जनकपुरबाट रविको हुंकार : छलछामले रोकिँदैनौं, अब सबैभन्दा ठूलो पार्टी बनाएर संसद फर्किन्छौं
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट हटाइए पनि अब जनताको बलमा सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसदमा पुनः प्रवेश गर्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले अघिल्लो निर्वाचनमा चितवनका जनताले सबैभन्दा धेरै मत दिएर पठाउँदा पनि षड्यन्त्रपूर्वक आफूलाई संसदबाट बाहिर गरिएको आरोप लगाए ।
‘चितवनका जनताले मलाई सबैभन्दा धेरै भोट दिएर पठाएका थिए । हिजो सबैभन्दा धेरै मत ल्याउने सांसद म नै थिएँ,’ उनले भने, ‘तर छलछाम गरेर मलाई संसदबाट हटाइयो । अब व्यक्तिका रूपमा होइन, पार्टीकै रूपमा सबैभन्दा धेरै मत ल्याएर संसदमा जानेछौं ।’ लामिछानेले आफू जनताको मुद्दा बोकेर हिँडेकाले आफूमाथि लगाइएका मुद्दाबाट डराउने अवस्था नरहेको बताए । अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दाले फेरि जेल जानुपरे पनि अब चिन्ता नभएको उनको भनाइ थियो । ‘हेलिकप्टरबाट भाग्ने, बच्चाको टाउको र छातीमा गोली ठोकेर भाग्ने सरकारले लगाएको मुद्दाले मलाई जेल पुर्याउला,’ उनले भने, ‘तर अब मलाई कुनै चिन्ता छैन ।’
उनले देशले अब वैकल्पिक नेतृत्व पाइसकेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति भरोसा व्यक्त गरे । ‘मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ,’ उनले भने । बच्चामाथि गोली चलाउने र जनतामाथि दमन गर्नेहरूले देश र मधेशलाई गरेको अन्यायको हिसाब अब लिनुपर्ने समय आएको उनको भनाइ थियो । जनताले भगाएका शक्तिहरूलाई अब देश छाड भनेर भन्न नपर्ने अवस्था आउने दाबीसमेत उनले गरे ।
सभामा बोल्दै लामिछानेले बालेनले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘मैले आमाको फोटो हेरेर गम्भीर रूपमा सोचें,’ उनले भावुक हुँदै भने, ‘मलाई लाग्यो, बालेनले देश बनाउँछ । मैले आमासँग भनेँ, आमा बालेनले देश बनाउँछ ।’ देश र जनताको हितका लागि आफू र बालेन एकै ठाउँमा उभिएको उनको भनाइ थियो । उनले आफू र बालेनबीच भएको छलफल छोटो तर सार्थक भएको पनि खुलाए ।
‘रवि र बालेनको वार्ता पाँच मिनेटमै सकिएको हो,’ उनले भने, ‘अरु समय त एक–अर्कालाई चिन्ने र बुझ्ने क्रममा बित्यो ।’ लामिछानेले अबको राजनीति डर, दमन र षड्यन्त्रको होइन, जनताको भरोसा, इमानदारी र परिवर्तनको हुने दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसको नेतृत्व गर्न तयार रहेको बताए । उनले जनतालाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ सशक्त रूपमा जनताको आवाज संसदमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
