`

प्रधानमन्त्रीलाई विप्लवको प्रश्न : चुनाव गर्न चाहेको कि युद्ध ?

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिए । सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध ? प्रधानमन्त्री कार्कीलाई विप्लवको प्रश्न थियो । उनले सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिए ।

महासचिव विप्लवले भने, ‘हाम्रो केन्द्रिय कम्युनमा प्रहरीहरुको अपरेशन भयो । हामी सुशीला कार्कीलाई यहीबाट थ्रेट गर्न चाहन्छौँ–राम्रोसँग सुन–तिमीले चुनाव गर्न चाहेको हौं कि युद्ध गर्न चाहेका हौं ? यो कुराको फैसला चाहिन्छ । तिमीले सोचेको होला–माओवादीलाई यसोउसो दवाव हालेर यहाँ सायद पत्रकार साथीहरु पनि आउनु भएको छ । राम्रोसँग सुन । गृहमन्त्री, सुशीला राम्रोसँग सुन । हामी त शान्तिपूर्ण ढंगले प्रतिष्पर्धामा उत्रिएका छौँ । शान्तिपूर्ण ढंगले यो राज्य हामीलाई दिनुस् भनेर नेपाली जनतालाई अपिल गर्दैछौ ।’

उनले भने, ‘चुनावमा जाने तयारी गर्दैछौँ । हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौँ नि । यतापटीको हाम्रो इमान्दारिता, स्वाभिमानता, साम्राज्यवादीहरुसँगको हाम्रो लडाईलाई, यहाँको दलालसँगको हाम्रो लडाईलाई घुमाउरो तरिकाले सोचेर हिजोको रोल्पामा रोमियो अपरेशन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीले अर्को परिकल्पना गरेका छौँ र हाम्रो केन्द्रिय कम्युनबाट तुरन्तै पुलिस फिर्ता गरेनौ र त्यहाँ भएका सबै गल्तीमा माफी मागेनौ भने चर्को मूल्य चुकाउनु पर्छ भन्ने हामी भन्न चाहन्छौँ ।’ महासचिव विप्लवले निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने समेत घोषणा गरे ।

सरकार भङ्ग गर्न माग गर्दै विप्लव माओवादीले शुरु गर्‍यो आन्दोलन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ । शुक्रवारबाट काठमाडौंमा आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् । सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ। आन्दोलन घोषणा गर्दै महासचिव चन्दले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरुको मनोभ्रम ध्वस्त पार्न आफूहरु तयार रहेको बताए । शुक्रबारबाट माओवादीले आन्दोलनको कार्यक्रम शुरु गरेको र यो निरन्तर जारी रहने बताए ।

पाँच सय र हजारको नोट बन्द गर्नुपर्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले देशमा बढ्दो भ्रष्टाचार र कालोधन नियन्त्रणका लागि कडा तथा असाधारण कदम चाल्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा उनले उच्च मूल्यका नोट खारेज गर्ने, नयाँ दरका नोट प्रचलनमा ल्याउने र भ्रष्टाचारविरुद्ध विशेष संयन्त्र बनाउने प्रस्ताव अघि सारेका हुन् ।

महासचिव चन्दका अनुसार कालो धनलाई नियन्त्रण गर्दै त्यसलाई जनताको बीचमा स्वीकार्य बनाउने उपायका रूपमा ५ सय र १ हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाउनु पर्छ । ती नोट खारेज गरेर २ सय, ४ सय र आवश्यक परे २ हजार रुपैयाँसम्मका नयाँ नोट प्रचलनमा ल्याउन सकिने उनको भनाइ छ । यसो गर्दा अवैध रूपमा जम्मा गरिएको धन बाहिर ल्याउन बाध्य पारिने र कालोधनको प्रभाव घट्ने दाबी उनले गरे । भ्रष्टाचार नियन्त्रणका लागि उनले उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्नेमा विशेष जोड दिए । सो आयोगले निष्पक्ष रूपमा अनुसन्धान गरी विशेष उच्चस्तरीय न्यायालयमार्फत फैसला गर्ने व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । त्यस्तो न्यायालयको फैसलालाई सर्वोच्च अदालतमा पुनरावेदन गर्न नपाइने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ, ताकि निर्णय प्रभावकारी र अन्तिम बनोस् ।

उनले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र गम्भीर प्रकृतिका अपराधमा हदैसम्मको जन्मकैदको सजाय दिन सकिने कानुनी व्यवस्था आवश्यक रहेको पनि बताए । यसले भ्रष्टाचारविरुद्ध कडा सन्देश जाने उनको विश्वास छ । महासचिव चन्दले पार्टीले अघि सारेका मागहरू पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनका अनुसार आन्दोलन हिंसात्मक नहुने र जनतामाझ आफ्ना एजेण्डा स्थापित गर्ने उद्देश्यले अघि बढाइने छ ।

वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले अहिलेको सरकारले निष्पक्ष र प्रभावकारी रूपमा निर्वाचन गराउन नसक्ने ठोकुवा गरे । प्रहरी र कर्मचारीतन्त्रको मनोबल कमजोर भएको अवस्थालाई औंल्याउँदै उनले सर्वपक्षीय सरकार गठन गर्नु आजको आवश्यकता भएको धारणा राखे ।
कम्युनिष्ट शक्तिहरूको एकताका विषयमा बोल्दै उनले दीर्घकालीन रूपमा एकताको आवश्यकता स्वीकार गरे पनि तत्काल त्यसको सम्भावना नरहेको बताए । केही साझा एजेण्डा सबै दलसँग मिल्ने उल्लेख गर्दै उनले सर्वपक्षीय सरकारको अवधारणा एमालेसँग मिल्न गएको आरोपलाई स्वाभाविक भएको बताए । महासचिव चन्दका यी प्रस्तावहरूले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ भने नोटबन्दी र भ्रष्टाचारविरुद्धको कडा व्यवस्थाबारे विभिन्न प्रतिक्रिया आउने संकेत देखिएको छ ।

विप्लवको चेतावनी : सर्वपक्षीय सरकार गठन नभए जेनजीलाई लिएर सडक आन्दोलनमा जान्छौं

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक दल र आन्दोलनरत जेनजी समूहलाई समेटेर सर्वपक्षीय सरकार गठन नभए सडक आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सर्वपक्षीय सरकार गठनको माग निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको ब्यारेकबाट निस्कनु भन्दा अगावै आफूहरूले उठाएको समेत उनले बताएका छन् । नेकपा माओवादीको चौंथो केन्द्रीय कमिटी बैठकको उद्घाटन मन्तव्यमा बिहीबार विप्लवले सर्वपक्षीय सरकार गठन नभइ चुनाव हुन नसक्ने बताएका हुन् ।

‘भदौ २३–२४ को घटनालगत्तै हामीले सर्वपक्षीय सरकार हुनुपर्छ, सकेसम्म राजनीतिक नेतृत्व आन्दोलनरत, विद्रोही शक्तिलाई स्वीकार हुनेगरी गठन गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव हो’ विप्लवले भने, ‘हाम्रो माग पूरा भएन भने जेनजी समूहलाई साथमा लिएर सडक आन्दोलनमा जान्छौं ।’ सर्वपक्षीय सरकार गठनको विषयलाई लिएर आफूहरूले एमाले अध्यक्ष ओली मात्र नभइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको उनले बताए ।

‘सर्वपक्षीय सरकारको कुरा हामीले शुरूमै ल्याएको हो । एमालेसँग मात्र छलफल गरेर निष्कर्ष निकालेको होइन, सबै दलसँग सहमति हुनुपर्छ’, उनले भने, ‘राष्ट्रवादको विषयमा सेना, देशभक्तसँग पनि कुरा मिल्छ ।’ विप्लवले सर्वपक्षीय सरकारको नेतृत्वका लागि पहिलो हकदार राजनीतिक दल भएपनि सबैलाई स्वीकार्य हुने साझा व्यक्ति खोज्न तयार रहेको बताए । त्यसरी बन्ने सरकारले चुनाव अघि नै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन लगायत केही प्रतिबद्धता गर्नुपर्ने उनले बताए ।

सरकार भङ्ग गर्न राष्ट्रपति पौडेललाई विप्लवको १० दिने अल्टिमेटम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले वर्तमान सरकारले जेनजी विद्रोहको भावना अनुरूप काम नगरेको भन्दै सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा माओवादीले वर्तमान सरकारलाई भंगगरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुझाएको उक्त ज्ञापनपत्रमा कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न १० दिने ‘अल्टिमेटम’ दिइएको छ । ‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ। यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरी पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेस गरेका छौँ’, ज्ञापनपत्रमामा भनिएको छ । त्यति मात्र नभइ प्रत्यक्ष निर्वाचिन कार्यकारीको व्यवस्था, भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायलय गठन, साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप बन्द गर्ने लगायतका मागहरु समेत अघि सारेका छन् । साथै आफ्ना मागहरु पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।

हेर्नुस् विप्लवका मागहरू

अवैध सरकारलाई समर्थन छैन, राष्ट्रिय स्वाधीनतामा अडान लिंदा एमालेले हमला भोग्दैछ : विप्लव

काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारलाई अवैध र कठपुतलीको संज्ञा दिएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारे ।

उनले देशमा न त आन्दोलनकारी सहभागी भएको सरकार रहेको न त संविधान र कानुनअनुसार चलेको सरकार नै देखिएको टिप्पणी गरे । उनका अनुसार अहिलेको सत्ता संरचना अस्वाभाविक र अवैधानिक अवस्थामा छ । यस्तो परिस्थितिमा सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्रै देशलाई निर्वाचनतर्फ लैजान सकिने विकल्प रहेको उनको भनाइ थियो । महासचिव विप्लवले नेकपा एमालेमाथि भइरहेको चौतर्फी आक्रमणको कारण राष्ट्रिय स्वाधीनतामा लिएको अडान नै भएको दाबी गरे।

उनले भने, एमालेभित्र कमजोरीहरू हुन सक्लान् तर अहिले भइरहेको हमला ती कमजोरीका कारण होइन, बरु साम्राज्यवादी योजनाअन्तर्गत भएको हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । यो समस्या एमालेको मात्रै नभई सम्पूर्ण कम्युनिस्ट आन्दोलन र देशकै स्वाधीनतासँग जोडिएको विषय भएको उनले बताए । महाधिवेशनमा देखिएको विशाल जनसहभागितालाई उल्लेख गर्दै विप्लवले यसले धेरै प्रश्नहरूको जवाफ दिएको बताए । उनले एमाले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जिज्ञासाको जवाफ आजको सभाले दिएको भन्दै यसले नेपाली जनता मात्र होइन, नेपालमाथि गिद्धे दृष्टि राख्ने शक्तिहरूलाई पनि सशक्त सन्देश दिएको बताए ।

कम्युनिष्टहरू सकिए, दलहरूले अब देशको नेतृत्व गर्न सक्दैनन् भन्ने प्रचारलाई यस सहभागिताले गलत सावित गरिदिएको उनको भनाइ थियो । विदेशी दलाल र नेपालमा विवाद भड्काएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने शक्तिहरूले कम्युनिस्ट आन्दोलनको अन्त्य भएको ठानिरहेको भए आजको महाधिवेशनको दृश्यले उनीहरूलाई गम्भीर पुनर्विचार गर्न बाध्य बनाएको उनले उल्लेख गरे । एमालेको संगठनात्मक क्षमता र जनआधारको खुलेर प्रशंसा गर्दै उनले यसलाई स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा समेत ठूलो सन्देशका रूपमा चित्रण गरे ।

विप्लवले जेनजी आन्दोलनपछिको अवस्थाको चर्चा गर्दै देश राज्य नै छ कि छैन भन्ने अन्योलको अवस्थामा पुगेको बताए । यस्तो संकटपूर्ण घडीमा कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए । उनले कम्युनिष्ट, देशभक्त र राजनीतिक शक्तिले भोगेको दुःख स्मरण गर्दै नेपाली जनताका अपेक्षा अझै पूरा नभएको, सहिदका सपना अधूरै रहेको र देशको स्वाधीनता पूर्णरूपमा स्थापित हुन बाँकी रहेको बताए । उनले जिम्मेवार राजनीतिक दलहरूलाई उपेक्षा गर्ने खेल चलिरहेको आरोप लगाउँदै त्यसले देशलाई झनै अस्थिरतातर्फ धकेलिरहेको बताए । एमालेसँग आन्दोलनमा सहकार्य गर्न र राष्ट्रिय स्वाधीनताका पक्षमा साथ दिन आफूहरू तयार रहेको संकेत गर्दै उनले यो महाधिवेशनले कम्युनिष्ट आन्दोलनको एकताको प्रस्ताव अघि सारोस् र २००६ सालको जस्तै बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने संकल्प गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

 

ओलीलाई पक्रेर चुनाव गराउँछु भन्ने सरकारले कल्पना पनि नगरे हुन्छ : विप्लव

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेकै अवस्थामा निर्वाचन भए रक्तपातका घटना हुन सक्ने खतरा रहेको बताएका छन् । राष्ट्रिय संकट र विश्वविद्यालयको भूमिका अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले फागुन २१ गते तोकिएको चुनावको नतिजा सार्वजनिक भएको भोलिपल्टै त्यो खतरा आउन सक्ने चेतावनी दिए ।

विभिन्न राजनीतिक दल र जेनजी समूहहरु अझै पनि चुनाव स्वीकार गर्न तयार नरहेको अवस्थामा सरकारले जबरजस्ती चुनाव गराए अर्को ठूलो विध्वंश मच्चिने विप्लवले औंल्याए । ‘भदौ २४ गते लुटिएका लामा हतियार फिर्ता भए पनि सयौं छोटा हतियार अझै भेटिएका छैनन्, यो हतियारको मात्रै कुरा हैन, सुरक्षा संयन्त्रको मनोविज्ञानको कुरा हो’, उनले भने, ‘यस्तै अवस्थामा चुनाव हुने हो भने त अझ अस्थिरता बढ्ने पो देखिएको छ, हामी पनि चुनावमा जाने भनेका छौँ, तर जनताको मत नै तितरवितर हुने अवस्था देखिन्छ ।’

भूमिगत हुँदै खुला राजनीतिमा आएको नेकपालाई पहिलोपल्ट चुनावमा उतार्न लागेका विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सहानुभूति पनि प्रकट गरेका छन् । सरकारले ओलीलाई पक्राउ गरेमा आगामी फागुन २१ गते चुनाव कुनै पनि हालतमा सम्भव नहुने उनको ठोकुवा गरे । ‘मुलधारको एउटा पार्टीको शीर्ष नेतालाई समातेर चुनाव गराउछु भन्ने हो भने यो सरकारले त्यो कल्पना नगरे पनि हुन्छ’, उनले भने, ‘भदौ २३ र २४ गते देशले जुन क्षति भोग्नुपर्‍यो, त्यो भन्दा ठूलो क्षति यहाँ हुनसक्छ ।’ विप्लवले दलहरुले आफ्नो विचार र सिद्धान्त संशोधन गर्नुपर्ने बेला आएको पनि बताएका छन्। ‘हिजोकै नीतिले अब देश चलाउँछु भन्दा मजाक जस्तो हुन्छ, युवाहरु के चाहन्छन्, समयले के माग गरेको छ, त्यो कुरामा हामी सचेत नहुने हो भने देश नै नरहलाको अवस्थामा छ’, उनले थपे ।

 

 

 

रातो गुलाफको फूल चिन्ह लिएर चुनावमा जाँदै विप्लवको पार्टी (तस्बिरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ।

विप्लवलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ। दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह लिन विप्लव लगायत नेताहरु बाजागाजा सहित आज निर्वाचन आयोग पुगेका थिए।

विप्लवले अघि सारेका ‘रुपान्तरण’ का सात बुँदे आधारमा के छन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले देशलाई रुपान्तरण गर्ने भन्दै सात बुँदे आधार अघि सारेका छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत चन्दले आफ्ना योजना अघि सारेका हुन् । उनी लेख्छन्, ‘बेमौसमी दलाल पुँजीवादी दुर्गन्धी हावाहुरीलाई घृणाकासाथ दुत्कार्दै, महान् कम्युनिस्ट आदर्शको ध्वजा फहराउँदै अगाडि बढौँ ।’

हेर्नुस् विप्लवका देश रुपान्तरणका सात आधार
१) हामीसँग असल कम्युनिस्ट पार्टी छ
२) नेपाली विशेषताको समाजवादी लक्ष्य स्पष्ट छ
३) आफ्नै आधारभूत नयाँ आर्थिक मार्ग छ
४) विज्ञान–प्रविधिमा आधारित दृष्टिकोण छ
५) देश र जनताको रक्षा र सेवा गर्ने अठोट छ
६) समाजलाई नयाँ बाटो देखाउने सी संस्कृति छ र
७) सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणको नीति छ ।

हालै निर्वाचन आयोगमा दल दर्ता गरी चुनावी कार्यक्रममा होमिएका विप्लवले जनार्दन शर्मा, घनश्याम भुसाललगायत नेताहरूसँग सहकार्यको घोषणा गरेका छन् ।

 

 

 

 

‘विप्लव’ सहितका नेता आयोग पुगेर गरे सनाखत (तस्वीरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निर्वाचन आयोगमा सनाखतका लागि निर्वाचन आयोग पुगेको छ । नेकपा महासचिव विप्लव नेतृत्वमा आज नेकपा नेताहरू निर्वाचन आयोग पुगेर पार्टी सनाखत गरेका हुन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका हुन् ।

आगामी निर्वाचनमा भाग लिने तयारीमा नेकपा छ । विप्लव नेकपाले यसअघि नै दल दर्ताको निवेदन दिएको थियो । दल दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन् । दल दर्तासँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ । देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरू दल दर्ता प्रक्रियामा लागेको नेताहरूले बताएका छन् ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको सुरुवात, संयुक्त विज्ञप्ति आजै आउने

काठमाडौं । देशको बदलिँदो राजनीतिक परिदृश्यबीच बाम आन्दोलनका तीन शीर्ष नेताहरू नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल नयाँ सहकार्यका लागि तयार भएका छन् । आज (शुक्रबार) बिहान हरिसिद्धीस्थित विप्लव निवासमा भएको भेटवार्तापछि ती तीन नेताबीच मुलुकको राजनीतिक अन्योल समाधान र बाम शक्तिहरूबीच नयाँ सहकार्यको ढाँचा निर्माण गर्ने सहमति बनेको स्रोतले बताएको छ ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घनश्याम भूसालले सहकार्यको सुरुवातलाई ‘नयाँ दिशातर्फको कदम’ भन्दै यसलाई एकीकरणको रूपमा नलिन आग्रह गरे । उनले भने, ‘हामी एकताबद्ध भएर जानेछौं, तर एकीकरण भन्ने भ्रम नपाल्न आग्रह गर्दछु । देशको वर्तमान राजनीतिक आवश्यकताअनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउँदै लैजाने छौं ।’ भूसालले विगतमा पनि तीन नेताबीच सहकार्यको अभ्यास भएको बताउँदै अहिले त्यसलाई पुनः सक्रिय र संगठित रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।

भेटमा देशको पछिल्लो राजनीतिक अस्थिरता, कम्युनिष्ट आन्दोलनको दिशाहीनता र वाम शक्तिहरूबीचको दूरी घटाउने उपायबारे विस्तृत छलफल भएको बताइएको छ । बैठकमा सहकार्यको औपचारिक रूपरेखा र राजनीतिक प्रतिवद्धताबारे मस्यौदा तयार पार्ने सहमति भएको र त्यसको विवरणसहितको संयुक्त विज्ञप्ति आजै सार्वजनिक गरिने जनाइएको छ । यसैबीच नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकता प्रक्रियापछि दुवै नेता आफ्ना–आफ्ना स्वतन्त्र अभियानमा लागेका छन् ।

जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ को नाममा युवालाई एकीकृत गर्दै नयाँ राजनीतिक अभियान थालेका छन् । भूसालले भने एकीकृत समाजवादीभित्र एकता प्रक्रियाबाट अलग भएका कार्यकर्तालाई एकजुट गर्दै नयाँ आन्दोलनको तयारी गरिरहेका छन् । उता, विप्लव नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा अन्तरिम सरकार गठनलगायतका मागसहित र्‍याली र जनसभा गरेको छ । सभामा विप्लवले सच्चा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको भन्दै नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएका थिए । यी घटनाक्रमले बाम राजनीतिमा नयाँ समीकरण बन्ने संकेत गरेको विश्लेषकहरूको ठम्याइ छ । तीन नेताको आजै आउने भनिएको संयुक्त विज्ञप्तिले यस सहकार्यको स्वरूप र भविष्यको दिशाबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

निरंकुश सत्तालाई जेनजीको बलिदानले खरानी बनाइ दियो : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले निरंकुश बन्दै गएको सत्तालाई जेनजीको बलिदानले खरानी बनाई दिएको बताएका छन् । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले जेनजी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाएको बताएका छन् ।

‘जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । राज्यसत्ता अन्धो थियो । बहिरो थियो । निरंकुश थियो । मुर्ख बन्दै गएको थियो । जनताविरुद्ध तानाशाही बन्दै गएको थियो,’ उनले भने, ‘जेनजीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाइदिए ।’

उनले काठमाडौंको सडकबाट नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिर समेत गरेका छन् । कम्युनिष्ट चन्दले विदेशी प्रभाव समाप्त नभएसम्म देशमा निष्पक्ष शासन सम्भव नहुने बताएका छन् । विप्लवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रधानमन्त्री होस् वा राष्ट्रपति, फरक पर्दैन, तर जनताले नै प्रत्यक्ष चुन्ने कार्यकारी प्रमुखतर्फ देश जानुपर्छ ।’

तर, उनले हालको परिस्थितिमा त्यो सम्भव नदेखिएको बताए । विप्लवले भने, ‘तर, आजको दिनमा सम्भव छैन । आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने फेरि यहाँ पैसाका बलमा एनजीओहरू, विदेशी डलरमा नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशका विरुद्धमा उत्तेजना फैलाउने एनजीओहरुलाई पनि प्रतिबन्ध लगाउनु पर्ने छ । लखेट्नुपर्ने छ ।’ उनका अनुसार विदेशी प्रभाव, भ्रष्टाचार र एनजीओको नियन्त्रण अन्त्य भएपछि मात्र नेपालमा निष्पक्ष चुनाव र जनमुखी शासन सम्भव हुनेछ ।

