`

बालेनका पिए रास्वपाको सहमहामन्त्री बन्दै, अछाम–२ बाट उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का प्रमुख स्वकीय सचिव भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री बन्ने तयारीमा रहेका छन् । बालेन निकट स्रोतका अनुसार रास्वपाको आगामी संगठनात्मक संरचनामा शाहलाई सहमहामन्त्रीको जिम्मेवारी दिने विषयमा आन्तरिक सहमति जुट्दै गएको छ ।

रास्वपामा समाहित हुने प्रक्रियाका क्रममा शाह बालेनका तर्फबाट वार्ता समितिमा समेत सक्रिय रहेका थिए । सोही पृष्ठभूमिमा बालेनको सिफारिसमै शाहलाई सहमहामन्त्री बनाउने तयारी भएको स्रोतको दाबी छ । पार्टीभित्र संगठन विस्तार र रणनीतिक भूमिकामा शाहलाई अघि सार्ने योजना रहेको बताइएको छ ।

यससँगै भूपदेव शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा पनि छन् । उनले रास्वपाको ‘घण्टी’ चुनाव चिह्न लिएर उम्मेदवारी दिने तयारी गरिरहेको र त्यसका लागि स्थानीय तहमा संगठन विस्तार तथा चुनावी रणनीति निर्माणका काम तीव्र बनाइएको जनाइएको छ । अछाम शाहको जन्मस्थान समेत हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि भूपदेव शाहलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिइएको थियो । त्यसयता शाह बालेनका सबैभन्दा विश्वासिला सहयोगीका रूपमा परिचित छन् । बालेनका विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयमा शाहको प्रभावकारी भूमिका रहने गरेको निकटस्थहरू बताउँछन् ।

केही दिनअघि मात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दुई पक्षीय राजनीतिक सहमति भएको थियो । सो सहमतिपछि बालेन–रास्वपा सम्बन्ध थप नजिकिएको विश्लेषण भइरहेका बेला भूपदेव शाहको सहमहामन्त्री बन्ने तयारी र प्रतिनिधिसभा उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अर्यालको प्रश्न : संविधान बनेको १० वर्षमै शान्तिको विषयमा बहस गर्नुपर्ने अवस्था कसले बनायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले संविधान बनेको १० वर्षमै शान्तिकै विषयमा बहस गर्नुपर्ने अवस्था आउनुको कारण खोज्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व विज्ञान प्रविधिमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा नेपालमा भने शान्ति र स्थायित्वकै विषयमा बहस गर्नुपर्ने अवस्थाको कारक खोज्नुपर्ने बताएका हुन् ।

‘यो अवस्था कसले ल्यायो ? किन आयो ? यसको उत्तर कसले दिनुपर्ने हो ? यसको पनि बहस आवश्यक छ,’ उनले भने । भदौ २३ र २४ को घटना किन भए भन्ने विषयमा पनि बहस हुनुपर्ने उनले बताएका छन् । यसबाट निजी क्षेत्र प्रभावित भएको अर्यालले बताए । ‘नेपालको निजी क्षेत्रले ५० प्रतिशत बढी रोजगारी सिर्जना गर्दै आएको छ । ५५ लाख मानिसलाई रोजगारी दिएको छ । यसले सामाजिक समृद्धिमा ठूलो भूमिका खेलेको छ । प्रारम्भिक मूल्यांकनअनुसार निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति भयो,’ उनले भने ।

‘शान्ति र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका छन्,’ अर्यालले भने, ‘शान्ति बिना समृद्धि सम्भव छैन र समृद्धि बिना शान्ति दीगो रहँदैन भन्ने मर्मलाई निजी क्षेत्रले स्वीकार गरेको छ ।’ राजनीतिक स्थायित्वले लगानी, रोजगारी र राष्ट्रिय उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पार्ने र जनआशा मजबुत बनाउने उनले बताए । उनले देश चुनाव केन्द्रित भइरहेको बताउँदै सरकार, निर्वाचन आयोग र सम्बन्धित पक्षलाई उनले धन्यवाद ज्ञापन गरे ।

समानुपातिक सूचीमा भएका गल्ती सच्याइनेछ : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा भएका गल्ती सच्याइने बताएका छन् । समानुपातिक सूचीलाई लिएर पार्टीभित्रै तथा बाहिरबाट चौतर्फी आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

पराजुलीले लेखेका छन्, ‘सहमति अत्यावश्यक थियो । अन्तिम समयमा महत्वपूर्ण काम भए । समानुपातिक सूचीमा भएका गल्ती सच्याइने छन् । सुशासन र विधि हाम्रो जग हो ।’ पार्टीका नेता–कार्यकर्ता मात्र होइन, समर्थक र नागरिक तहबाट समेत समानुपातिक प्रणालीको मर्मअनुसार सूची समावेशी र निष्पक्ष नभएको आलोचना भइरहेको छ ।

 

रास्वपामा विधि मिचेर समानुपातिक सूची : पार्टीभित्र विवाद, बाहिर आलोचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीले पार्टीभित्र मात्र होइन, सार्वजनिक रूपमा पनि तीव्र विवाद र असन्तुष्टि जन्माएको छ । ‘विधि, पारदर्शिता र नयाँ राजनीति’ को नारा बोकेको रास्वपा आफैंले सुरु गरेको प्राइमरी इलेक्सनको नतिजा मिचेर सूची तयार गरेको आरोपमा आफ्नै नेताहरू, अभियन्ता र समर्थकको घेराबन्दीमा परेको छ ।

सबैभन्दा ठूलो असन्तुष्टि प्राइमरी इलेक्सनबाट शीर्ष स्थान हासिल गरेका उम्मेदवारहरूलाई सूचीमा पछाडि पारिएको विषयमा देखिएको छ । खुलातर्फ सबैभन्दा बढी मत ल्याएका रमेश प्रसाईं खस–आर्य कोटामा पाँचौँ स्थानमा राखिँदा, कम मत पाएका विपिनकुमार आचार्य पहिलो नम्बरमा परेका छन् । यही विषयलाई लिएर ‘आफैंले परीक्षा लिने, आफैं प्रश्नपत्र बनाउने र आफैं पहिलो हुने’ कटाक्ष पार्टीभित्रैबाट उठेको छ ।

यसै सन्दर्भमा केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्कीले ‘प्राइमरी भोटिङकै धज्जी उडाइएको’ भन्दै नेतृत्वमाथि सीधा प्रश्न उठाएकी छन् । पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैं ‘पोजिसन अफ बेनिफिट’ मा रहेको आरोप लगाउँदै उनले पद होल्ड गर्नेहरूले प्रत्यक्ष चुनाव लड्ने साहस देखाउनु पर्ने धारणा सार्वजनिक गरेकी छन् ।

असन्तुष्टि केवल प्रक्रियामा सीमित छैन, भूगोल र प्रतिनिधित्वको सवाल पनि चर्को बनेको छ । सभापति रवि लामिछानेको गृह जिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिँदा सुदूरपश्चिमबाट दुई जना मात्रै पर्नु गम्भीर असन्तुलनको उदाहरण बनेको छ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले ‘मेरो सुदूर अझै पनि सुदूर नै छ’ भन्दै समानुपातिक प्रणालीलाई ‘सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र’ बनाइएको आरोप लगाएकी छन् ।

रास्वपासँग एकता गरेका उज्यालो नेपाल पार्टी (उनेपा) भित्र पनि असन्तुष्टि उस्तै छ । उनेपाबाट पहिलो नम्बरमा सिफारिस गरिएका डा. महेन्द्र लावतीलाई संयुक्त सूचीको १२ नम्बरमा राखिएपछि उनले आफ्नो नाम नै हटाउन आग्रह गरेका छन् । उनेपाले पाउनु पर्ने २२ सिटमध्ये १४ मा सीमित हुनुपरेको गुनासो पनि छ ।

सूचीमा सेलिब्रेटी, व्यापारी, इन्फ्लुएन्सर र चिनजानका व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप बाहिर पनि तीव्र रूपमा उठेको छ । अभियन्ता आशिका तामाङले ‘निमुखाका लागि छुट्याइएको समानुपातिक कोटामा मिस नेपालले अवसर पाउने’ कटाक्ष गर्दै नयाँ दलहरू पनि पुरानै अभ्यासमा फसेको टिप्पणी गरेकी छन् ।

रास्वपाको समानुपातिक सूचीमा गायक–गायिका, अभिनेता–अभिनेत्री, पूर्व मिस नेपाल र मिस्टर नेपालसम्म परेपछि ‘प्रतिनिधित्व कि पहुँच ?’ भन्ने प्रश्न झन् बलियो बनेको छ । रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङको त्रिकोणात्मक एकताबाट ठूलो राजनीतिक सन्देश जाने अपेक्षा गरिएको बेला सार्वजनिक भएको यो सूचीले भने रास्वपाभित्र गहिरो दरार देखाएको छ । नयाँ राजनीतिक संस्कृतिको दाबी गर्ने दल आफैं पुरानै रोगले ग्रस्त भएको हो कि भन्ने प्रश्न अब पार्टीभित्र मात्र होइन, जनस्तरमै उठ्न थालेको छ ।

 

उज्यालो–रास्वपा एकताप्रति असन्तुष्टि : लावतीले गरे नाम फिर्ताको संकेत, पहिचानवादी अलमलमा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता-विलयपछि उज्यालो पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । उज्यालो नेपाल पार्टीका नेता तथा प्राध्यापक डा. महेन्द्र लावतीले रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा आफ्नो नाम राखिएकोप्रति आपत्ति जनाउँदै पार्टी एकता आफूहरूसँग सल्लाह नगरी गरिएको बताएका छन् ।

रास्वपाले बुझाएको समानुपातिक सूचीमा डा. लावती आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औं नम्बरमा छन् । तर उनले उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको विषय आफूले समाचारबाट मात्रै थाहा पाएको बताएका छन् । उनले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समानुपातिकता आफ्ना ‘बटमलाइन’ मुद्दा भएको स्पष्ट पारे । यी विषय एकतासम्बन्धी ७ बुँदे सहमतिमा नसमेटिएको भन्दै उनले रास्वपाले स्पष्ट धारणा सार्वजनिक नगरे आफूहरू साथ नहुने चेतावनी दिए ।

लावतीमाथि पहिचानको मुद्दा छाडेको आरोप पनि बढ्दै गएको छ । प्रदेश नामकरणपछि सुरु भएको आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूको सपना बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ । यस्तै, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले पनि पार्टी विलय प्रक्रियाप्रति असहमति जनाएका छन् । उनले संरक्षक कुलमान घिसिङले कसैसँग सल्लाह नगरी एकल निर्णयमा पार्टी विलय गराएको आरोप लगाएका छन् । थेगिमका अनुसार यसले पहिचान, धर्म निरपेक्षता र संघीयताको मुद्दा के हुने भन्ने अन्योल बढाएको छ । ‘यो एकता होइन, समाहित मात्रै हो’, उनले भने ।

सोमबार कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी रास्वपासँग एकता गरेपछि रास्वपाले तीन पक्ष समेटेर ११० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा उज्यालो पार्टीका १८ जना समावेश छन् । उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय खस–आर्य पुरुषतर्फ समानुपातिक उम्मेदवार बनेका छन् भने डा. महेन्द्र लावतीसहित संयुक्त पहिचानवादी मोर्चाका नेताहरूको नाम पनि सूचीमा परेको छ । एकातर्फ उज्यालो पार्टीका शीर्ष नेताहरू नै रास्वपाको समानुपातिक उम्मेदवार बनेका छन् भने अर्कोतर्फ पार्टीभित्र पहिचान, धर्म निरपेक्षता र संघीयताको मुद्दालाई लिएर असन्तोष र अलमल बढ्दै गएको छ ।

यता एकतापछि रास्वपाको उपसभापति बनेका ऊर्जामन्त्री कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै पार्टी एकता गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकताले देशलाई सही निकासतर्फ लैजाने बताएका छन् । घिसिङले यो मिलनलाई देशको सही निकासका लागि एउटा बलियो कदमको रूपमा व्याख्या गरेका छन् ।

‘उज्यालो नेपाल अभियानलाई थप सशक्त र संस्थागत बनाउन राजनीतिक शक्ति अपरिहार्य रहेको उल्लेख गर्दै आम नागरिकको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन् । एकताको मस्यौदा तयार पार्न सोमबार साँझ कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा निर्णायक छलफल भएको थियो । उक्त वार्तामा नेपाली राजनीतिका तीन प्रभावशाली र चर्चित पात्रहरू–रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङको उपस्थिति थियो ।

रविको चुनाव क्षेत्र चितवनबाटै समानुपातिक सूचीमा मात्रै २१ जना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक सूचीमा पार्टी सभापति रवि लामिछानेको चुनाव क्षेत्र चितवन जिल्लाबाट उम्मेदवारको वर्चस्व देखिएको छ । बालेन साह र कुलमान घिसिङसँग एकीकरण गरेपछि सूची बुझाउन ढिला भएको थियो । तीन समूहमा भागबण्डा गरेर रास्वपाले ११० जनाको सूची बुझाएको हो ।

चितवनबाट सबैभन्दा धेरै २१ जना समानुपातिकतर्फको उम्मेदवार सूचीमा परेका छन् । चितवनपछि मोरङबाट १५ जना उम्मेदवार रहेका छन् । सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको कतिपय जिल्लाबाट भने समानुपातिकतर्फका उम्मेदवार शून्य छ । चितवनमा डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी शेर्पा, सन्देश गुरुङ आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सूचीमा छन् । त्यस्तै, खर्सआर्यमा चितवनबाट सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने, प्रभा ढकाल उम्मेदवार रहेका छन् । सूचीअनुसार चितवनबाट १६ जना खसआर्य क्लस्टर र ५ जना आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवार रहेका छन् ।

मोरङबाट डा. राम लामा, मिङमा ग्लाबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मानकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, विशाल गुरुङ, रञ्जनी श्रेष्ठ, डा. ओजश्वी शेरचन, मीरा महर्जन र तुलसा वाइवासहित १३ जना आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् । यस्तै खस आर्य समूहमा ३२ जनाको नाम समावेश छ । तीमध्ये चितवनबाट १६ जनाको नाम समावेश छ । यो भनेको खस आर्य समूहको ५० प्रतिशत हो । १६ जनामध्ये ८ जना पुरुष र ८ जना महिला छन् । खसआर्य महिलामा मोरङका रञ्जु दर्शना र थारु क्लस्टरबाट सुरेन्द्र चौधरी सिफारिस भएका छन् ।

काठमाडौंबाट ५, ललितपुर र भक्तपुर जिल्लाबाट ३/३ जना मात्रै समानुपातिक सूचीमा छन् । सूचीअनुसार ७७ जिल्लामध्ये ३५ जिल्लाबाटै समानुपातिक उम्मेदवार परेका छन् । उम्मेदवार सिफारिस भएका जिल्लामध्ये अधिकांशबाट एकभन्दा बढी सूचीमा छन् । सुनसरी, सिन्धुपाल्चोक, गोरखा, कास्की, खोटाङ, ताप्लेजुङ, दाङ, सिरहा, रुकुम, म्याग्दी, झापा, रुपन्देही, नुवाकोट, कञ्चनपुर, भोजपुर, सोलुखुम्बु, सप्तरी, पाँचथर, बाग्लुङ, धनुषा, रौतहट, सुर्खेत, बर्दिया, महोत्तरी, बारा, सुनसरी, कपिलवस्तु बाँके, ओखलढुंगालगायत जिल्लाबाट मात्रै उम्मेदवार सूचीमा परेका छन् । कम्तीमा ५ जना उम्मेदवारको भने सूचीमा जिल्ला खुल्न बाँकी छ ।

कुलमानलाई रास्वपाको उपसभापति बनाउने सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी निर्वाचनलाई लक्षित गर्दै संयुक्त सहकार्य गर्ने सहमति भएको छ । सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् भने तीनै जना एकै राजनीतिक मोर्चाबाट निर्वाचनमा अघि बढ्ने भएका छन् ।

यसअघि नै रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने आन्तरिक सहमति गरिसकेको थियो । आइतबार बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा भने कुलमान घिसिङ सहभागी थिएनन् । त्यसपछि बालेन र रविले पटक–पटक कुलमानसँग वार्ता गर्दै सहमतिमा ल्याउने प्रयास गरेका थिए ।

सोमबार कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भेटवार्तापछि अन्ततः उनीहरू समानुपातिकतर्फ एउटै दलको बन्द सूचीमार्फत निर्वाचनमा जाने सहमतिमा पुगेका हुन् । रास्वपाका उपसभापति डीपी अर्यालले तीनै जनाबीच सहमति भइसकेको पुष्टि गर्दै सहमतिपत्रमा हस्ताक्षरको प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।

आइतबारको प्रारम्भिक सहमतिमा छुटेका कुलमानलाई समेट्न जेन–जी अभियानीहरूको सक्रिय भूमिका देखिएको थियो । सुदन गुरुङलगायतका केही अभियानीहरूले कुलमानलाई प्रत्यक्ष रूपमा बालेन र रविसँग वार्तामा सहभागी गराउँदै सहजीकरण गरेका थिए । स्रोतका अनुसार उनीहरूकै पहलमा कुलमान, बालेन र रविबीच निर्णायक संवाद सम्भव भएको हो ।

वार्ताका क्रममा कुलमान घिसिङले सुरुमा रास्वपामा सह–सभापति पदको माग गरेका थिए । साथै, केन्द्रीय समिति, समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारमा उज्यालो नेपाल पार्टीलाई ३० प्रतिशत हिस्सा दिनुपर्ने प्रस्ताव पनि राखेका थिए । तर रास्वपा पक्षले नयाँ राजनीतिक शक्तिका लागि उक्त माग अत्यधिक भएको भन्दै १५ प्रतिशतभन्दा बढी दिन नसकिने स्पष्ट पारेको थियो ।

त्यसपछि रास्वपाले सह–सभापति होइन, उपसभापति पद प्रस्ताव गरेको थियो । सुरुमा कुलमानले यो प्रस्ताव अस्वीकार गरेपछि वार्ता अनिर्णित बनेको थियो । तर जेन–जी अभियानीहरूको निरन्तर पहलपछि कुलमान उपसभापति पदमा सहमत भएका हुन् । यस सहमतिसँगै रास्वपा, बालेन शाह र कुलमान घिसिङको संयुक्त राजनीतिक यात्रा औपचारिक रूपमा सुरु हुने संकेत देखिएको छ । नयाँ पुस्ता, वैकल्पिक राजनीति र प्रशासनिक अनुभवको संयोजनले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपाको बैठक, देखिएनन् बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अहिले बैठक चलिरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिन बैठक बसेको उनले जनाएका छन् । रास्वपाले आन्तरिक प्रतिष्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रुप दिन लागेको हो । निर्वाचन आयोगले आजसम्मका लागि समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको छ । जस अनुसार, बन्दसूची पेश गर्नका लागि दलहरू अन्तिम तयारीमा छन् ।

जारी बैठकमा हालै रास्वपामा समाहित भएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह भने उपस्थित भएका छैनन् । रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच आइतबार एकताको सहमति भएको थियो । जस अनुसार रवि सभापति हुने र बालेन आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तथा संसदीय दलको नेता हुने सहमति बनेको छ । बालेनलाई रविपछिको वरीयता दिने समेत समझदारी भएको थियो । तर, एकतापछिको पहिलो केन्द्रीय समितिको बैठमा बालेन भने देखा परेका छैनन् ।

मन्त्री बन्न नपाएकी टासी र गायिका सत्यकला रास्वपाको सूचीमा

काठमाडौं । वातावरण तथा सामाजिक अभियन्ता टासी ल्हान्जोम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा समावेश भएकी छन् । पार्टीको प्रारम्भिक उम्मेदवार छनोट प्रक्रियामा आदिवासी जनजाति समूहबाट उनी १३ हजार ७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा पर्न सफल भएकी हुन्।

उक्त समूहबाट सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारमा उत्तमबहादुर गुरुङ छन् । उनले १६ हजार १२ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । त्यसैगरी गायिका तथा सामाजिक अभियन्ता सत्यकला राई १४ हजार २०१ मतसहित दोस्रो स्थानमा चयन भएकी छिन् ।

मतपरिणाम सार्वजनिक भएपछि उत्साहित देखिएकी टासी ल्हान्जोमले सामाजिक सञ्जालमार्फत मतदाताप्रति आभार व्यक्त गर्दै लेखेकी छन्, ‘तपाईंहरूको विश्वास र समर्थनकै परिणाम हो यो । अब हामी नेतृत्व गर्दै विजयको बाटोमा अघि बढ्नेछौं ।’ उनको यो प्रतिक्रिया समर्थकहरूमाझ सकारात्मक रूपमा लिइएको छ । टासी ल्हान्जोम केही समयअघि सुशीला कार्की नेतृत्वको सम्भावित क्याबिनेटमा मन्त्री बन्ने चर्चा चले पनि अन्ततः त्यो प्रक्रिया अघि बढेन । मन्त्री बन्न नपाएको चर्चाका बीच उनी दुई साताअघि मात्रै रास्वपामा आबद्ध भएकी थिइन् ।

पार्टी प्रवेश गरेको छोटो समयमै समानुपातिक सूचीमा स्थान बनाउन सफल हुनु टासीका लागि राजनीतिक रूपमा महत्वपूर्ण उपलब्धि मानिएको छ । रास्वपाले समानुपातिकतर्फ समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताउँदै आएको छ । आदिवासी जनजाति समूहबाट प्राप्त मत परिणामले पार्टीभित्र यी उम्मेदवारहरूको लोकप्रियता र सम्भावनालाई स्पष्ट रूपमा देखाएको छ । अब प्रारम्भिक सूचीलाई अन्तिम रूप दिने क्रममा पार्टीले के निर्णय लिन्छ भन्ने चासो बढेको छ । टासी ल्हान्जोम र सत्यकला राई जस्ता नयाँ अनुहारहरू सक्रिय राजनीतिमा देखिनुले रास्वपाको आगामी राजनीतिक यात्रामा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

रवि–बालेन र कुलमानबीचको एकता वार्ता विफल, आज निर्णायक प्रयास हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने प्रयास निर्णायक मोडमा पुगे पनि सहमतिमा टुंगिन सकेन ।

आइतबार राति मध्यरातसम्म चलेको भनिएको एकता वार्ता पद, भूमिका र शक्ति सन्तुलनका विषयमा सहमति नजुट्दा असफल भएको हो । यद्यपि नेताहरूले समयसीमाको दबाबका बीच सोमबार पनि अन्तिम प्रयास जारी राख्ने बताएका छन् ।

निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले सोमबार बिहानसम्म सहमति जुटाउने प्रयास गरिने वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बिहान १० बजेसम्म सहमति भएन भने कानुनी र प्राविधिक कारण एकीकृत सूची बुझाउन कठिन हुने अवस्था छ । यही कारण केही घण्टालाई निर्णायक मानिएको छ ।

केही दिनदेखि चलिरहेको त्रिपक्षीय संवादमा आइतबार बिहान भने रवि लामिछाने र बालेन शाहबीच सात बुँदे सहमति भइसकेको थियो । त्यस सहमतिले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै रास्वपाभित्रै वैकल्पिक राजनीतिको केन्द्र बनाएको छ । तर उक्त सहमतिमा उज्यालो नेपाल पार्टी र उसका संरक्षक कुलमान घिसिङ अटाउन नसकेपछि उनीसँग छुट्टै संवाद तीव्र पारिएको थियो ।

वार्तामा सबैभन्दा ठूलो अड्चन कुलमान घिसिङको भूमिका र पदलाई लिएर देखिएको बताइन्छ । उज्यालो नेपाल पार्टी पक्षले सहअध्यक्ष वा कार्यकारी सभापति जस्ता हैसियतको माग गरेको स्रोतको दाबी छ भने प्रधानमन्त्री आलोपालो हुनुपर्ने प्रस्ताव समेत आएको बताइएको छ । रास्वपा नेतृत्व भने पार्टी संरचना, शक्ति सन्तुलन र नेतृत्वको स्पष्टतामा सम्झौता गर्न तयार नदेखिएको जनाइएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पनि कुलमानको कार्यकारी नेतृत्वसम्बन्धी आकांक्षाका कारण सहमति नजुटेको संकेत दिएका छन् ।

बालेन शाह भने कुलमानलाई समेट्न लचक देखिएका थिए भन्ने कुरा बालेन निकट नेताहरूले बताएका छन् । तर अन्ततः रवि लामिछानेको अडानका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको उनीहरूको भनाइ छ । यद्यपि सोमबारसम्म अन्तिम प्रयास गर्ने सहमति भने कायम रहेको जनाइएको छ । यसैबीच, जेनजी आन्दोलनबाट उदाएका युवा अगुवाहरूले कुलमानलाई पनि एकतामा समेट्न दबाब बढाएका थिए ।

केही युवा प्रतिनिधिहरू मध्यराति कुलमान घिसिङको निवासमै पुगेर सहमतिका लागि आग्रह गरेका थिए । जेनजी आन्दोलनका एक अगुवा सुदन गुरुङ पनि वार्तामा प्रत्यक्ष संलग्न थिए । सहमति नजुटेपछि उनले राति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै यस्तो निर्णायक घडीमा कुलमान अलग देखिनु परिवर्तन चाहने जनताका लागि दुःखद भएको बताएका छन् । उनले देशलाई विभाजन होइन, एकता आवश्यक रहेको भन्दै अन्तिम क्षणमा पनि सबै पक्षलाई सँगै उभिन आग्रह गरेका छन् ।

उता, आइतबार राति बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले रवि र बालेनबीच भएको सातबुँदे सहमतिलाई औपचारिक रूपमा अनुमोदन गरिसकेको छ । यससँगै बालेन–रास्वपा एकता संस्थागत भइसकेको छ भने वैकल्पिक राजनीतिका अन्य धारहरू पनि क्रमशः रास्वपामै समाहित हुने अवस्था देखिएको छ ।
विगत एक दशकदेखि नेपालमा वैकल्पिक राजनीतिको बहस विभिन्न धारमार्फत अघि बढ्दै आएको छ ।

स्वर्गीय उज्ज्वल थापाले सुरु गरेको विवेकशील नेपाली अभियान, त्यसपछि बनेको विवेकशील साझा पार्टी, साझा हुँदै आएका युवा अभियन्ताहरू, स्थानीय तहमा उदाएका स्वतन्त्र पात्र र पछिल्लो समय जेनजी आन्दोलन-यी सबै धार अहिले रास्वपामा मिसिने प्रक्रियामा देखिन्छन् । मंसिर १४ गते विवेकशील साझा पार्टी र रास्वपाबीच भएको पाँच बुँदे सहमतिले वैकल्पिक राजनीतिको एउटा ठूलो धार औपचारिक रूपमा रास्वपामा विलय भइसकेको छ ।

स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन शाह वैकल्पिक राजनीतिका सबैभन्दा प्रभावशाली अनुहारका रूपमा उदाए । उनका कार्यशैली र निर्णय विवादास्पद भए पनि भ्रष्टाचारबाट टाढा रहेको छवि र फरक शैलीकै कारण उनी युवा पुस्तामाझ लोकप्रिय बने । जेनजी आन्दोलनपछि नवयुवाहरूले उनलाई प्रधानमन्त्रीको पहिलो विकल्पका रूपमा अघि सारेका थिए । अन्ततः उनले त्यो प्रस्ताव अस्वीकार गरे पनि अहिले रास्वपासँगको एकतामार्फत भावी प्रधानमन्त्रीको उम्मेदवारकै रूपमा औपचारिक राजनीतिक भूमिकामा प्रवेश गरेका छन् ।

बालेनसँगको एकतापछि जेनजी आन्दोलनका धेरै अनुहारहरू पनि रास्वपातर्फ आकर्षित भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची तयार गर्दा जेनजी युवाहरूलाई प्राथमिकता दिने समझदारी भएको बताइन्छ । बालेन र रवि लामिछानेले आ–आफ्नो सूची बनाएर अन्तिम चरणमा क्षमता, विज्ञता र आन्दोलनको प्रतिनिधित्वका आधारमा साझा सूची बनाउने सहमति गरेका छन् ।

यस समग्र प्रक्रियाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक राजनीतिको केन्द्रबिन्दुमा पुर्‍याएको देखिन्छ । विवेकशील साझा, बालेन शाह र जेनजी आन्दोलन-तीनै प्रमुख वैकल्पिक धारहरूलाई समेट्दै रास्वपा नयाँ राजनीतिक भँगालोका रूपमा उभिएको छ । कुलमान घिसिङ यो प्रक्रियामा समेटिन्छन् वा अलग धारका रूपमा अघि बढ्छन् भन्ने कुरा केही घण्टाभित्रै स्पष्ट हुने संकेत देखिएको छ । तर जे जस्तो परिणाम आए पनि नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरूको पुनर्संरचना र ध्रुवीकरण तीव्र रूपमा अघि बढिरहेको तथ्य भने स्पष्ट देखिन थालेको छ ।

रवि र बालेन बसेर समानुपातिक उम्मेदवार टुंगो लगाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन सहमति गरेसँगै आसन्न निर्वाचनका लागि उम्मेदवारीमा उनले कति हिस्सा माग्छन् भन्ने चर्चा सुरू भएको छ । पार्टी तथा चुनावका लागि हुने उम्मेदवारीमा बालेन पक्षको कति प्रतिशत हिस्सेदारी हुनेबारे अहिले कुनै सहमति नभएको रास्वपाका नेता शिशिर खनाल बताउँछन् । फागुन २१ मा हुने प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने म्याद भोलिसम्म मात्र बाँकी छ ।त्यसो भए, अब कसरी उनीहरूले उम्मेदवार छान्छन् त ?

दुवै जना बसेर समानुपातिकका लागि सूची तयार गर्ने उनले बताएका छन् । ‘आफ्नो आफ्नो सूची बनाउनु हुन्छ । दुवै जना बसेर आफ्ना आफ्ना सूचीमा छलफल गर्नु हुन्छ । दुवैको सहमतिमा सूची तयार हुन्छ,’ उनले भने,‘अहिले यो विषय खुला राखिएको पनि त्यही भएर हो ।’ प्रत्यक्ष निर्वाचनका लागि भने रास्वपाले पार्टीभित्र चुनाव गराएर उम्मेदवार चयन गर्छ । त्यसका लागि बालेन पक्षका उम्मेदवारहरूले पनि प्रतिस्पर्धामा भाग लिनुपर्ने हुन्छ । शनिबार राति भएको सम्झौतामा एकता पश्चात् योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर अनुभवी विज्ञहरूलाई समावेश गर्दै संगठनात्मक संरचना थप गर्ने अनि निर्वाचन आयोगमा दस्तावेज अद्यावधिक गर्ने उल्लेख छ ।

 

रवि–बालेन सम्झौतापछि कुलमानकाे पार्टीले भन्यो–जेनजी आन्दोलनको भावना समेटिएन

काठमाडौं । वैकल्पिक राजनीतिक धार निर्माणको बहुप्रतीक्षित प्रयास अन्ततः त्रिपक्षीय एकतामा रूपान्तरण हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ यो प्रक्रियाबाट अलग भएका छन् । उज्यालो नेपाल पार्टीले उक्त सहमतिले ‘जेनजी आन्दोलनको मूल भावना’ नसमेटेको भन्दै असहमति जनाएको छ ।

आइतबार बिहान रवि र बालेनले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुई पक्षीय एकताको औपचारिक घोषणा गरे । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी गरिएको छ । तर यही संरचनाले उज्यालो नेपाल पार्टीको पहिचान र भूमिकालाई ओझेलमा पार्ने निष्कर्षसहित कुलमान पछाडि हटेका हुन् ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न जितराम लामाले सहमतिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यो सम्झौता अपेक्षाकृत थिएन । त्यहाँ पदको भागबण्डा बाहेक भोलिको रोडम्याप, नीतिगत स्पष्टता र देशका समस्या समाधानका उपाय देखिँदैनन् । जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेटिएको छैन ।’ उनका अनुसार पार्टीले अब आफ्नै ढंगले संगठन विस्तार गर्दै कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतामा जाने निर्णय गरेको छ ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच भइरहेको संवादमा रवि जोडिएपछि त्रिपक्षीय वार्ता अघि बढेको बताइन्छ । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा कुरा टुंगिन सकेन । छलफलमा सबै संरचना र पहिचान रास्वपाकै रहने र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । यसले उज्यालो नेपाल पार्टीको अस्तित्व नै विलय हुने ठहरसहित कुलमानले अस्वीकार गरेका थिए ।

स्रोतहरूका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न उज्यालो नेपाल पार्टीकै स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आवश्यक नरहेको भन्दै संरचनागत सम्मान र दीर्घकालीन राजनीतिक दिशामा जोड दिएका थिए । तर रवि र बालेन यसमा सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गर्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीमा भएको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि शक्ति बाँडफाँड मिलाउने आश्वासन दिइए पनि बालेनले सुरुदेखि नै स्पष्ट संरचना र भूमिकाको माग गरेका थिए ।

त्यसपछि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । उनले राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै वैकल्पिक शक्ति निर्माणको संकेत दिएका थिए । बालेन अलग बाटोमा अघि बढेको बुझाइपछि रविले पुनः संवाद थाले र पुस १० गतेको छलफलमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएको बताइन्छ । त्यसपछि दुवै पक्षका प्रतिनिधि रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर उज्यालो नेपाल पार्टीका प्रतिनिधिलाई कार्यदलमा समेटिन नसक्नु, रविले जेलबाट छुटेपछि कुलमानसँग प्रत्यक्ष संवाद नगर्नु र शक्ति बाँडफाँडमा लचकता नदेखिनुका कारण कुलमान असन्तुष्ट बने । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर विलय नहुने औपचारिक निर्णय समेत गरिसकेको थियो ।

यद्यपि अन्तिम समयसम्म बालेनले कुलमानलाई मनाउने प्रयास जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । परिणामतः चर्चित त्रिपक्षीय वैकल्पिक राजनीतिक धार निर्माणको प्रयास दुई पक्षीय सहमतिमा सीमित रह्यो । अब रवि–बालेन एउटै प्लेटफर्मबाट अघि बढ्ने भएका छन् भने कुलमान घिसिङ आफ्नै दलसहित अलग राजनीतिक यात्रामा निस्कने संकेत स्पष्ट देखिएको छ ।

 

रास्वपामा बालेनलाई सभापति रवि पछिको वरीयता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिका मेयर बालेन शाह रवि लामिछाने पछिको वरियतामा रहने भएका छन् । आज (आइतबार) बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचनपछि संसदीय दलको नेता बनाउने छ ।

तर सहमतिमा बालेन शाह रास्वपामा कुन जिम्मेवारीमा रहने भन्ने विषयमा केही उल्लेख छैन । बालेन निकट केपी खनालका अनुसार बालेनलाई रास्वपामा दोस्रो वरीयता दिने सहमति छ । ‘भावी प्रधानमन्त्रीको उम्मेद्वार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा दोस्रो वरीयतामा रहनु हुन्छ,’ बालेनका निकट केपी खनालले सुनाए, ‘मेयर बालेनले कुनै पदको कुरा वार्तामा गर्नु भएको छैन । उहाँले देशलाई निकास दिनुपर्छ भन्ने हिसाबले कुरा गर्नुभएको थियो । तर भावी प्रधानमन्त्रीको हिसाबले उहाँ सभापति रवि लामिछानेपछिको वरीयतामा रहनुहुन्छ ।’

सहमतिमा केन्द्रीय समितिमा बालेन पक्षका को को र कति जना सहभागी हुने भन्ने विषय उल्लेख गरिएको छैन । तर युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्ने भनिएको छ । ‘एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिमा उल्लेख छ ।

हस्ताक्षरपछि रविले भने–सहमति नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक एकताको औपचारिक सहमति भएको छ । आइतबार बिहान दुबै नेताले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।

सहमति अनुसार एकता पछि कायम रहने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै हुनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमतिपत्रमा उल्लेख छ ।

राजनीतिक संरचनाको विषयमा पनि स्पष्ट सहमति गरिएको छ । रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । यसले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ।

सहमति पछि प्रतिक्रिया दिँदै रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफूहरूको कदम व्यक्ति केन्द्रित नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘सहमति भनेको नेताले खोजे जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’ उनको भनाइले यो एकता व्यक्तिगत महत्वाकांक्षाभन्दा देशको आवश्यकतालाई केन्द्रमा राखेर गरिएको दाबी गर्छ ।

रवि–बालेनबीचको यो सहमतिलाई नयाँ पुस्ताको राजनीति र वैकल्पिक शक्तिको प्रयासका रूपमा हेरिएको छ । विशेष गरी काठमाडौं महानगरका मेयरका रूपमा बालेनको सक्रियता र रास्वपाको उदयसँगै बनेको यो एकताले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

रवि–बालेन हस्ताक्षरमा को–को थिए साक्षी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच गोप्य वार्तापछि सहमति भएको छ । अत्यन्तै सीमित व्यक्तिहरू मात्रै सहभागी भएको वार्तापछि आज बिहान करिब चार बजेतिर सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

