एकता भङ्गपछि रास्वपाले सच्यायो समानुपातिक बन्दसूची
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बुझाएको बन्दसूची पुनः अध्यावधिक गरेको छ । उज्यालो नेपाल पार्टीसँग भएको एकता औपचारिक रूपमा भङ्ग भएपछि रास्वपाले आइतबार निर्वाचन आयोग पुगेर संशोधित सूची दर्ता गराएको हो । रास्वपाका प्रवक्ता मनीष झाले उज्यालो नेपालसँगको एकता शनिबार साँझ अन्त्य भएपछि आसन्न निर्वाचनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरिएको जानकारी दिए। यसअघि एकताको सहमतिअनुसार दुवै दलले संयुक्त रूपमा समानुपातिक बन्दसूची बुझाएका थिए ।
एकता भंग भएसँगै उज्यालो नेपाल पार्टीका अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् । तर, अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टी समानुपातिकतर्फ सहभागी नहुने भएको छ । एकता कायम रहँदा उज्यालो नेपालका तर्फबाट पनि रास्वपाकै नाममा सूची बुझाइएको थियो । यसैबीच, रास्वपाले यसअघि बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर पार्टीभित्र र बाहिर व्यापक आलोचना भएको थियो ।
आलोचनापछि सूचीमा समेटिएका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु) र मोहना अन्सारीलगायतले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए । उज्यालो नेपालबाट समावेश गरिएका तथा नाम फिर्ता लिएका नेताहरूको स्थानमा नयाँ नाम समेटेर रास्वपाले समानुपातिक बन्दसूची पुनः संशोधन गरेको हो । पार्टीका अनुसार अद्यावधिक सूची निर्वाचन आयोगको नियम र समयसीमाअनुसार दर्ता भइसकेको छ । एकता भङ्ग र बन्दसूची संशोधनको यो घटनाले निर्वाचनको तयारीमा रहेका दलहरूको आन्तरिक व्यवस्थापन र रणनीतिमा प्रभाव पार्ने देखिएको छ ।
