अर्यालको प्रश्न : संविधान बनेको १० वर्षमै शान्तिको विषयमा बहस गर्नुपर्ने अवस्था कसले बनायो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले संविधान बनेको १० वर्षमै शान्तिकै विषयमा बहस गर्नुपर्ने अवस्था आउनुको कारण खोज्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व विज्ञान प्रविधिमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा नेपालमा भने शान्ति र स्थायित्वकै विषयमा बहस गर्नुपर्ने अवस्थाको कारक खोज्नुपर्ने बताएका हुन् ।
‘यो अवस्था कसले ल्यायो ? किन आयो ? यसको उत्तर कसले दिनुपर्ने हो ? यसको पनि बहस आवश्यक छ,’ उनले भने । भदौ २३ र २४ को घटना किन भए भन्ने विषयमा पनि बहस हुनुपर्ने उनले बताएका छन् । यसबाट निजी क्षेत्र प्रभावित भएको अर्यालले बताए । ‘नेपालको निजी क्षेत्रले ५० प्रतिशत बढी रोजगारी सिर्जना गर्दै आएको छ । ५५ लाख मानिसलाई रोजगारी दिएको छ । यसले सामाजिक समृद्धिमा ठूलो भूमिका खेलेको छ । प्रारम्भिक मूल्यांकनअनुसार निजी क्षेत्रमा ८० अर्ब बराबरको क्षति भयो,’ उनले भने ।
‘शान्ति र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका छन्,’ अर्यालले भने, ‘शान्ति बिना समृद्धि सम्भव छैन र समृद्धि बिना शान्ति दीगो रहँदैन भन्ने मर्मलाई निजी क्षेत्रले स्वीकार गरेको छ ।’ राजनीतिक स्थायित्वले लगानी, रोजगारी र राष्ट्रिय उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पार्ने र जनआशा मजबुत बनाउने उनले बताए । उनले देश चुनाव केन्द्रित भइरहेको बताउँदै सरकार, निर्वाचन आयोग र सम्बन्धित पक्षलाई उनले धन्यवाद ज्ञापन गरे ।
