`

विप्लवको प्रश्न : नेपालमा ‘अमेरिकी–नेपाली–तिब्बतीयन सेना’ गठन हुन लागेको हो ?

Nepal One HD २ कार्तिक २०८२ १४:४०
बिशेष

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा वैदेशिक हस्तक्षेपको सम्भावित स्वरूपप्रति गम्भीर आशंका व्यक्त गरेका छन् । उनले ‘जेनजी आन्दोलन’ सँग सम्बन्धित टीओबी (TOB) समूहको क्रियाकलापप्रति चिन्ता प्रकट गर्दै, नेपालमा ‘संयुक्त अमेरिकी–नेपाली–तिब्बतीयन सेना’ बनाउने योजनाको संकेत देखिएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले टीओबी भन्ने समूह देखिएको छ । हतियार देखाएको छ । अमेरिकाको प्रत्यक्ष हस्तक्षेप भएको देखिन्छ । कतै अमेरिकी–नेपाली–तिब्बतीयन सेना बनेको त होइन ?’

विप्लवले हालको सरकार र संविधानमा गहिरो असन्तुष्टि प्रकट गर्दै सर्वपक्षीय अन्तरिम सरकार गठनको माग राखेका छन् । उनका अनुसार, यस्तो सरकारमा जनआन्दोलनमा संलग्न सबै पक्ष, उत्पीडित वर्ग, किसान, मजदुर, दलित, महिला, मधेशी, जनजाति, बुद्धिजीवी, व्यवसायी र वैज्ञानिकसम्मको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।

संविधान सुधार र सत्ता संरचनामा आमूल परिवर्तनको माग

महासचिव चन्दले संविधान पुनर्लेखनको खाँचो औंल्याउँदै उच्चस्तरीय संविधान सुधार आयोग गठनको प्रस्ताव राखेका छन् । उनले वर्तमान शासन संरचना परिवर्तन गरी पूर्ण समानुपातिक प्रणालीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली निर्माण गर्नुपर्ने माग समेत गरे । ‘शासकीय स्वरूप नै बदल्नुपर्ने बेला आएको छ’, उनले भने, ‘संविधान संशोधन बिना अगाडि बढ्न सकिन्न, त्यसपछि मात्र निर्वाचनमा जान सकिन्छ ।’

भ्रष्टाचार, कालोधन र नोटबन्दीको माग
विप्लवले देशमा व्यापक कालोधन थुप्रिएको दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट तत्काल खारेज गर्नुपर्ने बताएका छन् । ‘पैसा जनतासँग छैन । पूँजी निष्क्रिय बनेको छ’, भन्दै उनले कालोधनको स्रोत पत्ता लगाउन छानबिन आयोग गठनको माग गरे । उनका अनुसार विदेशी बैंकमा लुकाइएको नेपाली सम्पत्तिमाथि समेत छानबिन हुनुपर्छ ।

नेकपाको उद्योग र उत्पादनमूलक कार्यदिशा

नेकपाले पार्टीको उत्पादनमूलक कार्यदिशालाई निरन्तरता दिँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत कृषि र उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । विप्लवका अनुसार, यस वर्ष वर्षे बालीको उत्पादन अपेक्षाकृत राम्रो भएको छ र पार्टीले उत्पादनलाई राजनीतिक कार्यक्रमसँग जोड्दै जानेछ ।

एकीकृत कम्युनिष्ट पार्टीको आवश्यकता
पत्रकार सम्मेलनको अन्त्यतिर विप्लवले वाम आन्दोलनलाई मजबुत बनाउन सबै कम्युनिष्ट शक्तिहरू एकीकृत हुनुपर्ने बताए । ‘अब एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न आवश्यक छ’, उनले जोड दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *