रविको प्रश्न : कुन संसद् ब्यूँताउन खोज्नु भएको, भ्रष्टाचार काण्ड सामसुम पार्ने संसद ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका मुद्दा राख्दा–राख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नु भएको हो भन्दै प्रश्न गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पुगेका उनले प्रतिनिधिसभा पुनः स्थापनाले निकास नदिने बताए । उनले चुनावमा जानुको विकल्प नरहेको समेत बताएका छन् । आइतबार पार्टी कार्यालयमा भएको स्वागत कार्यक्रममा लामिछानेले चुनावमा जानु अघि जेनजी विद्रोहका माग पूरा गर्नुपर्ने बताएका हुन् ।
‘कुन संसद ब्यूँताउन खोज्नु भएको तपाईंले ? जनताको मुद्दा बोल्दा–बोल्दै माइक काट्ने संसद् ? भ्रष्टाचारका काण्डमा छानबिन गर्नु भन्दा संख्याको बलमा सामसुम पार्न ब्यूँताउन खोज्नु भएको होइन ? भयो देखियो तपाईंको दुईतिहाइ,’ लामिछानेले भने । उनले भदौ २३–२४ को विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्न जरुरी रहेको बताए । ‘युवाहरूको विद्रोहलाई क्रान्तिलाई बदल्न बाँकी छ, सिंहदरबार बनाउन बाँकी छ । भत्किएका संरचना बनाउने मात्र होइन बदल्ने तागत हामीसँग छ,’ लामिछानेले भने, ‘अहिलेको निकासका लागि निर्वाचनमा जानुको विकल्प छैन, त्यसअघि जेनजी विद्रोहका अपेक्षा पूरा गर्नुपर्छ ।’
लामिछानेले सुशासन कायम गर्ने सवालमा रास्वपा सरकारसँग सधैं साथमा रहेको बताए । लामिछानेले युवाको चाहनाअनुसार नयाँ शक्तिहरूसँग मिलेर जान तयार रहेको बताए । संसद् पुनस्र्थापनाका लागि दौडधुप भइरहेको आफूले सूचना पाएको बताएका छन् । उनले भने ‘म सुनिरहेको छु, संसद् पुनस्र्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनस्र्थापनाको कुरा गर्न लाग्नु भएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ?,’ उनले प्रश्न गर्दै थप भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनु होला।’ उनले षड्यन्त्रको आँखा बन्द गर्न र धेरै आँखा नचम्काउन चेतावनी समेत दिएका छन् ।
