा महामन्त्रीको भूमिका केन्द्रीय हुने गर्छ । डा. मुकुल ढकाल निष्काशित भएपछि कविन्द्र बुर्लाकोटी एकल महामन्त्रीका रूपमा कार्यरत छन्। अब भने पदाधिकारी विस्तारसँगै उनले आफ्नो जिम्मेवारी र अधिकार अर्को महामन्त्रीसँग बाँड्नु पर्ने अवस्था बनेको छ । पदाधिकारी बाँडफाँटको अन्तिम टुंगो भने आगामी छलफलपछि मात्रै लाग्ने पार्टी स्रोतले जनाएको छ ।

 

 

उम्मेदवार छनोट गर्न रास्वपाले बनायो स्वर्णिमको नेतृत्वमा उपसमिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाएको छ । यसै क्रममा पार्टीले उम्मेदवार छनोट तथा पार्टी एकता–समायोजनसँग सम्बन्धित दुई महत्वपूर्ण उपसमिति गठन गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार छनोट सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार उक्त उपसमितिलाई आगामी निर्वाचनका लागि योग्य उम्मेदवारको पहिचान गर्ने र उम्मेदवार छनोटको प्रक्रिया तय गरी केन्द्रीय समितिमा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उम्मेदवार छनोट उपसमितिमा संयोजकसहित सात जना सदस्य रहने छन् । उपसमितिका अन्य सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । पार्टीले पारदर्शी, मापदण्डमा आधारित र क्षमतावान उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत गर्न यो समिति गठन गरिएको जनाएको छ ।

त्यसैगरी बैठकले पार्टी एकता तथा समायोजनसम्बन्धी कार्यलाई सहजीकरण गरी निष्कर्षमा पुर्‍याउने उद्देश्यले अर्को उपसमिति पनि गठन गरेको छ । उक्त उपसमितिको संयोजकत्व पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिइएको छ । यो उपसमितिले पार्टीभित्रको एकता, समायोजन र संगठनात्मक व्यवस्थापनका विषयमा आवश्यक पहल गर्नेछ । रास्वपाले यी दुई उपसमिति गठनसँगै निर्वाचन केन्द्रित रणनीति र आन्तरिक संगठन सुदृढीकरणलाई एकसाथ अघि बढाउने संकेत दिएको छ । पार्टी नेतृत्वले यी निर्णयले आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ ।

 

 

विवेकशील साझाबाट आएका सात जना रास्वपा केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझाबाट आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाबाट आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। बैठकले पार्टी समायोजन पछि आज सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको रास्वपाले जनाएको छ । मनोनीत हुनेमा समीक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना छन् । केही समय अघि विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको थियो ।

समायोजन समिति गठन
रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रियालाई टुंगो लगाउन एकता समायोजन समिति गठन गरेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा शनिबार एकता समायोजन समिति गठन गरिएको एक नेताले जानकारी दिएका छन् । सात सदस्यीय समितिमा बालेनको समूहबाट दुई, उज्यालो नेपालबाट दुई र रास्वपाबाट दुई सदस्य रहने सहमति भएको उनले बताए ।

यसअघि पुस १३ मा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच एकता गर्ने सहमतिमा हस्ताक्षर भएको थियो। त्यसको भोलिपल्ट रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमतिमा हस्ताक्षर भएको थियो । बालेन समूह र उज्यालो पार्टीबीच सहमति भए पनि समायोजन हुन बाँकी छ । महामन्त्री बुर्लाकोटीको नेतृत्वमा बनेको समितिले समायोजन प्रक्रिया टुंगो लगाउनेछ । आज बस्ने रास्वपा केन्द्रीय समितिको बैठकले एकता समायोजन समितिलाई अनुमोदन गर्ने जनाइएको छ ।

 

 

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (सोमबार) बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ । रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा कार्यक्रम आयोजना गर्ने भएको हो।

उक्त सभामार्फत विभिन्न शक्ति र समूहबीचको एकता प्रक्रियालाई औपचारिक रूपमा टुंग्याइने जनाइएको छ । आजै नागरिक उन्मुक्ति पार्टीबाट सामूहिक राजीनामा दिएका नाउपा रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले पनि भोलि नैरास्वपा प्रवेश गर्दै छन्।

एकता घोषणासभामा पार्टीका शीर्ष नेता, जनप्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । भोलि हुने घोषणासभाबाट सो एकता प्रक्रियाले पूर्णता पाउने र आगामी दिनमा पार्टीको राजनीतिक कार्यदिशा तथा रणनीतिबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

सभापतिको जिम्मेवारीमा फर्किएपछि पहिलो पटक सचिवालय बैठकमा रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । सभापति रवि लामिछानेको सभापतित्वमा बसेको यो बैठक उनले पुनः सभापतिको जिम्मेवारी सम्हालेपछि आयोजना गरिएको पहिलो सचिवालय बैठक हो ।

पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठकमा मुख्यतः पार्टी समायोजन प्रक्रिया र आगामी निर्वाचन प्रक्रिया सम्बन्धी विषयमा छलफल भइरहेको छ । पछिल्लो समय रास्वपाले संगठन विस्तार र आन्तरिक संरचना सुदृढीकरणलाई प्राथमिकतामा राखेकाले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

यसै बैठकमा नेपाल उज्यालो पार्टीसँग भएको एकता सहमति र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगको सहकार्यसम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ । यी विषयले पार्टीको आगामी राजनीतिक दिशा र रणनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सभापति लामिछाने पुस ४ गते उच्च अदालत बुटवलको आदेशअनुसार धरौटीमा रिहा भएका थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनी कारागारबाट छुटेका हुन् । सुरुमा उनलाई रुपन्देही कारागारमा राखिएको भए पनि पछि आफ्नै अनुरोधमा ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको थियो। बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् । लामिछानेको पुनः सक्रियतासँगै पार्टीभित्र संगठनात्मक निर्णय र राजनीतिक गतिविधि थप गतिशील हुने संकेत देखिएको छ । आजको सचिवालय बैठकलाई त्यसैको प्रारम्भिक कदमका रूपमा लिइएको छ ।

 

रास्वपा बैठकमा सागर ढकालदेखि सुदन गुरुङसम्म, बालेन–कुलमान के गर्लान् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर वनस्थली पुगिरहेका छन् । सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् । बालेन शाह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो ।

यसैबीच रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकतालगत्तै उत्पन्न भएको असमझदारी समाधानउन्मुख भएको दावी गरिएको छ । रास्वपा सभापति रवि लामिछाने, उपसभापति कुलमान घिसिङ र वरिष्ठ नेता बालेन्द्र साहबीचको छलफल तथा तीनै पक्षका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलको बैठकबाट विवाद समाधानको सूत्र पहिल्याइएको हो ।

हतारमा गरिएको एकतापश्चात समानुपातिकको बन्दसूचीदेखि प्रत्यक्ष निर्वाचन र केन्द्रीय कमिटीमा पाउने हिस्सा लगायतका विषयमा कुलमान असन्तुष्ट बनेका थिए । विवाद समाधानका लागि हिजो रवि, बालेन र कुलमानबीच भएको छलफल सकारात्मक भएको बुझिएको छ । रास्वपा र उज्यालो नेपाल दुवैतर्फका स्रोतहरूले यसको पुष्टि गरेका छन् ।

आज रास्वपाको सचिवालय बैठक र त्यसपछि केन्द्रीय समिति बैठकमा कार्यदलले जुटाएको सहमतिबारे छलफल हुनेछ । आजको बैठकमा बालेन र कुलमान भने सहभागी हुने छैनन् । स्रोतले भन्यो, ‘सुरूमा सचिवालय र त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर समायोजनको मोडालिटीलाई टुंग्याउँछौं । त्यसपछि सम्भव भयो भने आजै बालेन र कुलमानसहितको बैठक बस्ने योजना छ । आज भ्याइएन भने पनि अर्को बैठकमा उहाँहरू दुवै जना बस्नु हुन्छ ।’ एकताको सहमति भइसके पनि बालेन र कुलमानलाई औपचारिक कार्यक्रम गरेर पार्टीमा स्वागत गरिएको छैन । दुवै नेताहरू अहिलेसम्म रास्वपा कार्यालय गएका छैनन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

रास्वपा केन्द्रीय समितिकाे बैठक बस्दै, के–के छन् एजण्डा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्ने भएको छ । बैठकमा पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा सभापति रवि लामिछानेले ‘ब्रिफिङ’ गर्ने बताइएको छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बैठक आह्वान भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । पार्टी समायोजन, विस्तार एवम् सुदृढीकरण सम्बन्धसहित विविध विषयमा रास्वपाले छलफल गरेर धारणा बनाउनु पर्ने भएकाले केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देश भएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएको थियो । त्यसयता पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बालेनका पिए रास्वपाको सहमहामन्त्री बन्दै, अछाम–२ बाट उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का प्रमुख स्वकीय सचिव भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री बन्ने तयारीमा रहेका छन् । बालेन निकट स्रोतका अनुसार रास्वपाको आगामी संगठनात्मक संरचनामा शाहलाई सहमहामन्त्रीको जिम्मेवारी दिने विषयमा आन्तरिक सहमति जुट्दै गएको छ ।

रास्वपामा समाहित हुने प्रक्रियाका क्रममा शाह बालेनका तर्फबाट वार्ता समितिमा समेत सक्रिय रहेका थिए । सोही पृष्ठभूमिमा बालेनको सिफारिसमै शाहलाई सहमहामन्त्री बनाउने तयारी भएको स्रोतको दाबी छ । पार्टीभित्र संगठन विस्तार र रणनीतिक भूमिकामा शाहलाई अघि सार्ने योजना रहेको बताइएको छ ।

यससँगै भूपदेव शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा पनि छन् । उनले रास्वपाको ‘घण्टी’ चुनाव चिह्न लिएर उम्मेदवारी दिने तयारी गरिरहेको र त्यसका लागि स्थानीय तहमा संगठन विस्तार तथा चुनावी रणनीति निर्माणका काम तीव्र बनाइएको जनाइएको छ । अछाम शाहको जन्मस्थान समेत हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि भूपदेव शाहलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिइएको थियो । त्यसयता शाह बालेनका सबैभन्दा विश्वासिला सहयोगीका रूपमा परिचित छन् । बालेनका विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयमा शाहको प्रभावकारी भूमिका रहने गरेको निकटस्थहरू बताउँछन् ।

केही दिनअघि मात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दुई पक्षीय राजनीतिक सहमति भएको थियो । सो सहमतिपछि बालेन–रास्वपा सम्बन्ध थप नजिकिएको विश्लेषण भइरहेका बेला भूपदेव शाहको सहमहामन्त्री बन्ने तयारी र प्रतिनिधिसभा उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अर्यालको प्रश्न : संविधान बनेको १० वर्षमै शान्तिको विषयमा बहस गर्नुपर्ने अवस्था कसले बनायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले संविधान बनेको १० वर्षमै शान्तिकै विषयमा बहस गर्नुपर्ने अवस्था आउनुको कारण खोज्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व विज्ञान प्रविधिमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा नेपालमा भने शान्ति र स्थायित्वकै विषयमा बहस गर्नुपर्ने अवस्थाको कारक खोज्नुपर्ने बताएका हुन् ।

‘यो अवस्था कसले ल्यायो ? किन आयो ? यसको उत्तर कसले दिनुपर्ने हो ? यसको पनि बहस आवश्यक छ,’ उनले भने । भदौ २३ र २४ को घटना किन भए भन्ने विषयमा पनि बहस हुनुपर्ने उनले बताएका छन् । यसबाट निजी क्षेत्र प्रभावित भएको अर्यालले बताए । ‘नेपालको निजी क्षेत्रले ५० प्रतिशत बढी रोजगारी सिर्जना गर्दै आएको छ । ५५ लाख मानिसलाई रोजगारी दिएको छ । यसले सामाजिक समृद्धिमा ठूलो भूमिका खेलेको छ । प्रारम्भिक मूल्यांकनअनुसार निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति भयो,’ उनले भने ।

‘शान्ति र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका छन्,’ अर्यालले भने, ‘शान्ति बिना समृद्धि सम्भव छैन र समृद्धि बिना शान्ति दीगो रहँदैन भन्ने मर्मलाई निजी क्षेत्रले स्वीकार गरेको छ ।’ राजनीतिक स्थायित्वले लगानी, रोजगारी र राष्ट्रिय उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पार्ने र जनआशा मजबुत बनाउने उनले बताए । उनले देश चुनाव केन्द्रित भइरहेको बताउँदै सरकार, निर्वाचन आयोग र सम्बन्धित पक्षलाई उनले धन्यवाद ज्ञापन गरे ।

समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछ : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्ती सच्याइने बताएका छन् । समानुपातिक सूचीलाई लिएर पार्टीभित्रै तथा बाहिरबाट चौतर्फी आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

पराजुलीले लेखेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्ती सच्याइने छन् । सुशासन र विधि हाम्रो जग हो ।’ पार्टीका नेता–कार्यकर्ता मात्र होइन, समर्थक र नागरिक तहबाट समेत समानुपातिक प्रणालीको मर्मअनुसार सूची समावेशी र निष्पक्ष नभएको आलोचना भइरहेको छ ।

 

रास्वपामा विधि मिचेर समानुपातिक सूची : पार्टीभित्र विवाद, बाहिर आलोचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीले पार्टीभित्र मात्र होइन, सार्वजनिक रूपमा पनि तीव्र विवाद र असन्तुष्टि जन्माएको छ । ‘विधि, पारदर्शिता र नयाँ राजनीति’ को नारा बोकेको रास्वपा आफैंले सुरु गरेको प्राइमरी इलेक्सनको नतिजा मिचेर सूची तयार गरेको आरोपमा आफ्नै नेताहरू, अभियन्ता र समर्थकको घेराबन्दीमा परेको छ ।

सबैभन्दा ठूलो असन्तुष्टि प्राइमरी इलेक्सनबाट शीर्ष स्थान हासिल गरेका उम्मेदवारहरूलाई सूचीमा पछाडि पारिएको विषयमा देखिएको छ । खुलातर्फ सबैभन्दा बढी मत ल्याएका रमेश प्रसाईं खस–आर्य कोटामा पाँचौँ स्थानमा राखिँदा, कम मत पाएका विपिनकुमार आचार्य पहिलो नम्बरमा परेका छन् । यही विषयलाई लिएर ‘आफैंले परीक्षा लिने, आफैं प्रश्नपत्र बनाउने र आफैं पहिलो हुने’ कटाक्ष पार्टीभित्रैबाट उठेको छ ।

यसै सन्दर्भमा केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्कीले ‘प्राइमरी भोटिङकै धज्जी उडाइएको’ भन्दै नेतृत्वमाथि सीधा प्रश्न उठाएकी छन् । पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैं ‘पोजिसन अफ बेनिफिट’ मा रहेको आरोप लगाउँदै उनले पद होल्ड गर्नेहरूले प्रत्यक्ष चुनाव लड्ने साहस देखाउनु पर्ने धारणा सार्वजनिक गरेकी छन् ।

असन्तुष्टि केवल प्रक्रियामा सीमित छैन, भूगोल र प्रतिनिधित्वको सवाल पनि चर्को बनेको छ । सभापति रवि लामिछानेको गृह जिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिँदा सुदूरपश्चिमबाट दुई जना मात्रै पर्नु गम्भीर असन्तुलनको उदाहरण बनेको छ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले ‘मेरो सुदूर अझै पनि सुदूर नै छ’ भन्दै समानुपातिक प्रणालीलाई ‘सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र’ बनाइएको आरोप लगाएकी छन् ।

रास्वपासँग एकता गरेका उज्यालो नेपाल पार्टी (उनेपा) भित्र पनि असन्तुष्टि उस्तै छ । उनेपाबाट पहिलो नम्बरमा सिफारिस गरिएका डा. महेन्द्र लावतीलाई संयुक्त सूचीको १२ नम्बरमा राखिएपछि उनले आफ्नो नाम नै हटाउन आग्रह गरेका छन् । उनेपाले पाउनु पर्ने २२ सिटमध्ये १४ मा सीमित हुनुपरेको गुनासो पनि छ ।

सूचीमा सेलिब्रेटी, व्यापारी, इन्फ्लुएन्सर र चिनजानका व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप बाहिर पनि तीव्र रूपमा उठेको छ । अभियन्ता आशिका तामाङले ‘निमुखाका लागि छुट्याइएको समानुपातिक कोटामा मिस नेपालले अवसर पाउने’ कटाक्ष गर्दै नयाँ दलहरू पनि पुरानै अभ्यासमा फसेको टिप्पणी गरेकी छन् ।

रास्वपाको समानुपातिक सूचीमा गायक–गायिका, अभिनेता–अभिनेत्री, पूर्व मिस नेपाल र मिस्टर नेपालसम्म परेपछि ‘प्रतिनिधित्व कि पहुँच ?’ भन्ने प्रश्न झन् बलियो बनेको छ । रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङको त्रिकोणात्मक एकताबाट ठूलो राजनीतिक सन्देश जाने अपेक्षा गरिएको बेला सार्वजनिक भएको यो सूचीले भने रास्वपाभित्र गहिरो दरार देखाएको छ । नयाँ राजनीतिक संस्कृतिको दाबी गर्ने दल आफैं पुरानै रोगले ग्रस्त भएको हो कि भन्ने प्रश्न अब पार्टीभित्र मात्र होइन, जनस्तरमै उठ्न थालेको छ ।

 

उज्यालो–रास्वपा एकताप्रति असन्तुष्टि : लावतीले गरे नाम फिर्ताको संकेत, पहिचानवादी अलमलमा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता-विलयपछि उज्यालो पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । उज्यालो नेपाल पार्टीका नेता तथा प्राध्यापक डा. महेन्द्र लावतीले रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा आफ्नो नाम राखिएकोप्रति आपत्ति जनाउँदै पार्टी एकता आफूहरूसँग सल्लाह नगरी गरिएको बताएका छन् ।

रास्वपाले बुझाएको समानुपातिक सूचीमा डा. लावती आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औं नम्बरमा छन् । तर उनले उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको विषय आफूले समाचारबाट मात्रै थाहा पाएको बताएका छन् । उनले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समानुपातिकता आफ्ना ‘बटमलाइन’ मुद्दा भएको स्पष्ट पारे । यी विषय एकतासम्बन्धी ७ बुँदे सहमतिमा नसमेटिएको भन्दै उनले रास्वपाले स्पष्ट धारणा सार्वजनिक नगरे आफूहरू साथ नहुने चेतावनी दिए ।

