`

सरकार भेट्न सिंहदरबार जानु पर्थ्याे, अहिले आफै पार्टी कार्यालयमा आयो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।

उनले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताए । उनले यसले राजनीति र निर्वाचनका लागि वातावरण बनाउने बताए । उनले निर्वाचनको लागि माहोल बनाउने तयारी गरेकोमा सरकारको प्रशंसा गरे । उनले भने, ‘सत्ता पक्ष र सरकारलाई भेट्न सिंहदरबार जानु पर्दथ्यो । अहिले सरकारले पार्टी कार्यालयमा पुगेर राजनीति, सकारात्मक राजनीति र निर्वाचनको वातावरण बनाउन पहल गरिरहनुभएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । निर्वाचनको लागि माहोल बनाउने काम सरकारले गर्दैछ ।’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक अर्को विकल्प नदेखेको बताए । उनले रास्वपाले एकमत भएर निर्वाचनमा जाने बताएको जानकारी दिए । सरकारले पनि निर्वाचनको तयारीका लागि आवश्यक काम गरिरहेको जानकारी गराउँदै फागुन २१ गतेको निर्वाचन नै अन्तरिम सरकारको अर्जुनदृष्टि रहेको बताए । सरकारको तयारी भन्दाअघि नै रास्वपा निर्वाचनमा होमिएको आभाष भएको जिकिर गरे । निर्वाचन नहुने हो की भन्ने शंका नगर्न पनि उनले आग्रह गरे । इतिहासमै सरकार राजनीतिक दलको कार्यालयमा गएको रेकर्ड नरहेको बताए ।

 

 

रास्वपा कार्यालयमा सरकारी टोली, मन्त्री खरेलले भने, ‘चुनावी माहोल बनाउँछौं’

काठमाडौं । उच्चस्तरीय राजनीतिक संवाद कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर औपचारिक भेटघाट गरेको छ । बुधबार दिउँसो भएको भेटमा समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीबारे छलफल भएको बताइएको छ ।भेटघाटमा संवाद कार्यदल संयोजक तथा कानुनमन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनाल सहभागी थिए। रास्वपाको तर्फबाट उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झासहित केन्द्रीय सदस्यहरू उपस्थित थिए।

छलफलपछि प्रवक्ता खरेलले सरकार निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण बनाउन सबै दलसँग संवादमा जुटेको बताए । ‘चुनावको वातावरण बनाउँदैछौं’, उनले भने । फागुन २१ मा तोकिएको निर्वाचनलाई लक्षित गर्दै दलगत भेटघाट तीव्र बनाइएको उनको भनाइ छ ।
यसअघि संवाद टोलीले कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा पुगेर शीर्ष नेताहरूसँग छलफल गरेको थियो । आजै राप्रपा र जनमत पार्टीको कार्यालयमा समेत अनुगमन तथा भेटघाट गरिएको छ । सरकारको यो पहललाई निर्वाचनपूर्व राजनीतिक सहमति र संवाद सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ ।

 

पछिल्लो संसदको वैधता पूर्णतः सकिएकाले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले एमाले–कांग्रेस सरकार र तिनै दुई दलको बहुमत रहेको पछिल्लो संसदको वैधता पूर्णरूपमा समाप्त भइसकेको दाबी गरेका छन् । त्यसैले उक्त संसदको पुनर्स्थापना कुनै हालतमा सम्भव नहुने उनको भनाइ छ ।

आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै वाग्लेले भदौ २३ गते भएको नरसंहारका लागि तत्कालीन एमाले–कांग्रेस सरकार नै जिम्मेवार रहेको उल्लेख गरेका छन् । त्यही घटनासँग जोडिँदै उनले राजनीतिक र नैतिक रूपमा पनि उक्त सरकार तथा त्यस समयको संसद जनविश्वास गुमाइसकेको तर्क गरेका छन् ।

उनका अनुसार अब मुलुकले निकास पाउने एक मात्र बाटो ताजा जनादेश हो । फागुन २१ गते हुने आम निर्वाचनबाट निर्वाचित संसद्ले आगामी पाँच वर्षका लागि स्थिर र प्रभावकारी संघीय सरकार गठन गर्ने वाग्लेले दाबी गरेका छन् । त्यो सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने उनको स्पष्ट दाबी छ । वाग्लेले पुराना राजनीतिक शक्तिहरूको वर्चस्वले देशलाई दीर्घकालीन अस्थिरता र अविश्वासतर्फ धकेलेको आरोप पनि लगाएका छन् ।

उनले नयाँ राजनीतिक विकल्पका रूपमा रास्वपाले जनताको भरोसा जित्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको प्रतिफल देखिने विश्वास व्यक्त गरेका छन् । उनको स्ट्याटसमा व्यक्त धारणा पछिल्लो समय संसद, सरकारको वैधता र आगामी निर्वाचनको आवश्यकताबारे चलिरहेको बहससँग जोडिएको छ । रास्वपाले निरन्तर रूपमा ताजा जनादेश, सुशासन र स्थिर सरकारको मुद्दा उठाउँदै आएको छ, र वाग्लेको यो अभिव्यक्तिले त्यसैलाई थप बल दिएको देखिन्छ ।

 

रविको प्रश्न : कुन संसद् ब्यूँताउन खोज्नु भएको, भ्रष्टाचार काण्ड सामसुम पार्ने संसद ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका मुद्दा राख्दा–राख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नु भएको हो भन्दै प्रश्न गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पुगेका उनले प्रतिनिधिसभा पुनः स्थापनाले निकास नदिने बताए । उनले चुनावमा जानुको विकल्प नरहेको समेत बताएका छन् । आइतबार पार्टी कार्यालयमा भएको स्वागत कार्यक्रममा लामिछानेले चुनावमा जानु अघि जेनजी विद्रोहका माग पूरा गर्नुपर्ने बताएका हुन् ।

‘कुन संसद ब्यूँताउन खोज्नु भएको तपाईंले ? जनताको मुद्दा बोल्दा–बोल्दै माइक काट्ने संसद् ? भ्रष्टाचारका काण्डमा छानबिन गर्नु भन्दा संख्याको बलमा सामसुम पार्न ब्यूँताउन खोज्नु भएको होइन ? भयो देखियो तपाईंको दुईतिहाइ,’ लामिछानेले भने । उनले भदौ २३–२४ को विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्न जरुरी रहेको बताए । ‘युवाहरूको विद्रोहलाई क्रान्तिलाई बदल्न बाँकी छ, सिंहदरबार बनाउन बाँकी छ । भत्किएका संरचना बनाउने मात्र होइन बदल्ने तागत हामीसँग छ,’ लामिछानेले भने, ‘अहिलेको निकासका लागि निर्वाचनमा जानुको विकल्प छैन, त्यसअघि जेनजी विद्रोहका अपेक्षा पूरा गर्नुपर्छ ।’

लामिछानेले सुशासन कायम गर्ने सवालमा रास्वपा सरकारसँग सधैं साथमा रहेको बताए । लामिछानेले युवाको चाहनाअनुसार नयाँ शक्तिहरूसँग मिलेर जान तयार रहेको बताए । संसद् पुनस्र्थापनाका लागि दौडधुप भइरहेको आफूले सूचना पाएको बताएका छन् । उनले भने ‘म सुनिरहेको छु, संसद् पुनस्र्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनस्र्थापनाको कुरा गर्न लाग्नु भएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनु होला।’ उनले षड्यन्त्रको आँखा बन्द गर्न र धेरै आँखा नचम्काउन चेतावनी समेत दिएका छन् ।

 

 

रवि रास्वपा सभापतिकै रुपमा सक्रिय, केन्द्रीय समितिकाे बैठक जारी

काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिकै हैसियतमा फर्किदै सक्रिय बनेका छन् । सहकारी ठगी प्रकरणमा कारागार पुगेका उनी शुक्रबार रिहा भएका थिए । त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ । जेल चलानपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

आज उनै अर्यालले कार्यकक्षमा लामिछानेलाई सभापतिकै रुपमा स्वागत गरेका हुन् । त्यसअघि लामिछानेलाई वनस्थलीमा रहेको पार्टी कार्यालयमा नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए । जेल बाहिर आएपछि केन्द्रीय कार्यालय पुगेका लामिछानेले सम्बोधन पनि गरे । रवि फर्किएसँगै रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेको छ । लामिछाने जेलबाट रिहा भएर फर्किए लगत्तै आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरे ।

घण्टीघरमा रविको सम्बोधन, गुण्डुमा घरदैलो अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहाइपछि पुनः पार्टी गतिविधिमा सक्रिय बनेका छन् । शुक्रबार रिहा भएका लामिछानेको नेतृत्वमा पार्टीले संगठनात्मक गतिविधि तीव्र बनाएको छ भने समानुपातिक उम्मेदवार छनोट प्रक्रिया पनि निर्णायक चरणमा पुगेको छ ।

रास्वपाले आज अपराह्न ४ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सभापति लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठकमा उनले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकअघि दिउँसो ३ बजे पार्टी नेता–कार्यकर्ताले घण्टीघर क्षेत्रमा सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

रिहाइपछिका दिनहरूमा लामिछाने निरन्तर सक्रिय देखिएका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गरेपछि उनी काठमाडौं फर्किएर जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारसँग भेटघाटमा समेत सहभागी भएका थिए । सहकारी ठगी प्रकरणमा लामिछाने जेल चलान भएपछि डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । लामिछाने रिहा भएसँगै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् रूपमा संलग्न हुने स्पष्ट पारेको थियो ।

यता, रास्वपाले समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया पनि अघि बढाएको छ । पार्टीले बनाएको मापदण्डअनुसार प्रारम्भिक मतदानमार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था गरिएको छ । समानुपातिकतर्फका आकांक्षीलाई सबै क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था छ । यसैक्रममा प्रारम्भिक सूचीमा परेका आकांक्षीसँग पार्टीले सबै प्रदेशमा छलफल गरिसकेको छ । छनोट प्रक्रियाको अर्को चरणका रूपमा आज आकांक्षी उम्मेदवारहरूलाई विभिन्न क्षेत्रमा घरदैलो अभियानका लागि खटाइएको छ । भक्तपुरको गुण्डु क्षेत्रमा रास्वपाका समानुपातिकतर्फका आकांक्षी उम्मेदवारले घरदैलो अभियान सञ्चालन गरेका छन् । गुण्डु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास रहेको क्षेत्रका रूपमा पनि परिचित छ ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आकांक्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्डु क्षेत्रमा घरदैलो गरिएको हो । ‘घरदैलो अभियानका लागि पार्टीले मलाई गुण्डुमा खटाएको हो । र्‍यापिड एक्सन टिमको संयोजक भएकाले पार्टीले जिम्मेवारी दिएको होला,’ साजनले बताए । रास्वपाले उद्दार, राहतलगायतका कार्यमा स्वयंसेवी रूपमा सक्रिय रहने उद्देश्यसहित ¥यापिड एक्सन टिम (र्‍याट) गठन गरेको छ । युवाहरूलाई समेटेर बनाइएको उक्त संगठनको संयोजक साजन नै हुन् । रास्वपाबाट समानुपातिक उम्मेदवारका आकांक्षीका रूपमा ३५३ जनाको नाम सार्वजनिक भइसकेको छ । पार्टीले आन्तरिक छनोट प्रक्रिया पूरा गरी १४ पुसमा अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ । पार्टी नेतृत्वको सक्रियता र जमीनी अभियानसँगै रास्वपाले आगामी राजनीतिक यात्रालाई थप गतिशील बनाउने संकेत देखिएको छ ।

 

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा हुने भएको छ । दुई दलबीचमा एकताको अन्तिम टुंगो लागिसकेको छलफलमा सहभागी दुवै दलका नेताहरूले बताए ।

दुई दलको एकताको बारेमा जानकार स्रोतले बताए अनुसार एकता घोषणा गर्ने तयारी गरिएको छ । दुई दलको उच्चस्तरीय संवादपछि एकताको टुंगो लागेको जानकारी गराइएको छ ।

सम्भवत: एकताको घोषणा सभा हुने भएको छ । रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरुसँग एकता वा सहकार्य गर्नका लागि उपसभापति डा। स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको थियो ।

वैकल्पिक शक्तिहरूसँग एकता गर्ने विषयमा विवेकशील साझाका नेताहरु पनि संवादमा जुटिरहेका थिए । बुधबार पनि दुई दलका नेताहरूबीच छलफल चलेको थियो ।

 

रवि र स्वर्णिमसँग भेटेपछि अमरेशकुमार : सहकार्यबारे सकारात्मक कुरा हुँदैछ

काठमाडौं । निर्वतमान सांसद अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अदालतबाट चाँडै न्याय पाउने विश्वास व्यक्त गरेका छन् । नख्खु कारागार पुगेर रविलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रविलाई न्यायालयले न्याय दिने विश्वास अझै रहेको बताएका छन् ।

उनले भने, ‘नेपालको न्यायालयप्रति विश्वास छ, चाँडै न्याय उहाँले पाउनु हुनेछ । चुनावअघि नै निस्किनु हुन्छ भन्ने आशा छ ।’ उनले तत्कालीन सरकारले रविमाथि प्रतिशोध राखेको समेत दाबी गरेका छन् । उनले आजको रविसँगको भेटमा रास्वपा उपसभापति स्वणिम वाग्ले पनि सहभागी रहेको जानकारी दिए ।

उनले भने, ‘तीन जनाबीच देशको राजनीतिक अवस्था, जेनजी आन्दोलन, जनतामा देखिएको निराशालगायतको विषयमा छलफल भयो । हामी जनतामा जानुपर्छ भन्नेमा हामी सहमत छौँ । जनतामा परिवर्तनको चाहना छ ।’ उनले आफ्नो रास्वपासँग सहकार्यको सम्भावना रहेको भन्दै रविसँग पनि त्यसबारे छलफल भएको बताए । उनले आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुनसक्ने सम्भावना समेत उनले बताएका छन् । उनले कुलमान, बालनेसहित नयाँ शक्तिहरू एक ठाउँमा ल्याउनु पर्छ भन्ने संवाद भइरहेको पनि जानकारी दिएका छन्।

 

रातो पासपोर्ट र परिचयपत्र संसद सचिवालयमा बुझाउन रास्वपाका पूर्व सांसदहरूलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।पार्टीका पूर्व सांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

जेनजी प्रदर्शनपछि रास्वपाका सांसदहरूले पदबाट राजीनामा दिएका थिए । पार्टीले ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं,’ रास्वपाले भनेको छ, ‘तसर्थ यस पटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न / नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।’

रास्वपा संस्थापनलाई तोसिमाको चुनौती : हिम्मत भए विशेष महाधिवेशन ‘फेस’ गर

काठमाडौं । रास्वपा नेता तथा पूर्व राज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीको संस्थापन पक्षले आफूविरुद्ध मिडिया ट्रायल र साइबर बुलिङ गरिरहेको भन्दै कडा आपत्ति जनाएकी छन् । उनले हिम्मत भए विशेष महाधिवेशन फेस गर्न चुनौती समेत दिएकी छन् ।

कार्कीले वक्तव्य जारी गर्दै पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रुपान्तरण गरौँ भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा बुलिङ गरिएको भन्दै कडा आपत्ति जनाएकी छन् । उनले भनेकी छन्, ‘साइबर बुलिङ र मिडिया ट्रायल गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् ।

कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरञ्जित गर्ने, विकल्प खोज्नेलाई छाड्न हुन्न, पार्टीबाट निकाल्नु पर्छ आदि भनेर भ्रम छर्न खोज्ने ? हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशीर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग । कार्कीले प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर नडराउने प्रष्ट पारेकी छन् ।

जेनजीसँग वार्ताका लागि रास्वपाले बनायो कार्यदल, पुकार बम ‘कमाण्डर’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी उमेर समूहका युवाहरूलगायत नयाँ शक्तिहरू, अभियन्ताहरूसँग वार्ताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । वार्ताका लागि पार्टीका केन्द्रीय सदस्य पुकार बम कार्यदलको कमाण्डर बनेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकले आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।

रास्वपा छोडेको घोषणा लगतै सुमनाको चेतावनी : जेनजी आन्दोलनलाई बदनाम नगरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) त्यागेको घोषणा गरेकी नेतृ सुमना श्रेष्ठले आफू पार्टीबाट अलग भए पनि परिवर्तनको एजेण्डा नछाडेको बताएकी छन् । अहिलेको जेनजी आन्दोलनप्रति कट्टर समर्थन जनाउँदै पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले यसलाई बदनाम गर्ने कोशिश नगर्न आग्रह गरेकी छन् ।

फेसबुक लाइभमा बोल्दै श्रेष्ठले जेनजी आन्दोलनलाई भविष्यले गरेको विद्रोहको संज्ञा दिइन् । उनले भनिन्, ‘यो भविष्यले गरेको आन्दोलन हो । यो परिवर्तनका लागि गरिएको आन्दोलन हो । सबैलाई भन्न चाहन्छु मैले परिवर्तनको एजेण्डा छोडेको छैन । भित्र बसेर गर्न सकिनँ, अब तपाईंहरु माझ आएर गर्नेछु ।’

श्रेष्ठले नयाँ सरकारमा मन्त्री खान नजाने प्रष्ट्याएकी छन् । सरकारलाई बाहिर बसेर सघाउने उनको प्रतिवद्धता छ । युवाहरुको बलिदान खेर जान नहुने पनि उनले बताएकी छन् । ‘७२ जनाको ज्यान गइसकेको छ । उहाँहरुको बलिदानलाई कसैले पनि बदनाम गर्न पाउनु हुन्न । युवाको बलिदान यत्तिकै खेर जान नदिनुहोला । यो परिवर्तनका लागि युवापुस्ताले गरेको विद्रोह हो’, उनले भनिन् ।

पुराना राजनीतिक दलका युवा नेताहरुलाई उनले पार्टी छोड्न वा पुरानालाई विस्तापित गर्न सुझाव दिइन् । श्रेष्ठले भनिन्, ‘पुराना दलहरुको तेस्रो, चौंथो, पाचौं पुस्तालाई म आह्वान गर्न चाहन्छु, कति डराउने ? किन डराउने ? आखिर हामी सबैले चाहेको परिवर्तन हो । कि हट्नुस कि हटाउनुस । तर एउटा पार्टीभित्र बसेर जेनजीको रेभुलुसनलाई बदानम गर्ने अभियानलाई साथ नदिनु होला ।’

रास्वपाका सबै सांसदले राजीनामा दिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने । रास्वपाका प्रवक्ता मनिष झाले भर्खरै बैठक सुरु भएको जाननकारी दिए ।

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए । जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।

रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो । मंगलबार पनि युवाहरू काठमाडौंसहित देशैभर सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले संसद बिघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । जसमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन् ।