हिजो रातिसम्म पनि वार्ता चलिरहेको विषयमा सञ्चारकर्मीलाई जानकारी नदिइएको र सहमति प्रक्रिया पूर्ण रूपमा गोप्य राखिएको बताइएको छ । हस्ताक्षर समारोहमा दुवै पक्षका करिब एक दर्जन व्यक्तिहरू उपस्थित थिए, जसलाई सम्झौताका प्रत्यक्ष साक्षीका रूपमा लिइएको छ ।

रास्वपाको तर्फबाट उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र असिम साह वार्ता तथा हस्ताक्षर प्रक्रियामा सहभागी थिए । असिम साहका दाइ आसिफ साहको पनि उपस्थिति रहेको थियो । सहमतिमा उल्लेख भएअनुसार पार्टी सभापति रवि लामिछाने यथावत रहने र भावी प्रधानमन्त्रीको रूपमा बालेन साहलाई अघि सारिने समझदारी भएको जनाइएको छ ।

बालेनको पक्षबाट कुमार बेन, भुपदेव साह, सुदिप ढकाल, जेन–जी युवा अगुवा केपी खनाल तथा कलाकार निश्चल बस्नेतलगायत निकट व्यक्तिहरू उपस्थित थिए । हस्ताक्षरपछि रवि लामिछाने र बालेन साहले एकअर्कालाई अंगालो हाल्दै सहमतिको औपचारिक घोषणा गरेका थिए । त्यसपछि सहभागी सबैले सामूहिक तस्बिर खिचाएका थिए ।

सम्झौतापछि प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले यो सहमति नेताहरूको व्यक्तिगत चाहनाअनुसार नभई देशलाई आवश्यक पर्ने दिशामा केन्द्रित भएको बताएका छन् । लामो समयदेखि चल्दै आएको संवाद र प्रयासपछि भएको यो सहमतिलाई दुवै पक्षले ‘ब्रेकथ्रु’ को रूपमा लिएका छन् ।

बाबुराम–जनार्दनलाई छाडेर युवा नेता रास्वपामा प्रवेश

काठमाडौं । विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरे ।

केही समयअघि जेन–जी अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ । बाबुराम भट्टराई–जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का एक युवा नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । अघिल्लो महिना गठन भएको प्रलोपा छोडेर नेता दिपक महतोले रास्वपा रोजेका हुन् ।

रास्वपाको समानुपातिक उम्मेदवारमा दलिततर्फ डा. रूपक घिमिरे आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रूपक घिमिरे पनि समावेश भएका छन् । हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौँ सम्पर्क समितिका संयोजक डा. घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको दलिततर्फ आकांक्षी सूचीमा समेटिएका हुन् ।

काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस र एमडी (डर्माटोलोजी) अध्ययन गरेका उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्य डा. घिमिरे चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन् । काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल गरेका थिए ।

युवामैत्री राजनीतिका पक्षधर डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् । स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेनजी आन्दोलनका अगुवाका रूपमा चिनिन्छन् । मिस्टर नेपाल २०११ का विजेता तथा २०१५ मा प्रदर्शन भएको नेपाली चलचित्रको नायक समेत रहेका उनीसँग दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा अभिनयको समेत अनुभव छ । रास्वपाले पुस १२ र १३ गते आरएसपी मोबाइल एपमार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।

सरकार भेट्न सिंहदरबार जानु पर्थ्याे, अहिले आफै पार्टी कार्यालयमा आयो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।

उनले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताए । उनले यसले राजनीति र निर्वाचनका लागि वातावरण बनाउने बताए । उनले निर्वाचनको लागि माहोल बनाउने तयारी गरेकोमा सरकारको प्रशंसा गरे । उनले भने, ‘सत्ता पक्ष र सरकारलाई भेट्न सिंहदरबार जानु पर्दथ्यो । अहिले सरकारले पार्टी कार्यालयमा पुगेर राजनीति, सकारात्मक राजनीति र निर्वाचनको वातावरण बनाउन पहल गरिरहनुभएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । निर्वाचनको लागि माहोल बनाउने काम सरकारले गर्दैछ ।’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक अर्को विकल्प नदेखेको बताए । उनले रास्वपाले एकमत भएर निर्वाचनमा जाने बताएको जानकारी दिए । सरकारले पनि निर्वाचनको तयारीका लागि आवश्यक काम गरिरहेको जानकारी गराउँदै फागुन २१ गतेको निर्वाचन नै अन्तरिम सरकारको अर्जुनदृष्टि रहेको बताए । सरकारको तयारी भन्दाअघि नै रास्वपा निर्वाचनमा होमिएको आभाष भएको जिकिर गरे । निर्वाचन नहुने हो की भन्ने शंका नगर्न पनि उनले आग्रह गरे । इतिहासमै सरकार राजनीतिक दलको कार्यालयमा गएको रेकर्ड नरहेको बताए ।

 

 

रास्वपा कार्यालयमा सरकारी टोली, मन्त्री खरेलले भने, ‘चुनावी माहोल बनाउँछौं’

काठमाडौं । उच्चस्तरीय राजनीतिक संवाद कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर औपचारिक भेटघाट गरेको छ । बुधबार दिउँसो भएको भेटमा समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीबारे छलफल भएको बताइएको छ ।भेटघाटमा संवाद कार्यदल संयोजक तथा कानुनमन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनाल सहभागी थिए। रास्वपाको तर्फबाट उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झासहित केन्द्रीय सदस्यहरू उपस्थित थिए।

छलफलपछि प्रवक्ता खरेलले सरकार निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण बनाउन सबै दलसँग संवादमा जुटेको बताए । ‘चुनावको वातावरण बनाउँदैछौं’, उनले भने । फागुन २१ मा तोकिएको निर्वाचनलाई लक्षित गर्दै दलगत भेटघाट तीव्र बनाइएको उनको भनाइ छ ।
यसअघि संवाद टोलीले कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा पुगेर शीर्ष नेताहरूसँग छलफल गरेको थियो । आजै राप्रपा र जनमत पार्टीको कार्यालयमा समेत अनुगमन तथा भेटघाट गरिएको छ । सरकारको यो पहललाई निर्वाचनपूर्व राजनीतिक सहमति र संवाद सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ ।

 

पछिल्लो संसदको वैधता पूर्णतः सकिएकाले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले एमाले–कांग्रेस सरकार र तिनै दुई दलको बहुमत रहेको पछिल्लो संसदको वैधता पूर्णरूपमा समाप्त भइसकेको दाबी गरेका छन् । त्यसैले उक्त संसदको पुनर्स्थापना कुनै हालतमा सम्भव नहुने उनको भनाइ छ ।

आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै वाग्लेले भदौ २३ गते भएको नरसंहारका लागि तत्कालीन एमाले–कांग्रेस सरकार नै जिम्मेवार रहेको उल्लेख गरेका छन् । त्यही घटनासँग जोडिँदै उनले राजनीतिक र नैतिक रूपमा पनि उक्त सरकार तथा त्यस समयको संसद जनविश्वास गुमाइसकेको तर्क गरेका छन् ।

उनका अनुसार अब मुलुकले निकास पाउने एक मात्र बाटो ताजा जनादेश हो । फागुन २१ गते हुने आम निर्वाचनबाट निर्वाचित संसद्ले आगामी पाँच वर्षका लागि स्थिर र प्रभावकारी संघीय सरकार गठन गर्ने वाग्लेले दाबी गरेका छन् । त्यो सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने उनको स्पष्ट दाबी छ । वाग्लेले पुराना राजनीतिक शक्तिहरूको वर्चस्वले देशलाई दीर्घकालीन अस्थिरता र अविश्वासतर्फ धकेलेको आरोप पनि लगाएका छन् ।

उनले नयाँ राजनीतिक विकल्पका रूपमा रास्वपाले जनताको भरोसा जित्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको प्रतिफल देखिने विश्वास व्यक्त गरेका छन् । उनको स्ट्याटसमा व्यक्त धारणा पछिल्लो समय संसद, सरकारको वैधता र आगामी निर्वाचनको आवश्यकताबारे चलिरहेको बहससँग जोडिएको छ । रास्वपाले निरन्तर रूपमा ताजा जनादेश, सुशासन र स्थिर सरकारको मुद्दा उठाउँदै आएको छ, र वाग्लेको यो अभिव्यक्तिले त्यसैलाई थप बल दिएको देखिन्छ ।

 

रविको प्रश्न : कुन संसद् ब्यूँताउन खोज्नु भएको, भ्रष्टाचार काण्ड सामसुम पार्ने संसद ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका मुद्दा राख्दा–राख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नु भएको हो भन्दै प्रश्न गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पुगेका उनले प्रतिनिधिसभा पुनः स्थापनाले निकास नदिने बताए । उनले चुनावमा जानुको विकल्प नरहेको समेत बताएका छन् । आइतबार पार्टी कार्यालयमा भएको स्वागत कार्यक्रममा लामिछानेले चुनावमा जानु अघि जेनजी विद्रोहका माग पूरा गर्नुपर्ने बताएका हुन् ।

‘कुन संसद ब्यूँताउन खोज्नु भएको तपाईंले ? जनताको मुद्दा बोल्दा–बोल्दै माइक काट्ने संसद् ? भ्रष्टाचारका काण्डमा छानबिन गर्नु भन्दा संख्याको बलमा सामसुम पार्न ब्यूँताउन खोज्नु भएको होइन ? भयो देखियो तपाईंको दुईतिहाइ,’ लामिछानेले भने । उनले भदौ २३–२४ को विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्न जरुरी रहेको बताए । ‘युवाहरूको विद्रोहलाई क्रान्तिलाई बदल्न बाँकी छ, सिंहदरबार बनाउन बाँकी छ । भत्किएका संरचना बनाउने मात्र होइन बदल्ने तागत हामीसँग छ,’ लामिछानेले भने, ‘अहिलेको निकासका लागि निर्वाचनमा जानुको विकल्प छैन, त्यसअघि जेनजी विद्रोहका अपेक्षा पूरा गर्नुपर्छ ।’

लामिछानेले सुशासन कायम गर्ने सवालमा रास्वपा सरकारसँग सधैं साथमा रहेको बताए । लामिछानेले युवाको चाहनाअनुसार नयाँ शक्तिहरूसँग मिलेर जान तयार रहेको बताए । संसद् पुनस्र्थापनाका लागि दौडधुप भइरहेको आफूले सूचना पाएको बताएका छन् । उनले भने ‘म सुनिरहेको छु, संसद् पुनस्र्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनस्र्थापनाको कुरा गर्न लाग्नु भएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनु होला।’ उनले षड्यन्त्रको आँखा बन्द गर्न र धेरै आँखा नचम्काउन चेतावनी समेत दिएका छन् ।

 

 

रवि रास्वपा सभापतिकै रुपमा सक्रिय, केन्द्रीय समितिकाे बैठक जारी

काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिकै हैसियतमा फर्किदै सक्रिय बनेका छन् । सहकारी ठगी प्रकरणमा कारागार पुगेका उनी शुक्रबार रिहा भएका थिए । त्यसपछि आज बसेको केन्द्रीय समितिमा उनी सभापतिकै रुपमा क्रियाशील भएका हुन् । आजको बैठक उनकै अध्यक्षतामा जारी छ । जेल चलानपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

आज उनै अर्यालले कार्यकक्षमा लामिछानेलाई सभापतिकै रुपमा स्वागत गरेका हुन् । त्यसअघि लामिछानेलाई वनस्थलीमा रहेको पार्टी कार्यालयमा नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए । जेल बाहिर आएपछि केन्द्रीय कार्यालय पुगेका लामिछानेले सम्बोधन पनि गरे । रवि फर्किएसँगै रास्वपाको केन्द्रीय समिति बैठक बसिरहेको छ । लामिछाने जेलबाट रिहा भएर फर्किए लगत्तै आज पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरे ।

घण्टीघरमा रविको सम्बोधन, गुण्डुमा घरदैलो अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहाइपछि पुनः पार्टी गतिविधिमा सक्रिय बनेका छन् । शुक्रबार रिहा भएका लामिछानेको नेतृत्वमा पार्टीले संगठनात्मक गतिविधि तीव्र बनाएको छ भने समानुपातिक उम्मेदवार छनोट प्रक्रिया पनि निर्णायक चरणमा पुगेको छ ।

रास्वपाले आज अपराह्न ४ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सभापति लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठकमा उनले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकअघि दिउँसो ३ बजे पार्टी नेता–कार्यकर्ताले घण्टीघर क्षेत्रमा सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

रिहाइपछिका दिनहरूमा लामिछाने निरन्तर सक्रिय देखिएका छन् । शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गरेपछि उनी काठमाडौं फर्किएर जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारसँग भेटघाटमा समेत सहभागी भएका थिए । सहकारी ठगी प्रकरणमा लामिछाने जेल चलान भएपछि डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । लामिछाने रिहा भएसँगै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् रूपमा संलग्न हुने स्पष्ट पारेको थियो ।

यता, रास्वपाले समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया पनि अघि बढाएको छ । पार्टीले बनाएको मापदण्डअनुसार प्रारम्भिक मतदानमार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था गरिएको छ । समानुपातिकतर्फका आकांक्षीलाई सबै क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था छ । यसैक्रममा प्रारम्भिक सूचीमा परेका आकांक्षीसँग पार्टीले सबै प्रदेशमा छलफल गरिसकेको छ । छनोट प्रक्रियाको अर्को चरणका रूपमा आज आकांक्षी उम्मेदवारहरूलाई विभिन्न क्षेत्रमा घरदैलो अभियानका लागि खटाइएको छ । भक्तपुरको गुण्डु क्षेत्रमा रास्वपाका समानुपातिकतर्फका आकांक्षी उम्मेदवारले घरदैलो अभियान सञ्चालन गरेका छन् । गुण्डु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास रहेको क्षेत्रका रूपमा पनि परिचित छ ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत आकांक्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्डु क्षेत्रमा घरदैलो गरिएको हो । ‘घरदैलो अभियानका लागि पार्टीले मलाई गुण्डुमा खटाएको हो । र्‍यापिड एक्सन टिमको संयोजक भएकाले पार्टीले जिम्मेवारी दिएको होला,’ साजनले बताए । रास्वपाले उद्दार, राहतलगायतका कार्यमा स्वयंसेवी रूपमा सक्रिय रहने उद्देश्यसहित ¥यापिड एक्सन टिम (र्‍याट) गठन गरेको छ । युवाहरूलाई समेटेर बनाइएको उक्त संगठनको संयोजक साजन नै हुन् । रास्वपाबाट समानुपातिक उम्मेदवारका आकांक्षीका रूपमा ३५३ जनाको नाम सार्वजनिक भइसकेको छ । पार्टीले आन्तरिक छनोट प्रक्रिया पूरा गरी १४ पुसमा अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ । पार्टी नेतृत्वको सक्रियता र जमीनी अभियानसँगै रास्वपाले आगामी राजनीतिक यात्रालाई थप गतिशील बनाउने संकेत देखिएको छ ।

 

रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा हुने भएको छ । दुई दलबीचमा एकताको अन्तिम टुंगो लागिसकेको छलफलमा सहभागी दुवै दलका नेताहरूले बताए ।

