`

निरंकुश सत्तालाई जेनजीको बलिदानले खरानी बनाइ दियो : विप्लव

Nepal One HD २० कार्तिक २०८२ १६:३२
समाचार

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले निरंकुश बन्दै गएको सत्तालाई जेनजीको बलिदानले खरानी बनाई दिएको बताएका छन् । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले जेनजी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाएको बताएका छन् ।

‘जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । राज्यसत्ता अन्धो थियो । बहिरो थियो । निरंकुश थियो । मुर्ख बन्दै गएको थियो । जनताविरुद्ध तानाशाही बन्दै गएको थियो,’ उनले भने, ‘जेनजीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाइदिए ।’

उनले काठमाडौंको सडकबाट नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिर समेत गरेका छन् । कम्युनिष्ट चन्दले विदेशी प्रभाव समाप्त नभएसम्म देशमा निष्पक्ष शासन सम्भव नहुने बताएका छन् । विप्लवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रधानमन्त्री होस् वा राष्ट्रपति, फरक पर्दैन, तर जनताले नै प्रत्यक्ष चुन्ने कार्यकारी प्रमुखतर्फ देश जानुपर्छ ।’

तर, उनले हालको परिस्थितिमा त्यो सम्भव नदेखिएको बताए । विप्लवले भने, ‘तर, आजको दिनमा सम्भव छैन । आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने फेरि यहाँ पैसाका बलमा एनजीओहरू, विदेशी डलरमा नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशका विरुद्धमा उत्तेजना फैलाउने एनजीओहरुलाई पनि प्रतिबन्ध लगाउनु पर्ने छ । लखेट्नुपर्ने छ ।’ उनका अनुसार विदेशी प्रभाव, भ्रष्टाचार र एनजीओको नियन्त्रण अन्त्य भएपछि मात्र नेपालमा निष्पक्ष चुनाव र जनमुखी शासन सम्भव हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *