रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंहको उदघोष : बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु
काठमाडौं । निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन् । सोमबार जनकपुरमा आयोजित विशाल सभामार्फत सिंह रास्वपामा आबद्ध भएका हुन् । उनलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले दोसल्ला ओढाएर स्वागत गरेका थिए ।
पार्टी प्रवेशसँगै डा. सिंहले अब सर्लाही–४ बाट रास्वपाकै उम्मेदवारका रूपमा चुनाव लड्ने घोषणा गरेका छन् । सभालाई सम्बोधन गर्दै उनले आफू रवि लामिछाने र बालेन शाहलाई देशका नायकको रूपमा लिएको उल्लेख गर्दै उनीहरूको सिपाही भएर अगाडि बढ्ने बताए । भाषणका क्रममा सिंहले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आक्रामक अभिव्यक्ति दिए । उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आत्मदाह गर्ने दाबी समेत गरे ।
‘हामी सीता माताका सन्तान हौं । सीता माता यही धर्तीमा समाहित भएकी थिइन्’, भन्दै उनले दोहोर्याए, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म पनि जनकपुरको धर्तीमै समाहित हुनेछु ।’ सिंहले बालेनलाई देशको ‘महानायक’ भन्दै मधेशबाट प्रधानमन्त्री बनाइनु पर्ने धारणा राखे । गम्छा देखाउँदै उनले भावुक अपिल गरे, ‘मसँग केही छैन । हात जोडेर गम्छामै भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ ।’
सभामा उनले आफू देशका खलनायकविरुद्ध लड्ने र नायकहरूको पक्षमा उभिने स्पष्ट पारे । रास्वपामा प्रवेशसँगै मधेश केन्द्रित राजनीति थप चर्किने संकेत देखिएको छ भने सिंहको अभिव्यक्तिले राजनीतिक वृत्तमा व्यापक चर्चा पैदा गरेको छ ।
