उज्यालो नेपालको आकस्मिक बैठक बस्दै, रास्वपासँग छुट्टिएर अध्यक्ष बन्दै कुलमान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भंग भएपछि उज्यालो नेपाल पार्टीमा ठूलो राजनीतिक मोड आएको छ । सहमति अगाडि बढ्न नसकेपछि पार्टीका संरक्षक कुलमान घिसिङले अब नेतृत्व आफैं सम्हाल्ने तयारी गरेका छन् र उनी उज्यालो नेपालको अध्यक्ष बन्ने भएका छन् ।
रास्वपासँग भएका छलफलहरू निष्कर्षमा नपुगेपछि उज्यालो नेपालले शनिबार आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक दिउँसो ४ः३० बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बस्नेछ । बैठकपछि साँझ ६ बजे सोही स्थानमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको छ, जहाँ एकता भंग हुनुका कारण र आगामी राजनीतिक बाटोबारे औपचारिक धारणा सार्वजनिक गरिनेछ ।
उज्यालो नेपालका तर्फबाट अघि सारिएका केही राजनीतिक र संगठनात्मक मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता प्रक्रिया टुटेको घोषणा गरिसकेको छ । पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेकै कारण सहकार्य निरन्तरता दिन नसकिने निष्कर्षमा कुलमान घिसिङ पुगेका हुन् । यसैबीच, उज्यालो नेपालसँगको सहकार्य अगाडि नबढ्ने भएपछि त्यसबारे छलफल गर्न रास्वपाको आकस्मिक सचिवालय बैठक पनि अहिले जुममार्फत जारी छ ।
रास्वपा र उज्यालो नेपालबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो, तर त्यसलाई व्यवहारमा उतार्ने क्रममा देखिएका मतभेदले अन्ततः एकता प्रक्रिया टुटेको हो ।
एकता भंगसँगै उज्यालो नेपालले अब स्वतन्त्र राजनीतिक यात्राको संकेत दिएको छ । आजको केन्द्रीय समिति बैठक र त्यसपछि हुने पत्रकार सम्मेलनले कुलमान घिसिङको औपचारिक नेतृत्व घोषणा र पार्टीको आगामी रणनीतिबारे स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
