`

रास्वपाको चुनावी सक्रियता तीव्र : झापामा सबिनाको घरदैलो, बालेन सुदूरपश्चिम यात्रामा

Nepal One HD १२ माघ २०८२ १२:२३
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका विभिन्न क्षेत्रमा चुनावी सक्रियता बढाएको छ । झापादेखि सुदूरपश्चिमसम्म पार्टीका शीर्ष नेताहरू मतदाता केन्द्रित अभियान र भ्रमणमा जुटिरहेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सोमबार बिहान रास्वपाले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) की पत्नी सबिना काफ्लेको नेतृत्वमा बिहान ८ बजेदेखि ११ बजेसम्म घरदैलो अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ ।

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको कार्यक्रम पाणिनि स्कूल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो । घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरिएको रास्वपाले जनाएको छ । यता, वरिष्ठ नेता बालेन्द्र शाह सोमबार बर्दिया हुँदै सुदूरपश्चिमतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

रास्वपा बर्दियाका सचिव दीपक बीसीका अनुसार बालेन शाह दिउँसो करिब साढे १ बजे गुलरिया बजारको राधाकृष्ण चोकमा पुग्ने छन् । ‘उहाँ यही मार्ग प्रयोग गरी सुदूरपश्चिम जान लाग्नु भएको हो । औपचारिक भेटघाटको कार्यक्रम तय नभए पनि चोकमा केहीबेर रोकिनु हुनेछ,’ सचिव बीसीले बताए । बालेन शाह बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने जानकारी दिइएको छ । रास्वपाले देशका विभिन्न क्षेत्रमा यसरी सक्रियता बढाउँदै जनसम्पर्क र संगठन विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *