विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको सुरुवात, संयुक्त विज्ञप्ति आजै आउने
काठमाडौं । देशको बदलिँदो राजनीतिक परिदृश्यबीच बाम आन्दोलनका तीन शीर्ष नेताहरू नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल नयाँ सहकार्यका लागि तयार भएका छन् । आज (शुक्रबार) बिहान हरिसिद्धीस्थित विप्लव निवासमा भएको भेटवार्तापछि ती तीन नेताबीच मुलुकको राजनीतिक अन्योल समाधान र बाम शक्तिहरूबीच नयाँ सहकार्यको ढाँचा निर्माण गर्ने सहमति बनेको स्रोतले बताएको छ ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घनश्याम भूसालले सहकार्यको सुरुवातलाई ‘नयाँ दिशातर्फको कदम’ भन्दै यसलाई एकीकरणको रूपमा नलिन आग्रह गरे । उनले भने, ‘हामी एकताबद्ध भएर जानेछौं, तर एकीकरण भन्ने भ्रम नपाल्न आग्रह गर्दछु । देशको वर्तमान राजनीतिक आवश्यकताअनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउँदै लैजाने छौं ।’ भूसालले विगतमा पनि तीन नेताबीच सहकार्यको अभ्यास भएको बताउँदै अहिले त्यसलाई पुनः सक्रिय र संगठित रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।
भेटमा देशको पछिल्लो राजनीतिक अस्थिरता, कम्युनिष्ट आन्दोलनको दिशाहीनता र वाम शक्तिहरूबीचको दूरी घटाउने उपायबारे विस्तृत छलफल भएको बताइएको छ । बैठकमा सहकार्यको औपचारिक रूपरेखा र राजनीतिक प्रतिवद्धताबारे मस्यौदा तयार पार्ने सहमति भएको र त्यसको विवरणसहितको संयुक्त विज्ञप्ति आजै सार्वजनिक गरिने जनाइएको छ । यसैबीच नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकता प्रक्रियापछि दुवै नेता आफ्ना–आफ्ना स्वतन्त्र अभियानमा लागेका छन् ।
जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ को नाममा युवालाई एकीकृत गर्दै नयाँ राजनीतिक अभियान थालेका छन् । भूसालले भने एकीकृत समाजवादीभित्र एकता प्रक्रियाबाट अलग भएका कार्यकर्तालाई एकजुट गर्दै नयाँ आन्दोलनको तयारी गरिरहेका छन् । उता, विप्लव नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा अन्तरिम सरकार गठनलगायतका मागसहित र्याली र जनसभा गरेको छ । सभामा विप्लवले सच्चा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको भन्दै नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएका थिए । यी घटनाक्रमले बाम राजनीतिमा नयाँ समीकरण बन्ने संकेत गरेको विश्लेषकहरूको ठम्याइ छ । तीन नेताको आजै आउने भनिएको संयुक्त विज्ञप्तिले यस सहकार्यको स्वरूप र भविष्यको दिशाबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।
