अवैध सरकारलाई समर्थन छैन, राष्ट्रिय स्वाधीनतामा अडान लिंदा एमालेले हमला भोग्दैछ : विप्लव
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारलाई अवैध र कठपुतलीको संज्ञा दिएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारे ।
उनले देशमा न त आन्दोलनकारी सहभागी भएको सरकार रहेको न त संविधान र कानुनअनुसार चलेको सरकार नै देखिएको टिप्पणी गरे । उनका अनुसार अहिलेको सत्ता संरचना अस्वाभाविक र अवैधानिक अवस्थामा छ । यस्तो परिस्थितिमा सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्रै देशलाई निर्वाचनतर्फ लैजान सकिने विकल्प रहेको उनको भनाइ थियो । महासचिव विप्लवले नेकपा एमालेमाथि भइरहेको चौतर्फी आक्रमणको कारण राष्ट्रिय स्वाधीनतामा लिएको अडान नै भएको दाबी गरे।
उनले भने, एमालेभित्र कमजोरीहरू हुन सक्लान् तर अहिले भइरहेको हमला ती कमजोरीका कारण होइन, बरु साम्राज्यवादी योजनाअन्तर्गत भएको हो भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । यो समस्या एमालेको मात्रै नभई सम्पूर्ण कम्युनिस्ट आन्दोलन र देशकै स्वाधीनतासँग जोडिएको विषय भएको उनले बताए । महाधिवेशनमा देखिएको विशाल जनसहभागितालाई उल्लेख गर्दै विप्लवले यसले धेरै प्रश्नहरूको जवाफ दिएको बताए । उनले एमाले कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जिज्ञासाको जवाफ आजको सभाले दिएको भन्दै यसले नेपाली जनता मात्र होइन, नेपालमाथि गिद्धे दृष्टि राख्ने शक्तिहरूलाई पनि सशक्त सन्देश दिएको बताए ।
कम्युनिष्टहरू सकिए, दलहरूले अब देशको नेतृत्व गर्न सक्दैनन् भन्ने प्रचारलाई यस सहभागिताले गलत सावित गरिदिएको उनको भनाइ थियो । विदेशी दलाल र नेपालमा विवाद भड्काएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने शक्तिहरूले कम्युनिस्ट आन्दोलनको अन्त्य भएको ठानिरहेको भए आजको महाधिवेशनको दृश्यले उनीहरूलाई गम्भीर पुनर्विचार गर्न बाध्य बनाएको उनले उल्लेख गरे । एमालेको संगठनात्मक क्षमता र जनआधारको खुलेर प्रशंसा गर्दै उनले यसलाई स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा समेत ठूलो सन्देशका रूपमा चित्रण गरे ।
विप्लवले जेनजी आन्दोलनपछिको अवस्थाको चर्चा गर्दै देश राज्य नै छ कि छैन भन्ने अन्योलको अवस्थामा पुगेको बताए । यस्तो संकटपूर्ण घडीमा कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए । उनले कम्युनिष्ट, देशभक्त र राजनीतिक शक्तिले भोगेको दुःख स्मरण गर्दै नेपाली जनताका अपेक्षा अझै पूरा नभएको, सहिदका सपना अधूरै रहेको र देशको स्वाधीनता पूर्णरूपमा स्थापित हुन बाँकी रहेको बताए । उनले जिम्मेवार राजनीतिक दलहरूलाई उपेक्षा गर्ने खेल चलिरहेको आरोप लगाउँदै त्यसले देशलाई झनै अस्थिरतातर्फ धकेलिरहेको बताए । एमालेसँग आन्दोलनमा सहकार्य गर्न र राष्ट्रिय स्वाधीनताका पक्षमा साथ दिन आफूहरू तयार रहेको संकेत गर्दै उनले यो महाधिवेशनले कम्युनिष्ट आन्दोलनको एकताको प्रस्ताव अघि सारोस् र २००६ सालको जस्तै बलियो कम्युनिष्ट पार्टी निर्माण गर्ने संकल्प गरोस् भन्ने शुभकामना व्यक्त गरे ।
