झापा–५ मा बालेन बिहानैदेखि घरदैलोमा व्यस्त {तस्वीरहरु}
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा सक्रिय रूपमा मैदानमा उत्रिएका छन् । मंगलबार उम्मेदवारी दर्ता गराएपछि उनी बुधबार बिहानैदेखि निर्वाचन क्षेत्रमै रहेर घरदैलो अभियान र मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।
बालेनले झापा–५ का विभिन्न बस्तीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । समुदायका सबै वर्गका नागरिकसँग भेटघाट गर्दै उनीहरूले उठाएका समस्या, गुनासा र अपेक्षा सुन्ने कार्यलाई उनले प्राथमिकता दिएका छन् । सडक, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विषयमा स्थानीयको धारणा सुन्दै उनले आफ्नो दृष्टिकोण पनि राखिरहेका छन् ।
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका बालेन झापा–५ मा प्रभावशाली प्रतिष्पर्धामा छन् । यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेकाले चुनावी प्रतिष्पर्धा थप चासोको विषय बनेको छ ।
मतदातासँगको भेटघाटका क्रममा बालेन सरल शैलीमा प्रस्तुत भएका छन् । स्थानीय चिया पसल, घरआँगन र सामुदायिक जमघटमा पुगेर उनले ‘प्रतिनिधि संसदमा पुगेर जनताको आवाज बलियो बनाउने’ प्रतिबद्धता दोहो¥याएका छन् ।
झापा–५ मा बालेनको सक्रियतासँगै निर्वाचनको माहोल क्रमशः तातिँदै गएको छ । उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत तस्वीर र गतिविधि साझा गरिरहेका छन् भने राजनीतिक वृत्तमा यो प्रतिष्पर्धालाई यस पटकको निर्वाचनको सबैभन्दा रोचक लडाइँमध्ये एकका रूपमा हेरिएको छ ।