 

सर्वपक्षीय अन्तरिम सरकार माग गर्दै विप्लव नेकपाको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा बिहीबार प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो । भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

विप्लव नेतृत्वको नेकपा आज सडकमा उत्रिँदै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) बृहत् जनप्रदर्शन र जनसभा गर्दैछ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले दिएको जानकारीअनुसार आज दिउँसो १२ बजे शान्तिबाटिकाबाट बृहत्  र्‍याली सुरु हुनेछ भने दिउँसो १ बजे भृकुटीमण्डपमा आमसभा गरिनेछ । सभामा महासचिव विप्लवलगायतका शीर्ष नेताहरूले बोल्ने कार्यक्रम तय गरिएको छ।

नेकपाले अहिलेको सरकार विघटनको माग राखेको छ । ‘राष्ट्रिय स्वाधीनता, समाजवाद र सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्छ,’ प्रवक्ता प्रकाण्डले भने, ‘आम जनताको समस्या सम्बोधन गर्न तथा संविधान पुनर्लेखनलगायतका विषयमा हालको सरकारले काम गर्न सक्दैन।’ पार्टीले जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । सभा अगाडि  र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । १० हजार बढीको संख्यामा कार्यकर्ता उतार्ने दाबी उनीहरुको छ ।

कम्युनिष्ट आन्दोलनबारे विप्लवका चार धारणा : नयाँ कम्युनिष्ट केन्द्र निर्माण अपरिहार्य

काठमाडौं । प्रस्तावित कम्युनिष्ट पार्टी नेपालका महासचिव विप्लवले नयाँ कम्युनिष्ट केन्द्र निर्माण अपरिहार्य भएको बताएका छन् । कम्युनिष्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

विप्लवले चार बुँदामा आफ्नो धारणा राखेका छन् । कम्युनिष्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको, कम्युनिष्टहरूबीच वैचारिक, सैद्धान्तिक, व्यवहारिक बहसहरू आवश्यक छन रहेको उनको भनाइ छ । उनले एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको बताउँदै यसमा रमाउन नसकिने पनि बताएका छन् । उनले यो व्यङ्ग्य मात्रै भएको टिप्पणी गरेका छन् ।

आफ्नो पार्टीबाट फुटेर चिरन सीलगायतले माओवादी केन्द्रसँग एकता गर्न लागे पछि उनले यस्तो टिप्पणी गरेका हुन् । माओवादी र एकीकृत समाजवादीसहितका दलहरुले यसै साता एकता गर्ने तयारी गरेका छन् । आउँदो फागुन २१ गतेको निर्वाचनमा होमिने तयारी गरिरहेका बेला हिजो (शुक्रबार) मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि फुटेको हो । पार्टीका पोलिटव्यूरो सदस्य चिरन सीको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । उक्त पार्टीको प्रवक्ताको जिम्मेवारी जितेन्द्र सीलाई दिइएको छ ।

भेलाले गरेका निर्णयबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइने महासचिव सीले बताएका छन् । राष्ट्रिय भेलाले छिट्टै एकतामा आउन नेकपाका महासचिव विप्लवसहितका अन्य विभिन्न समाजवादी मोर्चामा रहेका दललाई आह्वान गर्ने निर्णय गरेको महासचिव सीले बताएका छन्। साविकको १४५ सदस्यीय केन्द्रीय समिति सदस्यमा ७५ जना आफूतिर आएको उनले दाबी गरेका छन् ।

 

विप्लव दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ दल दर्ताका लागि निर्वाचन आयोगमा जाने भएका छन् । दल दर्ताका लागि महासचिव ‘विप्लव’ को नेतृत्वमा पौने १ बजे आयोगको कार्यालयमा जान लागेको उक्त पार्टी एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

नेकपाले केही समयअघि नै स्थायी समिति कर्णजित बुढाथोकीको संयोजकत्वमा केन्द्रीय सदस्य एवं काठमाडौं सेक्रेटरी चिरञ्जीवि ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल रहने गरी ३ सदस्यीय पार्टी दर्ता गर्न समिति बनाएको थियो । नेकपा नाममा यसअघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने गरी पार्टी दर्ताको तयारी छ ।

काठमाडौँमा विप्लवको र्‍याली र सभा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले यही कात्तिक २० गते काठमाडौँमा प्रदर्शन र सभा गर्ने भएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै विप्लवले यस्तो आह्वान गरेका हुन् । उनले लेखेका छन् ‘नेपाललाई अरूले होइन हामी आफैले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर,दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २०गते काठमाडौँमा भेटौँ साथीहरू ।’

उनले स्वाधीनता र समाजवादका पक्षमा उभिनका लागि कात्तिक २० गते काठमाडौँमा भेट्न भनेका छन् । नेता सन्तोष बुढामगरले भने जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको जानकारी दिए ।

नेता बुढामगरका अनुसार उक्त दिनमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका कार्यकर्ताहरूद्वारा  र्‍याली निकालिने छ । त्यसपछि सभा आयोजना हुनेछ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् । सभामा करिब १०÷१५ हजार मानिसहरू सहभागी हुने उनले बताए । प्रदर्शन र सभास्थल भने निश्चित भई नसकेको उनले बताए ।

 

विप्लवले समाजवाद पक्षधरलाई बोलाए काठमाडौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्वाधीनता र समाजवाद पक्षधरलाई कात्तिक २० गते काठमाडौँ बोलाएका छन् । नेपाललाई अरूले होइन, हामी आफैले फेर्ने हो भन्दै उनले यस विषयमा छलफल गर्न समाजवादीहरूलाई कात्तिक २० गते काठमाडौंमा भेट्न अपिल गरेका हुन् ।

आज (सोमबार) सामाजिक सञ्जालमार्फत समाजवादीहरूलाई भेटघाटका लागि आह्वान गरेका उनले यस विषयमा विस्तृत जानकारी भने दिएका छैनन् । उनले लेखेका छन्, ‘नेपाललाई अरूले होइन, हामी आफैले फेर्ने हो । अरूले होइन, नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन्, देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू ।’

विप्लवको प्रश्न : नेपालमा ‘अमेरिकी–नेपाली–तिब्बतीयन सेना’ गठन हुन लागेको हो ?

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा वैदेशिक हस्तक्षेपको सम्भावित स्वरूपप्रति गम्भीर आशंका व्यक्त गरेका छन् । उनले ‘जेनजी आन्दोलन’ सँग सम्बन्धित टीओबी (TOB) समूहको क्रियाकलापप्रति चिन्ता प्रकट गर्दै, नेपालमा ‘संयुक्त अमेरिकी–नेपाली–तिब्बतीयन सेना’ बनाउने योजनाको संकेत देखिएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले टीओबी भन्ने समूह देखिएको छ । हतियार देखाएको छ । अमेरिकाको प्रत्यक्ष हस्तक्षेप भएको देखिन्छ । कतै अमेरिकी–नेपाली–तिब्बतीयन सेना बनेको त होइन ?’

विप्लवले हालको सरकार र संविधानमा गहिरो असन्तुष्टि प्रकट गर्दै सर्वपक्षीय अन्तरिम सरकार गठनको माग राखेका छन् । उनका अनुसार, यस्तो सरकारमा जनआन्दोलनमा संलग्न सबै पक्ष, उत्पीडित वर्ग, किसान, मजदुर, दलित, महिला, मधेशी, जनजाति, बुद्धिजीवी, व्यवसायी र वैज्ञानिकसम्मको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।

संविधान सुधार र सत्ता संरचनामा आमूल परिवर्तनको माग

महासचिव चन्दले संविधान पुनर्लेखनको खाँचो औंल्याउँदै उच्चस्तरीय संविधान सुधार आयोग गठनको प्रस्ताव राखेका छन् । उनले वर्तमान शासन संरचना परिवर्तन गरी पूर्ण समानुपातिक प्रणालीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली निर्माण गर्नुपर्ने माग समेत गरे । ‘शासकीय स्वरूप नै बदल्नुपर्ने बेला आएको छ’, उनले भने, ‘संविधान संशोधन बिना अगाडि बढ्न सकिन्न, त्यसपछि मात्र निर्वाचनमा जान सकिन्छ ।’

भ्रष्टाचार, कालोधन र नोटबन्दीको माग
विप्लवले देशमा व्यापक कालोधन थुप्रिएको दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट तत्काल खारेज गर्नुपर्ने बताएका छन् । ‘पैसा जनतासँग छैन । पूँजी निष्क्रिय बनेको छ’, भन्दै उनले कालोधनको स्रोत पत्ता लगाउन छानबिन आयोग गठनको माग गरे । उनका अनुसार विदेशी बैंकमा लुकाइएको नेपाली सम्पत्तिमाथि समेत छानबिन हुनुपर्छ ।

