भावी प्रधानमन्त्रीको दौडमा बालेन, मधेशबाट रास्वपाको राष्ट्रिय अभियान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रिय राजनीतिमा ठूलो तरङ्ग ल्याउने तयारी गरेको छ । पार्टीभित्रको नीतिगत संवाद, संगठन विस्तार र चुनावी रणनीतिलाई एकै सूत्रमा बाँध्दै रास्वपाले मधेशबाटै नयाँ राजनीतिक अभियानको औपचारिक शंखघोष गर्ने भएको छ ।
रास्वपाका प्रभावशाली नेता डा. स्वर्णिम वाग्ले र मेयर बालेनबीच हालै सघन संवाद भएको छ । बिहीबार बिहान बालेनसँगको तस्वीर सार्वजनिक गर्दै वाग्लेले यसलाई ‘नीतिगत स्पष्टताको चरण’ भनेका छन् । उनका अनुसार आर्थिक सुधार, रोजगारी सिर्जना, राजस्व–खर्च व्यवस्थापन, आधुनिक पूर्वाधार र काठमाडौं महानगरमा प्रयोग भएको ‘डेलिभरी मोडल’ लाई राष्ट्रिय एजेण्डाका रूपमा स्थापित गर्ने विषयमा चरणबद्ध छलफल भइरहेको छ । यही सन्दर्भमा बालेनलाई आगामी सरकारको ‘प्रस्तावित प्रधानमन्त्री’ का रूपमा अघि सार्ने तयारी पार्टीले गरेको संकेत वाग्लेले दिएका छन् ।
यसै रणनीतिअन्तर्गत रास्वपाको शीर्ष नेतृत्व आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुग्दैछ । सभापति रवि लामिछाने, डा. स्वर्णिम वाग्लेसहितको टोलीले उक्त दिनदेखि ‘देश जोड्ने र बनाउने महाअभियान’ सुरु गर्ने जनाएको छ । वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास २१ फागुनको निर्वाचनबाट ।’ मधेश यात्रालाई केवल सांगठनिक भ्रमण नभई नयाँ राष्ट्रिय सोचको बीजारोपणका रूपमा रास्वपाले व्याख्या गरेको छ । पार्टीका अनुसार मधेशको माटोबाटै राष्ट्रिय एकता, विकास र सुशासनको नयाँ कथा लेख्ने लक्ष्य राखिएको छ ।
यसबीच, राजनीतिक वृत्तमा थप चासोको विषय बनेको छ—बालेनको प्रत्यक्ष चुनावी मैदानमा प्रवेश । रास्वपामा औपचारिक रूपमा आबद्ध भइसकेका बालेनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिने तयारी गरेका छन् । ५ माघबाटै उनको चुनाव केन्द्रीत यात्रा सुरु हुने र पहिलो सार्वजनिक कार्यक्रम जनकपुरधाममै हुने तय भएको छ । यो कार्यक्रम बालेन र रवि लामिछाने पहिलो पटक एउटै मञ्चमा देखिने अवसरसमेत हुनेछ ।
रास्वपाले बालेनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको बताइन्छ, यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ । जनकपुरको कार्यक्रमपछि बालेन झापा जाने र रवि लामिछाने चितवन झर्ने कार्यतालिका बनाइएको छ । माघ ६ गते प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता भएपछि दुवै नेताहरू देशव्यापी दौडाहामा निस्किने पार्टीको योजना छ । मधेशमा प्रभाव पार्ने रणनीतिअन्तर्गत रास्वपाले बालेनलाई ‘मधेश पुत्र’ का रूपमा ब्रान्डिङ गर्न थालेको छ ।
मधेशका विभिन्न स्थानमा ‘अबकी बार–बालेन सरकार’ लेखिएका पोस्टर देखिन थालेका छन् । बालेनको पुख्र्यौली थलो महोत्तरी जिल्ला (एकडारा गाउँपालिका) पर्नु र उनलाई ‘सम्भावित पहिलो मधेशी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गर्नुले मधेशी जनमतमा गहिरो प्रभाव पार्ने विश्लेषण भइरहेको छ । यद्यपि उनको जन्म काठमाडौंको नरदेवीमा भएको हो र उनी हाल काठमाडौंका स्थायी बासिन्दा हुन् । समग्रमा, रास्वपाले मधेशबाटै चुनावी अभियान सुरु गर्दै बालेनलाई विकास, सुशासन र नयाँ राजनीतिक संस्कृतिको प्रतीकका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ । मधेश यात्रा केवल क्षेत्रीय भ्रमण नभई राष्ट्रिय सत्ता राजनीतिमा नयाँ अध्यायको सुरुवात बन्ने संकेत रास्वपाले स्पष्ट रूपमा दिएको छ ।
