रास्वपाको समानुपातिक सूचीबाट रामजी रामले पनि फिर्ता लिए नाम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार डा. रामजी रामले आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनीद्वारा जारी गरिएको वक्तव्यमा डा. रामले यस निर्णयको पृष्ठभूमि दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्व भएको स्पष्ट पारेका छन् । डा. रामका अनुसार बन्दसूचीमा उनको नाम केवल व्यक्तिगत सम्मान मात्र नभई ‘पुस्तौंदेखि आवाजविहीन बनाइएका हजारौं सपनाको प्रतिनिधित्व’ पनि थियो । उनले भनेका छन्, ‘यो केवल मेरो नाम मात्र थिएन, दलित समुदायको सामूहिक आकांक्षा र पहिचान पनि थियो ।’
तर उनले राजनीतिलाई अवसरको माध्यमको रूपमा मात्र नहेर्ने बताएका छन् । डा. रामले स्पष्ट पारेका छन् कि राजनीति त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी हो । यही आत्ममूल्यांकनका आधारमा उनले आफूभन्दा पनि बढी पीडित र कम सुनिएका आवाज संसदमा पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् । ‘यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एउटा ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ’, उनले भनेका छन् ।
डा. रामले संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव भन्ने धारणा राख्दैनन् । उनले सामाजिक चेतना, नागरिक आन्दोलन र वैचारिक संघर्षका विभिन्न मोर्चाबाट पनि न्यायका लागि लड्न सकिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार, यो निर्णय पलायन होइन, बरु जिम्मेवारीको नयाँ सुरुवात हो । डा. रामले फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् ।
उनले भने, ‘यो यात्रा यहीँ समाप्त भएको होइन, अझ जिम्मेवार रूपमा सुरु भएको मात्र हो ।’ डा. राम रास्वपाको समानुपातिकतर्फ दलित कलस्टरको चौथो नम्बरमा सिफारिस भएका थिए । उनका साथै उक्त सूचीबाट हालसम्म ८ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । यो निर्णयले दलित समुदायको लामो समयदेखि मागेको राजनीतिक प्रतिनिधित्वमा नयाँ दृष्टिकोण र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको विश्लेषकहरूले बताएका छन् ।