लावतीमाथि पहिचानको मुद्दा छाडेको आरोप पनि बढ्दै गएको छ । प्रदेश नामकरणपछि सुरु भएको आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूको सपना बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । यस्तै, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले पनि पार्टी विलय प्रक्रियाप्रति असहमति जनाएका छन् । उनले संरक्षक कुलमान घिसिङले कसैसँग सल्लाह नगरी एकल निर्णयमा पार्टी विलय गराएको आरोप लगाएका छन् । थेगिमका अनुसार यसले पहिचान, धर्म निरपेक्षता र संघीयताको मुद्दा के हुने भन्ने अन्योल बढाएको छ । ‘यो एकता होइन, समाहित मात्रै हो’, उनले भने ।

सोमबार कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी रास्वपासँग एकता गरेपछि रास्वपाले तीन पक्ष समेटेर ११० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा उज्यालो पार्टीका १८ जना समावेश छन् । उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय खस–आर्य पुरुषतर्फ समानुपातिक उम्मेदवार बनेका छन् भने डा. महेन्द्र लावतीसहित संयुक्त पहिचानवादी मोर्चाका नेताहरूको नाम पनि सूचीमा परेको छ । एकातर्फ उज्यालो पार्टीका शीर्ष नेताहरू नै रास्वपाको समानुपातिक उम्मेदवार बनेका छन् भने अर्कोतर्फ पार्टीभित्र पहिचान, धर्म निरपेक्षता र संघीयताको मुद्दालाई लिएर असन्तोष र अलमल बढ्दै गएको छ ।

यता एकतापछि रास्वपाको उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै पार्टी एकता गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकताले देशलाई सही निकासतर्फ लैजाने बताएका छन् । घिसिङले यो मिलनलाई देशको सही निकासका लागि एउटा बलियो कदमको रूपमा व्याख्या गरेका छन् ।

‘उज्यालो नेपाल अभियानलाई थप सशक्त र संस्थागत बनाउन राजनीतिक शक्ति अपरिहार्य रहेको उल्लेख गर्दै आम नागरिकको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् । एकताको मस्यौदा तयार पार्न सोमबार साँझ कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा निर्णायक छलफल भएको थियो । उक्त वार्तामा नेपाली राजनीतिका तीन प्रभावशाली र चर्चित पात्रहरू–रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको उपस्थिति थियो ।

रविको चुनाव क्षेत्र चितवनबाटै समानुपातिक सूचीमा मात्रै २१ जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक सूचीमा पार्टी सभापति रवि लामिछानेको चुनाव क्षेत्र चितवन जिल्लाबाट उम्मेदवारको वर्चस्व देखिएको छ । बालेन साह र कुलमान घिसिङसँग एकीकरण गरेपछि सूची बुझाउन ढिला भएको थियो । तीन समूहमा भागबण्डा गरेर रास्वपाले ११० जनाको सूची बुझाएको हो ।

चितवनबाट सबैभन्दा धेरै २१ जना समानुपातिकतर्फको उम्मेदवार सूचीमा परेका छन् । चितवनपछि मोरङबाट १५ जना उम्मेदवार रहेका छन् । सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको कतिपय जिल्लाबाट भने समानुपातिकतर्फका उम्मेदवार शून्य छ । चितवनमा डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी शेर्पा, सन्देश गुरुङ आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सूचीमा छन् । त्यस्तै, खर्सआर्यमा चितवनबाट सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने, प्रभा ढकाल उम्मेदवार रहेका छन् । सूचीअनुसार चितवनबाट १६ जना खसआर्य क्लस्टर र ५ जना आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवार रहेका छन् ।

मोरङबाट डा. राम लामा, मिङमा ग्लाबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मानकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, विशाल गुरुङ, रञ्जनी श्रेष्ठ, डा. ओजश्वी शेरचन, मीरा महर्जन र तुलसा वाइवासहित १३ जना आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । यस्तै खस आर्य समूहमा ३२ जनाको नाम समावेश छ । तीमध्ये चितवनबाट १६ जनाको नाम समावेश छ । यो भनेको खस आर्य समूहको ५० प्रतिशत हो । १६ जनामध्ये ८ जना पुरुष र ८ जना महिला छन् । खसआर्य महिलामा मोरङका रञ्जु दर्शना र थारु क्लस्टरबाट सुरेन्द्र चौधरी सिफारिस भएका छन् ।

काठमाडौंबाट ५, ललितपुर र भक्तपुर जिल्लाबाट ३/३ जना मात्रै समानुपातिक सूचीमा छन् । सूचीअनुसार ७७ जिल्लामध्ये ३५ जिल्लाबाटै समानुपातिक उम्मेदवार परेका छन् । उम्मेदवार सिफारिस भएका जिल्लामध्ये अधिकांशबाट एकभन्दा बढी सूचीमा छन् । सुनसरी, सिन्धुपाल्चोक, गोरखा, कास्की, खोटाङ, ताप्लेजुङ, दाङ, सिरहा, रुकुम, म्याग्दी, झापा, रुपन्देही, नुवाकोट, कञ्चनपुर, भोजपुर, सोलुखुम्बु, सप्तरी, पाँचथर, बाग्लुङ, धनुषा, रौतहट, सुर्खेत, बर्दिया, महोत्तरी, बारा, सुनसरी, कपिलवस्तु बाँके, ओखलढुंगालगायत जिल्लाबाट मात्रै उम्मेदवार सूचीमा परेका छन् । कम्तीमा ५ जना उम्मेदवारको भने सूचीमा जिल्ला खुल्न बाँकी छ ।

कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी निर्वाचनलाई लक्षित गर्दै संयुक्त सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् भने तीनै जना एकै राजनीतिक मोर्चाबाट निर्वाचनमा अघि बढ्ने भएका छन् ।

यसअघि नै रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने आन्तरिक सहमति गरिसकेको थियो । आइतबार बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा भने कुलमान घिसिङ सहभागी थिएनन् । त्यसपछि बालेन र रविले पटक–पटक कुलमानसँग वार्ता गर्दै सहमतिमा ल्याउने प्रयास गरेका थिए ।

