नयाँ–पुरानो दलको बहस जनतालाई अलमल्याउने हत्कण्डा : विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ‘पुराना दल खराब भए, त्यसैले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई वास्तविक मुद्दाबाट टाढा लैजाने भ्रमको राजनीति भएको बताएका छन् ।
शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले पछिल्लो समय राजनीतिक वृत्तमा चर्काइएको नयाँ र पुराना दलबीचको बहस सत्ता र राज्यसत्ताको चरित्रमाथि हुनुपर्ने गम्भीर छलफललाई ओझेलमा पार्ने प्रयास भएको स्पष्ट पारे ।
महासचिव चन्दका अनुसार नेपालमा मूल समस्या दलको संख्यामा नभई जनताको सेवा गर्ने, जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण राज्यसत्ता निर्माण नहुनु हो । ‘जनताले चाहेको नयाँ झन्डा वा नयाँ नामको दल होइन, आफ्ना पीडा सुन्ने र न्याय दिने सत्ता हो’, उनले भने ।
उनले पुराना दलहरूले भ्रष्टाचार, विकृति र जनतामाथि शोषण जन्माएको कुरामा आंशिक सत्यता रहेको स्वीकार गरे । तर पुरानो सत्ता संरचना यथावत् रहेसम्म नयाँ दल आएपछि मात्रै सबै समस्या समाधान हुन्छ भन्ने धारणा गलत भएको उनको ठम्याइ छ । नयाँ दलप्रतिको जनअपेक्षा पुराना दलहरूको असफलताबाट जन्मिएको भए पनि त्यसले मात्र आमूल परिवर्तन सम्भव नहुने उनले बताए ।
विप्लवले राजनीतिक सङ्घर्षको केन्द्रीय विषय पुराना र नयाँ दलबीच नभई पुरानो सत्ता र जनताबीचको द्वन्द्व भएको स्पष्ट पारे । नयाँ नेता बनाम पुराना नेताको बहसलाई पनि उनले सतही र दिशाहीन भने । उनका अनुसार उमेरले युवा वा अनुहारले नयाँ हुँदैमा नेतृत्व सफल हुन्छ भन्ने मान्यता गलत हो । ‘मान्छे उमेरले पुरानो हुन सक्छ, तर उसले बोकेको दृष्टिकोण नै निर्णायक हुन्छ’, उनले जोड दिए ।
उनले अहिले फैलाइएको नयाँ–पुराना दल, नयाँ–पुराना नेता जस्ता नारालाई ‘गुलियो पोतिएको भुलभुलैया’ को संज्ञा दिँदै यसले जनतालाई वास्तविक परिवर्तनको बाटोबाट विचलित बनाउने चेतावनी दिए । पुरानो सत्ता संरचना, चरित्र र संस्कृतिलाई रूपान्तरण गर्न सक्ने स्पष्ट दृष्टिकोण भएका नेताहरूको आवश्यकता औँल्याउँदै उनले तथाकथित नयाँ शक्तिहरूमा समेत त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गरे ।
महासचिव चन्दले पुरानो राज्यसत्तालाई तोडेर जनताको सत्ता स्थापना गर्न सक्ने राजनीतिक शक्ति अहिले नेकपा माओवादी मात्रै भएको दाबी गर्दै जनतामाझ यो वैचारिक स्पष्टता पु¥याउन पार्टी पंक्तिलाई निर्देशन समेत दिए ।
