उम्मेदवार छनोट गर्न रास्वपाले बनायो स्वर्णिमको नेतृत्वमा उपसमिति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाएको छ । यसै क्रममा पार्टीले उम्मेदवार छनोट तथा पार्टी एकता–समायोजनसँग सम्बन्धित दुई महत्वपूर्ण उपसमिति गठन गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार छनोट सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार उक्त उपसमितिलाई आगामी निर्वाचनका लागि योग्य उम्मेदवारको पहिचान गर्ने र उम्मेदवार छनोटको प्रक्रिया तय गरी केन्द्रीय समितिमा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उम्मेदवार छनोट उपसमितिमा संयोजकसहित सात जना सदस्य रहने छन् । उपसमितिका अन्य सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय बैठकले गरेको छ । पार्टीले पारदर्शी, मापदण्डमा आधारित र क्षमतावान उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत गर्न यो समिति गठन गरिएको जनाएको छ ।
त्यसैगरी बैठकले पार्टी एकता तथा समायोजनसम्बन्धी कार्यलाई सहजीकरण गरी निष्कर्षमा पुर्याउने उद्देश्यले अर्को उपसमिति पनि गठन गरेको छ । उक्त उपसमितिको संयोजकत्व पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिइएको छ । यो उपसमितिले पार्टीभित्रको एकता, समायोजन र संगठनात्मक व्यवस्थापनका विषयमा आवश्यक पहल गर्नेछ । रास्वपाले यी दुई उपसमिति गठनसँगै निर्वाचन केन्द्रित रणनीति र आन्तरिक संगठन सुदृढीकरणलाई एकसाथ अघि बढाउने संकेत दिएको छ । पार्टी नेतृत्वले यी निर्णयले आगामी निर्वाचनमा पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ ।