नेकपाको उद्योग र उत्पादनमूलक कार्यदिशा

नेकपाले पार्टीको उत्पादनमूलक कार्यदिशालाई निरन्तरता दिँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत कृषि र उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । विप्लवका अनुसार, यस वर्ष वर्षे बालीको उत्पादन अपेक्षाकृत राम्रो भएको छ र पार्टीले उत्पादनलाई राजनीतिक कार्यक्रमसँग जोड्दै जानेछ ।

एकीकृत कम्युनिष्ट पार्टीको आवश्यकता
पत्रकार सम्मेलनको अन्त्यतिर विप्लवले वाम आन्दोलनलाई मजबुत बनाउन सबै कम्युनिष्ट शक्तिहरू एकीकृत हुनुपर्ने बताए । ‘अब एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न आवश्यक छ’, उनले जोड दिए ।

 

नेकपाले गर्‍यो कार्की नेतृत्वको अन्तरिम सरकार खारेज र सर्वपक्षीय सरकार गठनको माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ । नेकपाले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो । अहिलेको सरकारले सबैलाई र जेनजी आन्दोलनकै भावनालाई समेत समेट्न नसकेको उल्लेख छ ।

नेकपाले चुनावमा भाग लिने तर त्यसका लागि सुरक्षाको वातावरण नरहेको जनाएको छ ।‘नेकपा चुनावमा भाग लिन चाहन्छ । तर सुरक्षा छैन । राजनीतिक तहमा उच्चस्तरीय संयत्न बनाउनु पर्छ’ नेकपाले भनेको छ, ’जबरजस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ ।’

 

‘बिलखबन्द’ मा विप्लव : माओवादीसँग एकता कि, आयोगमा दल दर्ता ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जारी छ । कपिलवस्तुको शिवगढीमा जारी बैठकमा नेताहरुले बोल्ने क्रम चलिरहेको छ । बैठकमा महासचिव विप्लवले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूले अध्ययन गरेर धारणा राखिरहेका छन्।

७७ वटै जिल्लाका जिल्ला इञ्चार्जहरूले पनि धारणा राखिरहेका छन् । नेताहरूका अनुसार माओवादी केन्द्रसँगको एकता कि निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने ‘बिलखबन्द’ मा नेकपाका महासचिव विप्लव रहेका छन् । माओवादी घटकसहित विचार मिल्ने वाम घटकसँग एकता गर्ने गरी एक वर्षअघि नै निर्णय गरेको थियो । एक वर्ष अगाडिको निर्णय कार्यान्वयन हुन नसकेको भनेर कतिपयले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

कतिपयले बदलिएको अवस्थामा वाम एकता गरेर जानु उपयुक्त हुने सुझाएका छन् । बैठकमा नेताहरुले माओवादीसहित विभिन्न पार्टीसँग एकतादेखि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर जानुपर्नेसम्मको सुझाव आएका छन् । माओवादीसँग एकता गर्ने भनिएपछि लामो समयदेखि सहमति जुट्न सकेको छैन । महासचिव विप्लवकै नेतृत्वमा कम्युनिस्ट केन्द्र निर्माण गरेर जानु पर्नेसम्मको विषय उठेपनि केन्द्रीय समिति बैठकले ठोस निर्णय लिने तयारी छ । बैठकमा पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण, जनआन्दोलनको तयारी र राष्ट्रिय राजनीतिमा कम्युनिस्ट शक्तिको भूमिकालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ । केन्द्रीय समिति बैठकअघि विप्लवले स्थायी समिति बैठक बैठक राखेका थिए ।

 

विप्लवले बनाए पार्टी एकता गर्न वार्ता टोली, प्राथमिकतामा कुन दल ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विचार मिल्ने शक्तिहरूसँग एकता गर्नका लागि वार्ता टोली बनाएको छ । हालै बसेको बैठकले नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि भन्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा सबै कम्युनिष्ट समूह र पार्टीहरूसँग छलफल गर्ने उद्देश्यले वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा समितिमा स्थायी समिति सदस्य अनिल सी, शिलु सी, सुशील सी, पोलिटब्युरो सदस्य चिरण र केन्द्रीय सदस्य जितेन्द्र सी छन् । बैठकले माओवादी घटक र चौथो महाधिवेशन समूहसँग प्राथमिकताका साथ वार्ता गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले यसअघि नै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ ।

नेकपाको बैठक बस्नुअघि माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकताबारे गरेको निर्णय विप्लवको घरैमा पुगेर जानकारी गराएका थिए । नेकपा समाजवादी मोर्चामा पनि आबद्ध छ । मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी र महेन्द्र राय यादव नेतृत्वको नेसपा सहभागी छ । मोर्चालाई पार्टी एकतासम्म लैजानेगरी छलफल समेत अघि बढाइएको छ ।