रास्वपा–उज्यालो नेपाल एकता ‘संकट’ मा, ‘नयाँ विकल्प’ को खोजीमा हुन् कुलमान ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते भएको एकता १२ दिन नपुग्दै संकटमा परेको छ । समानुपातिक बन्दसूची सच्च्याउने निर्वाचन आयोगको अन्तिम म्याद नजिकिँदै गर्दा उज्यालो नेपाल पार्टी रास्वपासँगको सहकार्य तोडेर नयाँ राजनीतिक विकल्पतर्फ जाने तयारीमा देखिएको छ । एकतापछि बनेको संरचनामा रास्वपा, रवि लामिछाने र कुलमान घिसिङ पक्ष अत्यधिक हाबी भएको निष्कर्ष निकाल्दै उज्यालो नेपाल पार्टी अलग्गिने मनस्थितिमा पुगेको स्रोतहरूको भनाइ छ । उज्यालो नेपालका अवधारणाकार कुलमान घिसिङले पार्टीभित्र ब्रिफिङ गर्दै रास्वपासँग छुट्टिएर फरक ढंगले अगाडि बढ्ने संकेत दिएका छन् ।
रास्वपासँगको सहमतिअनुसार समानुपातिकतर्फ उज्यालो नेपालका १८ जनाको नाम समावेश गर्ने भनिए पनि व्यवहारमा दलित महिला कोटाबाट रिमा विश्वकर्माबाहेक अन्य नेताको सांसद बन्ने सम्भावना न्यून रहेको उज्यालो नेताहरूको मूल्याङ्कन छ । यही कारण एकताबाट पार्टीको पहिचान नै हराएको अनुभूति उज्यालो नेपालमा बढ्दै गएको छ । ‘आज रातिसम्म सहमति नबने नयाँ ढंगले अगाडि बढ्छौं,’ उज्यालो नेपालका एक केन्द्रीय सदस्यले सुनाए । पार्टी नेता जीतराम वाइबाले पनि सहमति हुने–नहुने दुवै सम्भावना बराबर रहेको भन्दै सम्मानजनक एकता र समायोजन नै आफ्नो माग भएको स्पष्ट पारे।
शुक्रबार बिहान कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच करिब तीन घण्टा वार्ता भए पनि कुनै ठोस निचोड ननिस्किएको स्रोतले जनाएको छ । त्यसपछि घिसिङ उज्यालो नेपाल पार्टीका नेताहरूसँग काठमाडौँको बौद्धमा छलफलमा जुटेका छन् । उक्त बैठकमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायसहित केन्द्रीय नेताहरू सहभागी छन् । रास्वपा स्रोतका अनुसार, कुलमानलाई वरिष्ठ उपसभापति बनाउने सहमति पार्टीभित्र अनुमोदनको प्रक्रियामा भए पनि उज्यालो नेपाल पक्ष त्यसबाट सन्तुष्ट छैन । ‘यो सहमतिबाट न रवि खुशी छन्, न कुलमान,’ एक स्रोतले भन्यो, ‘नयाँहरू मिल्नु पर्छ भन्ने सन्देश दिनका लागि मात्र हस्ताक्षर भएको जस्तो देखिन्छ ।’
मन्त्री पदबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका कुलमान घिसिङले आफ्नै बलमा २५–३० सिट जित्न सके प्रधानमन्त्री बन्ने अवस्था आउन सक्ने दाबी पार्टीभित्र गरेका छन् । ‘पहिचान र इमान गुमाएर बस्नुको अर्थ छैन,’ घिसिङको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा पनि घिसिङले आफूले कुनै दलको सदस्यता नलिएको र रास्वपाको वरिष्ठ उपसभापति स्वीकार नगरेको स्पष्ट पारेका थिए ।
रास्वपासँग सहकार्य कमजोर बनेपछि उज्यालो नेपाल पार्टीले बन्दसूची बुझाइसकेको अन्य दलसँग संवाद अघि बढाएको छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतसँग चुनावी तालमेल र बन्दसूची पुनर्संरचनाबारे छलफल भइरहेको स्रोतले जनाएको छ । एकता भएकै दिन त्रिपुरेश्वरमा कार्यालय स्थापना गरेको उज्यालो नेपाल पार्टी अहिले भने रास्वपासँगको सहकार्य अन्त्य गर्ने कि अन्तिम प्रयासमा सहमति खोज्ने भन्ने निर्णायक मोडमा पुगेको छ । आज रातिसम्म हुने छलफलले नयाँ राजनीतिक समीकरणको दिशा तय गर्ने देखिन्छ ।