सोमबार कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भेटवार्तापछि अन्ततः उनीहरू समानुपातिकतर्फ एउटै दलको बन्द सूचीमार्फत निर्वाचनमा जाने सहमतिमा पुगेका हुन् । रास्वपाका उपसभापति डीपी अर्यालले तीनै जनाबीच सहमति भइसकेको पुष्टि गर्दै सहमतिपत्रमा हस्ताक्षरको प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।

आइतबारको प्रारम्भिक सहमतिमा छुटेका कुलमानलाई समेट्न जेन–जी अभियानीहरूको सक्रिय भूमिका देखिएको थियो । सुदन गुरुङलगायतका केही अभियानीहरूले कुलमानलाई प्रत्यक्ष रूपमा बालेन र रविसँग वार्तामा सहभागी गराउँदै सहजीकरण गरेका थिए । स्रोतका अनुसार उनीहरूकै पहलमा कुलमान, बालेन र रविबीच निर्णायक संवाद सम्भव भएको हो ।

वार्ताका क्रममा कुलमान घिसिङले सुरुमा रास्वपामा सह–सभापति पदको माग गरेका थिए । साथै, केन्द्रीय समिति, समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारमा उज्यालो नेपाल पार्टीलाई ३० प्रतिशत हिस्सा दिनुपर्ने प्रस्ताव पनि राखेका थिए । तर रास्वपा पक्षले नयाँ राजनीतिक शक्तिका लागि उक्त माग अत्यधिक भएको भन्दै १५ प्रतिशतभन्दा बढी दिन नसकिने स्पष्ट पारेको थियो ।

त्यसपछि रास्वपाले सह–सभापति होइन, उपसभापति पद प्रस्ताव गरेको थियो । सुरुमा कुलमानले यो प्रस्ताव अस्वीकार गरेपछि वार्ता अनिर्णित बनेको थियो । तर जेन–जी अभियानीहरूको निरन्तर पहलपछि कुलमान उपसभापति पदमा सहमत भएका हुन् । यस सहमतिसँगै रास्वपा, बालेन शाह र कुलमान घिसिङको संयुक्त राजनीतिक यात्रा औपचारिक रूपमा सुरु हुने संकेत देखिएको छ । नयाँ पुस्ता, वैकल्पिक राजनीति र प्रशासनिक अनुभवको संयोजनले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपाको बैठक, देखिएनन् बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अहिले बैठक चलिरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिन बैठक बसेको उनले जनाएका छन् । रास्वपाले आन्तरिक प्रतिष्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रुप दिन लागेको हो । निर्वाचन आयोगले आजसम्मका लागि समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको छ । जस अनुसार, बन्दसूची पेश गर्नका लागि दलहरू अन्तिम तयारीमा छन् ।

जारी बैठकमा हालै रास्वपामा समाहित भएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह भने उपस्थित भएका छैनन् । रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच आइतबार एकताको सहमति भएको थियो । जस अनुसार रवि सभापति हुने र बालेन आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तथा संसदीय दलको नेता हुने सहमति बनेको छ । बालेनलाई रविपछिको वरीयता दिने समेत समझदारी भएको थियो । तर, एकतापछिको पहिलो केन्द्रीय समितिको बैठमा बालेन भने देखा परेका छैनन् ।

मन्त्री बन्न नपाएकी टासी र गायिका सत्यकला रास्वपाको सूचीमा

काठमाडौं । वातावरण तथा सामाजिक अभियन्ता टासी ल्हान्जोम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समावेश भएकी छन् । पार्टीको प्रारम्भिक उम्मेदवार छनोट प्रक्रियामा आदिवासी जनजाति समूहबाट उनी १३ हजार ७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा पर्न सफल भएकी हुन्।

उक्त समूहबाट सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारमा उत्तमबहादुर गुरुङ छन् । उनले १६ हजार १२ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । त्यसैगरी गायिका तथा सामाजिक अभियन्ता सत्यकला राई १४ हजार २०१ मतसहित दोस्रो स्थानमा चयन भएकी छिन् ।

मतपरिणाम सार्वजनिक भएपछि उत्साहित देखिएकी टासी ल्हान्जोमले सामाजिक सञ्जालमार्फत मतदाताप्रति आभार व्यक्त गर्दै लेखेकी छन्, ‘तपाईंहरूको विश्वास र समर्थनकै परिणाम हो यो । अब हामी नेतृत्व गर्दै विजयको बाटोमा अघि बढ्नेछौं ।’ उनको यो प्रतिक्रिया समर्थकहरूमाझ सकारात्मक रूपमा लिइएको छ । टासी ल्हान्जोम केही समयअघि सुशीला कार्की नेतृत्वको सम्भावित क्याबिनेटमा मन्त्री बन्ने चर्चा चले पनि अन्ततः त्यो प्रक्रिया अघि बढेन । मन्त्री बन्न नपाएको चर्चाका बीच उनी दुई साताअघि मात्रै रास्वपामा आबद्ध भएकी थिइन् ।

पार्टी प्रवेश गरेको छोटो समयमै समानुपातिक सूचीमा स्थान बनाउन सफल हुनु टासीका लागि राजनीतिक रूपमा महत्वपूर्ण उपलब्धि मानिएको छ । रास्वपाले समानुपातिकतर्फ समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताउँदै आएको छ । आदिवासी जनजाति समूहबाट प्राप्त मत परिणामले पार्टीभित्र यी उम्मेदवारहरूको लोकप्रियता र सम्भावनालाई स्पष्ट रूपमा देखाएको छ । अब प्रारम्भिक सूचीलाई अन्तिम रूप दिने क्रममा पार्टीले के निर्णय लिन्छ भन्ने चासो बढेको छ । टासी ल्हान्जोम र सत्यकला राई जस्ता नयाँ अनुहारहरू सक्रिय राजनीतिमा देखिनुले रास्वपाको आगामी राजनीतिक यात्रामा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

रवि–बालेन र कुलमानबीचको एकता वार्ता विफल, आज निर्णायक प्रयास हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने प्रयास निर्णायक मोडमा पुगे पनि सहमतिमा टुंगिन सकेन ।

आइतबार राति मध्यरातसम्म चलेको भनिएको एकता वार्ता पद, भूमिका र शक्ति सन्तुलनका विषयमा सहमति नजुट्दा असफल भएको हो । यद्यपि नेताहरूले समयसीमाको दबाबका बीच सोमबार पनि अन्तिम प्रयास जारी राख्ने बताएका छन् ।

निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले सोमबार बिहानसम्म सहमति जुटाउने प्रयास गरिने वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बिहान १० बजेसम्म सहमति भएन भने कानुनी र प्राविधिक कारण एकीकृत सूची बुझाउन कठिन हुने अवस्था छ । यही कारण केही घण्टालाई निर्णायक मानिएको छ ।

केही दिनदेखि चलिरहेको त्रिपक्षीय संवादमा आइतबार बिहान भने रवि लामिछाने र बालेन शाहबीच सात बुँदे सहमति भइसकेको थियो । त्यस सहमतिले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै रास्वपाभित्रै वैकल्पिक राजनीतिको केन्द्र बनाएको छ । तर उक्त सहमतिमा उज्यालो नेपाल पार्टी र उसका संरक्षक कुलमान घिसिङ अटाउन नसकेपछि उनीसँग छुट्टै संवाद तीव्र पारिएको थियो ।

वार्तामा सबैभन्दा ठूलो अड्चन कुलमान घिसिङको भूमिका र पदलाई लिएर देखिएको बताइन्छ । उज्यालो नेपाल पार्टी पक्षले सहअध्यक्ष वा कार्यकारी सभापति जस्ता हैसियतको माग गरेको स्रोतको दाबी छ भने प्रधानमन्त्री आलोपालो हुनुपर्ने प्रस्ताव समेत आएको बताइएको छ । रास्वपा नेतृत्व भने पार्टी संरचना, शक्ति सन्तुलन र नेतृत्वको स्पष्टतामा सम्झौता गर्न तयार नदेखिएको जनाइएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पनि कुलमानको कार्यकारी नेतृत्वसम्बन्धी आकांक्षाका कारण सहमति नजुटेको संकेत दिएका छन् ।

बालेन शाह भने कुलमानलाई समेट्न लचक देखिएका थिए भन्ने कुरा बालेन निकट नेताहरूले बताएका छन् । तर अन्ततः रवि लामिछानेको अडानका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको उनीहरूको भनाइ छ । यद्यपि सोमबारसम्म अन्तिम प्रयास गर्ने सहमति भने कायम रहेको जनाइएको छ । यसैबीच, जेनजी आन्दोलनबाट उदाएका युवा अगुवाहरूले कुलमानलाई पनि एकतामा समेट्न दबाब बढाएका थिए ।

केही युवा प्रतिनिधिहरू मध्यराति कुलमान घिसिङको निवासमै पुगेर सहमतिका लागि आग्रह गरेका थिए । जेनजी आन्दोलनका एक अगुवा सुदन गुरुङ पनि वार्तामा प्रत्यक्ष संलग्न थिए । सहमति नजुटेपछि उनले राति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै यस्तो निर्णायक घडीमा कुलमान अलग देखिनु परिवर्तन चाहने जनताका लागि दुःखद भएको बताएका छन् । उनले देशलाई विभाजन होइन, एकता आवश्यक रहेको भन्दै अन्तिम क्षणमा पनि सबै पक्षलाई सँगै उभिन आग्रह गरेका छन् ।

उता, आइतबार राति बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले रवि र बालेनबीच भएको सातबुँदे सहमतिलाई औपचारिक रूपमा अनुमोदन गरिसकेको छ । यससँगै बालेन–रास्वपा एकता संस्थागत भइसकेको छ भने वैकल्पिक राजनीतिका अन्य धारहरू पनि क्रमशः रास्वपामै समाहित हुने अवस्था देखिएको छ ।
विगत एक दशकदेखि नेपालमा वैकल्पिक राजनीतिको बहस विभिन्न धारमार्फत अघि बढ्दै आएको छ ।

स्वर्गीय उज्ज्वल थापाले सुरु गरेको विवेकशील नेपाली अभियान, त्यसपछि बनेको विवेकशील साझा पार्टी, साझा हुँदै आएका युवा अभियन्ताहरू, स्थानीय तहमा उदाएका स्वतन्त्र पात्र र पछिल्लो समय जेनजी आन्दोलन-यी सबै धार अहिले रास्वपामा मिसिने प्रक्रियामा देखिन्छन् । मंसिर १४ गते विवेकशील साझा पार्टी र रास्वपाबीच भएको पाँच बुँदे सहमतिले वैकल्पिक राजनीतिको एउटा ठूलो धार औपचारिक रूपमा रास्वपामा विलय भइसकेको छ ।

स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन शाह वैकल्पिक राजनीतिका सबैभन्दा प्रभावशाली अनुहारका रूपमा उदाए । उनका कार्यशैली र निर्णय विवादास्पद भए पनि भ्रष्टाचारबाट टाढा रहेको छवि र फरक शैलीकै कारण उनी युवा पुस्तामाझ लोकप्रिय बने । जेनजी आन्दोलनपछि नवयुवाहरूले उनलाई प्रधानमन्त्रीको पहिलो विकल्पका रूपमा अघि सारेका थिए । अन्ततः उनले त्यो प्रस्ताव अस्वीकार गरे पनि अहिले रास्वपासँगको एकतामार्फत भावी प्रधानमन्त्रीको उम्मेदवारकै रूपमा औपचारिक राजनीतिक भूमिकामा प्रवेश गरेका छन् ।

बालेनसँगको एकतापछि जेनजी आन्दोलनका धेरै अनुहारहरू पनि रास्वपातर्फ आकर्षित भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची तयार गर्दा जेनजी युवाहरूलाई प्राथमिकता दिने समझदारी भएको बताइन्छ । बालेन र रवि लामिछानेले आ–आफ्नो सूची बनाएर अन्तिम चरणमा क्षमता, विज्ञता र आन्दोलनको प्रतिनिधित्वका आधारमा साझा सूची बनाउने सहमति गरेका छन् ।

यस समग्र प्रक्रियाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक राजनीतिको केन्द्रबिन्दुमा पुर्‍याएको देखिन्छ । विवेकशील साझा, बालेन शाह र जेनजी आन्दोलन-तीनै प्रमुख वैकल्पिक धारहरूलाई समेट्दै रास्वपा नयाँ राजनीतिक भँगालोका रूपमा उभिएको छ । कुलमान घिसिङ यो प्रक्रियामा समेटिन्छन् वा अलग धारका रूपमा अघि बढ्छन् भन्ने कुरा केही घण्टाभित्रै स्पष्ट हुने संकेत देखिएको छ । तर जे जस्तो परिणाम आए पनि नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरूको पुनर्संरचना र ध्रुवीकरण तीव्र रूपमा अघि बढिरहेको तथ्य भने स्पष्ट देखिन थालेको छ ।

रवि र बालेन बसेर समानुपातिक उम्मेदवार टुंगो लगाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन सहमति गरेसँगै आसन्न निर्वाचनका लागि उम्मेदवारीमा उनले कति हिस्सा माग्छन् भन्ने चर्चा सुरू भएको छ । पार्टी तथा चुनावका लागि हुने उम्मेदवारीमा बालेन पक्षको कति प्रतिशत हिस्सेदारी हुनेबारे अहिले कुनै सहमति नभएको रास्वपाका नेता शिशिर खनाल बताउँछन् । फागुन २१ मा हुने प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने म्याद भोलिसम्म मात्र बाँकी छ ।त्यसो भए, अब कसरी उनीहरूले उम्मेदवार छान्छन् त ?

दुवै जना बसेर समानुपातिकका लागि सूची तयार गर्ने उनले बताएका छन् । ‘आफ्नो आफ्नो सूची बनाउनु हुन्छ । दुवै जना बसेर आफ्ना आफ्ना सूचीमा छलफल गर्नु हुन्छ । दुवैको सहमतिमा सूची तयार हुन्छ,’ उनले भने,‘अहिले यो विषय खुला राखिएको पनि त्यही भएर हो ।’ प्रत्यक्ष निर्वाचनका लागि भने रास्वपाले पार्टीभित्र चुनाव गराएर उम्मेदवार चयन गर्छ । त्यसका लागि बालेन पक्षका उम्मेदवारहरूले पनि प्रतिस्पर्धामा भाग लिनुपर्ने हुन्छ । शनिबार राति भएको सम्झौतामा एकता पश्चात् योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर अनुभवी विज्ञहरूलाई समावेश गर्दै संगठनात्मक संरचना थप गर्ने अनि निर्वाचन आयोगमा दस्तावेज अद्यावधिक गर्ने उल्लेख छ ।

 

रवि–बालेन सम्झौतापछि कुलमानकाे पार्टीले भन्यो–जेनजी आन्दोलनको भावना समेटिएन

काठमाडौं । वैकल्पिक राजनीतिक धार निर्माणको बहुप्रतीक्षित प्रयास अन्ततः त्रिपक्षीय एकतामा रूपान्तरण हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ यो प्रक्रियाबाट अलग भएका छन् । उज्यालो नेपाल पार्टीले उक्त सहमतिले ‘जेनजी आन्दोलनको मूल भावना’ नसमेटेको भन्दै असहमति जनाएको छ ।

आइतबार बिहान रवि र बालेनले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुई पक्षीय एकताको औपचारिक घोषणा गरे । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी गरिएको छ । तर यही संरचनाले उज्यालो नेपाल पार्टीको पहिचान र भूमिकालाई ओझेलमा पार्ने निष्कर्षसहित कुलमान पछाडि हटेका हुन् ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न जितराम लामाले सहमतिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यो सम्झौता अपेक्षाकृत थिएन । त्यहाँ पदको भागबण्डा बाहेक भोलिको रोडम्याप, नीतिगत स्पष्टता र देशका समस्या समाधानका उपाय देखिँदैनन् । जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेटिएको छैन ।’ उनका अनुसार पार्टीले अब आफ्नै ढंगले संगठन विस्तार गर्दै कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतामा जाने निर्णय गरेको छ ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच भइरहेको संवादमा रवि जोडिएपछि त्रिपक्षीय वार्ता अघि बढेको बताइन्छ । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा कुरा टुंगिन सकेन । छलफलमा सबै संरचना र पहिचान रास्वपाकै रहने र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । यसले उज्यालो नेपाल पार्टीको अस्तित्व नै विलय हुने ठहरसहित कुलमानले अस्वीकार गरेका थिए ।

स्रोतहरूका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न उज्यालो नेपाल पार्टीकै स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आवश्यक नरहेको भन्दै संरचनागत सम्मान र दीर्घकालीन राजनीतिक दिशामा जोड दिएका थिए । तर रवि र बालेन यसमा सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गर्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीमा भएको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि शक्ति बाँडफाँड मिलाउने आश्वासन दिइए पनि बालेनले सुरुदेखि नै स्पष्ट संरचना र भूमिकाको माग गरेका थिए ।

त्यसपछि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । उनले राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै वैकल्पिक शक्ति निर्माणको संकेत दिएका थिए । बालेन अलग बाटोमा अघि बढेको बुझाइपछि रविले पुनः संवाद थाले र पुस १० गतेको छलफलमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएको बताइन्छ । त्यसपछि दुवै पक्षका प्रतिनिधि रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर उज्यालो नेपाल पार्टीका प्रतिनिधिलाई कार्यदलमा समेटिन नसक्नु, रविले जेलबाट छुटेपछि कुलमानसँग प्रत्यक्ष संवाद नगर्नु र शक्ति बाँडफाँडमा लचकता नदेखिनुका कारण कुलमान असन्तुष्ट बने । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर विलय नहुने औपचारिक निर्णय समेत गरिसकेको थियो ।

यद्यपि अन्तिम समयसम्म बालेनले कुलमानलाई मनाउने प्रयास जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । परिणामतः चर्चित त्रिपक्षीय वैकल्पिक राजनीतिक धार निर्माणको प्रयास दुई पक्षीय सहमतिमा सीमित रह्यो । अब रवि–बालेन एउटै प्लेटफर्मबाट अघि बढ्ने भएका छन् भने कुलमान घिसिङ आफ्नै दलसहित अलग राजनीतिक यात्रामा निस्कने संकेत स्पष्ट देखिएको छ ।

 

रास्वपामा बालेनलाई सभापति रवि पछिको वरीयता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिका मेयर बालेन शाह रवि लामिछाने पछिको वरियतामा रहने भएका छन् । आज (आइतबार) बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचनपछि संसदीय दलको नेता बनाउने छ ।

तर सहमतिमा बालेन शाह रास्वपामा कुन जिम्मेवारीमा रहने भन्ने विषयमा केही उल्लेख छैन । बालेन निकट केपी खनालका अनुसार बालेनलाई रास्वपामा दोस्रो वरीयता दिने सहमति छ । ‘भावी प्रधानमन्त्रीको उम्मेद्वार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा दोस्रो वरीयतामा रहनु हुन्छ,’ बालेनका निकट केपी खनालले सुनाए, ‘मेयर बालेनले कुनै पदको कुरा वार्तामा गर्नु भएको छैन । उहाँले देशलाई निकास दिनुपर्छ भन्ने हिसाबले कुरा गर्नुभएको थियो । तर भावी प्रधानमन्त्रीको हिसाबले उहाँ सभापति रवि लामिछानेपछिको वरीयतामा रहनुहुन्छ ।’

सहमतिमा केन्द्रीय समितिमा बालेन पक्षका को को र कति जना सहभागी हुने भन्ने विषय उल्लेख गरिएको छैन । तर युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्ने भनिएको छ । ‘एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिमा उल्लेख छ ।

हस्ताक्षरपछि रविले भने–सहमति नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक एकताको औपचारिक सहमति भएको छ । आइतबार बिहान दुबै नेताले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।

सहमति अनुसार एकता पछि कायम रहने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै हुनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमतिपत्रमा उल्लेख छ ।

राजनीतिक संरचनाको विषयमा पनि स्पष्ट सहमति गरिएको छ । रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । यसले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ।

सहमति पछि प्रतिक्रिया दिँदै रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफूहरूको कदम व्यक्ति केन्द्रित नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘सहमति भनेको नेताले खोजे जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’ उनको भनाइले यो एकता व्यक्तिगत महत्वाकांक्षाभन्दा देशको आवश्यकतालाई केन्द्रमा राखेर गरिएको दाबी गर्छ ।

रवि–बालेनबीचको यो सहमतिलाई नयाँ पुस्ताको राजनीति र वैकल्पिक शक्तिको प्रयासका रूपमा हेरिएको छ । विशेष गरी काठमाडौं महानगरका मेयरका रूपमा बालेनको सक्रियता र रास्वपाको उदयसँगै बनेको यो एकताले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

रवि–बालेन हस्ताक्षरमा को–को थिए साक्षी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच गोप्य वार्तापछि सहमति भएको छ । अत्यन्तै सीमित व्यक्तिहरू मात्रै सहभागी भएको वार्तापछि आज बिहान करिब चार बजेतिर सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

हिजो रातिसम्म पनि वार्ता चलिरहेको विषयमा सञ्चारकर्मीलाई जानकारी नदिइएको र सहमति प्रक्रिया पूर्ण रूपमा गोप्य राखिएको बताइएको छ । हस्ताक्षर समारोहमा दुवै पक्षका करिब एक दर्जन व्यक्तिहरू उपस्थित थिए, जसलाई सम्झौताका प्रत्यक्ष साक्षीका रूपमा लिइएको छ ।

रास्वपाको तर्फबाट उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र असिम साह वार्ता तथा हस्ताक्षर प्रक्रियामा सहभागी थिए । असिम साहका दाइ आसिफ साहको पनि उपस्थिति रहेको थियो । सहमतिमा उल्लेख भएअनुसार पार्टी सभापति रवि लामिछाने यथावत रहने र भावी प्रधानमन्त्रीको रूपमा बालेन साहलाई अघि सारिने समझदारी भएको जनाइएको छ ।

बालेनको पक्षबाट कुमार बेन, भुपदेव साह, सुदिप ढकाल, जेन–जी युवा अगुवा केपी खनाल तथा कलाकार निश्चल बस्नेतलगायत निकट व्यक्तिहरू उपस्थित थिए । हस्ताक्षरपछि रवि लामिछाने र बालेन साहले एकअर्कालाई अंगालो हाल्दै सहमतिको औपचारिक घोषणा गरेका थिए । त्यसपछि सहभागी सबैले सामूहिक तस्बिर खिचाएका थिए ।

सम्झौतापछि प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले यो सहमति नेताहरूको व्यक्तिगत चाहनाअनुसार नभई देशलाई आवश्यक पर्ने दिशामा केन्द्रित भएको बताएका छन् । लामो समयदेखि चल्दै आएको संवाद र प्रयासपछि भएको यो सहमतिलाई दुवै पक्षले ‘ब्रेकथ्रु’ को रूपमा लिएका छन् ।

बाबुराम–जनार्दनलाई छाडेर युवा नेता रास्वपामा प्रवेश

काठमाडौं । विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरे ।

केही समयअघि जेन–जी अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ । बाबुराम भट्टराई–जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का एक युवा नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । अघिल्लो महिना गठन भएको प्रलोपा छोडेर नेता दिपक महतोले रास्वपा रोजेका हुन् ।

रास्वपाको समानुपातिक उम्मेदवारमा दलिततर्फ डा. रूपक घिमिरे आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रूपक घिमिरे पनि समावेश भएका छन् । हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौँ सम्पर्क समितिका संयोजक डा. घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको दलिततर्फ आकांक्षी सूचीमा समेटिएका हुन् ।

काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस र एमडी (डर्माटोलोजी) अध्ययन गरेका उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्य डा. घिमिरे चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन् । काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल गरेका थिए ।

युवामैत्री राजनीतिका पक्षधर डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् । स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेनजी आन्दोलनका अगुवाका रूपमा चिनिन्छन् । मिस्टर नेपाल २०११ का विजेता तथा २०१५ मा प्रदर्शन भएको नेपाली चलचित्रको नायक समेत रहेका उनीसँग दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा अभिनयको समेत अनुभव छ । रास्वपाले पुस १२ र १३ गते आरएसपी मोबाइल एपमार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।