दुई दलको एकताको बारेमा जानकार स्रोतले बताए अनुसार एकता घोषणा गर्ने तयारी गरिएको छ । दुई दलको उच्चस्तरीय संवादपछि एकताको टुंगो लागेको जानकारी गराइएको छ ।

सम्भवत: एकताको घोषणा सभा हुने भएको छ । रास्वपाले नयाँ र वैकल्पिक शक्तिहरुसँग एकता वा सहकार्य गर्नका लागि उपसभापति डा। स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको थियो ।

वैकल्पिक शक्तिहरूसँग एकता गर्ने विषयमा विवेकशील साझाका नेताहरु पनि संवादमा जुटिरहेका थिए । बुधबार पनि दुई दलका नेताहरूबीच छलफल चलेको थियो ।

 

रवि र स्वर्णिमसँग भेटेपछि अमरेशकुमार : सहकार्यबारे सकारात्मक कुरा हुँदैछ

काठमाडौं । निर्वतमान सांसद अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अदालतबाट चाँडै न्याय पाउने विश्वास व्यक्त गरेका छन् । नख्खु कारागार पुगेर रविलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रविलाई न्यायालयले न्याय दिने विश्वास अझै रहेको बताएका छन् ।

उनले भने, ‘नेपालको न्यायालयप्रति विश्वास छ, चाँडै न्याय उहाँले पाउनु हुनेछ । चुनावअघि नै निस्किनु हुन्छ भन्ने आशा छ ।’ उनले तत्कालीन सरकारले रविमाथि प्रतिशोध राखेको समेत दाबी गरेका छन् । उनले आजको रविसँगको भेटमा रास्वपा उपसभापति स्वणिम वाग्ले पनि सहभागी रहेको जानकारी दिए ।

उनले भने, ‘तीन जनाबीच देशको राजनीतिक अवस्था, जेनजी आन्दोलन, जनतामा देखिएको निराशालगायतको विषयमा छलफल भयो । हामी जनतामा जानुपर्छ भन्नेमा हामी सहमत छौँ । जनतामा परिवर्तनको चाहना छ ।’ उनले आफ्नो रास्वपासँग सहकार्यको सम्भावना रहेको भन्दै रविसँग पनि त्यसबारे छलफल भएको बताए । उनले आगामी निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुनसक्ने सम्भावना समेत उनले बताएका छन् । उनले कुलमान, बालनेसहित नयाँ शक्तिहरू एक ठाउँमा ल्याउनु पर्छ भन्ने संवाद भइरहेको पनि जानकारी दिएका छन्।

 

रातो पासपोर्ट र परिचयपत्र संसद सचिवालयमा बुझाउन रास्वपाका पूर्व सांसदहरूलाई निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।पार्टीका पूर्व सांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

जेनजी प्रदर्शनपछि रास्वपाका सांसदहरूले पदबाट राजीनामा दिएका थिए । पार्टीले ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं,’ रास्वपाले भनेको छ, ‘तसर्थ यस पटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न / नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।’

रास्वपा संस्थापनलाई तोसिमाको चुनौती : हिम्मत भए विशेष महाधिवेशन ‘फेस’ गर

काठमाडौं । रास्वपा नेता तथा पूर्व राज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीको संस्थापन पक्षले आफूविरुद्ध मिडिया ट्रायल र साइबर बुलिङ गरिरहेको भन्दै कडा आपत्ति जनाएकी छन् । उनले हिम्मत भए विशेष महाधिवेशन फेस गर्न चुनौती समेत दिएकी छन् ।

कार्कीले वक्तव्य जारी गर्दै पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ, समय सापेक्षिक रुपान्तरण गरौँ भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा बुलिङ गरिएको भन्दै कडा आपत्ति जनाएकी छन् । उनले भनेकी छन्, ‘साइबर बुलिङ र मिडिया ट्रायल गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस् ।

कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरञ्जित गर्ने, विकल्प खोज्नेलाई छाड्न हुन्न, पार्टीबाट निकाल्नु पर्छ आदि भनेर भ्रम छर्न खोज्ने ? हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशीर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग । कार्कीले प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर नडराउने प्रष्ट पारेकी छन् ।

जेनजीसँग वार्ताका लागि रास्वपाले बनायो कार्यदल, पुकार बम ‘कमाण्डर’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी उमेर समूहका युवाहरूलगायत नयाँ शक्तिहरू, अभियन्ताहरूसँग वार्ताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । वार्ताका लागि पार्टीका केन्द्रीय सदस्य पुकार बम कार्यदलको कमाण्डर बनेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकले आवश्यक संवाद एवं सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।

रास्वपा छोडेको घोषणा लगतै सुमनाको चेतावनी : जेनजी आन्दोलनलाई बदनाम नगरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) त्यागेको घोषणा गरेकी नेतृ सुमना श्रेष्ठले आफू पार्टीबाट अलग भए पनि परिवर्तनको एजेण्डा नछाडेको बताएकी छन् । अहिलेको जेनजी आन्दोलनप्रति कट्टर समर्थन जनाउँदै पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले यसलाई बदनाम गर्ने कोशिश नगर्न आग्रह गरेकी छन् ।

फेसबुक लाइभमा बोल्दै श्रेष्ठले जेनजी आन्दोलनलाई भविष्यले गरेको विद्रोहको संज्ञा दिइन् । उनले भनिन्, ‘यो भविष्यले गरेको आन्दोलन हो । यो परिवर्तनका लागि गरिएको आन्दोलन हो । सबैलाई भन्न चाहन्छु मैले परिवर्तनको एजेण्डा छोडेको छैन । भित्र बसेर गर्न सकिनँ, अब तपाईंहरु माझ आएर गर्नेछु ।’

श्रेष्ठले नयाँ सरकारमा मन्त्री खान नजाने प्रष्ट्याएकी छन् । सरकारलाई बाहिर बसेर सघाउने उनको प्रतिवद्धता छ । युवाहरुको बलिदान खेर जान नहुने पनि उनले बताएकी छन् । ‘७२ जनाको ज्यान गइसकेको छ । उहाँहरुको बलिदानलाई कसैले पनि बदनाम गर्न पाउनु हुन्न । युवाको बलिदान यत्तिकै खेर जान नदिनुहोला । यो परिवर्तनका लागि युवापुस्ताले गरेको विद्रोह हो’, उनले भनिन् ।

पुराना राजनीतिक दलका युवा नेताहरुलाई उनले पार्टी छोड्न वा पुरानालाई विस्तापित गर्न सुझाव दिइन् । श्रेष्ठले भनिन्, ‘पुराना दलहरुको तेस्रो, चौंथो, पाचौं पुस्तालाई म आह्वान गर्न चाहन्छु, कति डराउने ? किन डराउने ? आखिर हामी सबैले चाहेको परिवर्तन हो । कि हट्नुस कि हटाउनुस । तर एउटा पार्टीभित्र बसेर जेनजीको रेभुलुसनलाई बदानम गर्ने अभियानलाई साथ नदिनु होला ।’

रास्वपाका सबै सांसदले राजीनामा दिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । ‘विकसित घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले राजीनामा गर्ने तयारी गरेका हौं,’ उनले भने । रास्वपाका प्रवक्ता मनिष झाले भर्खरै बैठक सुरु भएको जाननकारी दिए ।

सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले सोमबार साँझ माग सम्बोधन नहुने स्थितिमा आफ्ना सांसदलाई राजीनामा गर्न तयार भएर बस्न भनेका थिए । जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ ।

रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो । मंगलबार पनि युवाहरू काठमाडौंसहित देशैभर सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले संसद बिघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् । प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । जसमध्ये सांसद असिम शाहले यसअघि नै राजीनामा घोषणा गरिसकेका छन् ।