ममाथि अझै तरबार झुण्डिए पनि डर छैन, देशलाई जालझेलबाट मुक्त गर्छु : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको राजनीतिक प्रतिशोधलाई क्षमा गर्न सक्ने क्षमता आफूमा रहेको बताएका छन् । चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिशोधको राजनीति अन्त्य गरेर देशको भविष्य लेख्ने अधिकार नेपाली जनतालाई नै सुम्पिने घोषणा गरे ।
लामिछानेले पुराना दल र प्रवृत्तिलाई प्रतिपक्षमै राखिरहनु आवश्यक नरहेको टिप्पणी गरेका छन् । ‘किन राख्ने प्रतिपक्षमा ? के का लागि राख्ने ? कलिला बालबालिकाको टाउको र छातीमा ताकीताकी गोली हान्न ?’ भन्दै उनले विगतका राजनीतिक अभ्यासप्रति तीखो प्रश्न उठाएका छन् । आफूलाई कटाक्ष गर्ने मन नभए पनि राज्यबाट भएको दमनले चित्त दुखेको उनको भनाइ थियो । उनले आफूविरुद्धको मुद्दा र कारबाहीलाई व्यक्तिगत विषय नभई समग्र देशसँग जोडिएको प्रश्नका रूपमा व्याख्या गरे । ‘यो मेरो निजी कुरा रहेन, सिङ्गो देशको कुरा बनिसक्यो’, उनले भने, ‘मैले कारागारबाट पनि भनेको थिएँ–मलाई जेल हाले भनेर चिन्ता नगर्नुस्, किनकी यिनीहरूले सिङ्गो देशलाई नै जेल बनाएका छन् ।’
लामिछानेले देशलाई ‘जेल’ बनाउने प्रवृत्तिबाट मुक्त गराउने संघर्ष अझै बाँकी रहेको बताए । ‘यो लडाइँ लड्नै परे पनि मलाई कुनै आपत्ति छैन’, भन्दै उनले राजनीतिक दबाब र जोखिमबीच पनि पछि नहट्ने संकेत गरे । कार्यक्रममा उनले अझै पनि आफू माथि ‘पाँच ठाउँमा तरबार झुण्डिएको’ अवस्था रहेको उल्लेख गर्दै जुनसुकै बेला त्यो खस्न सक्ने बताए । तर, त्यसप्रति आफूलाई कुनै डर नरहेको उनले स्पष्ट पारे । ‘तरबार खसोस्, मलाई पर्वाह छैन’, उनले भने, ‘तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो ।’
आफू सांसदका रूपमा निर्वाचित भए पनि जनताका घरआँगनमा पुगेर अपेक्षित रूपमा काम गर्न नपाएको गुनासो उनले व्यक्त गरे । ‘धित मर्ने गरी काम गर्नै पाइनँ, जनताबीच पुग्नै पाइनँ’, उनले स्वीकारे । यद्यपि, आफ्नो कार्यकालमा तीनवटा सार्वजनिक सुनुवाइ गर्न सफल भएको उल्लेख गर्दै उनले पारदर्शिताप्रति प्रतिबद्धता दोहोर्याए । बारम्बारका मुद्दा, झमेला र कानुनी प्रक्रियाका कारण धेरै प्रतिबद्धता पूरा गर्न नपाएको स्वीकार्दै उनले समर्थकप्रति भावुक सन्देश दिए । ‘तपाईंहरूले मेरा लागि बगाउनु भएको आँशसु मलाई याद छ’, उनले भने, ‘त्यो आँशसुको एक–एक थोपा खेर जान दिने छैन।’ लामिछानेको सम्बोधनले रास्वपाले आफूलाई केवल सत्ता राजनीतिमा सीमित नराखी ‘व्यवस्था र प्रवृत्तिविरुद्धको आन्दोलन’ का रूपमा अगाडि बढाउन खोजेको सन्देश दिएको विश्लेषकहरू बताउँछन् ।
