बालेनका पिए रास्वपाको सहमहामन्त्री बन्दै, अछाम–२ बाट उम्मेदवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का प्रमुख स्वकीय सचिव भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री बन्ने तयारीमा रहेका छन् । बालेन निकट स्रोतका अनुसार रास्वपाको आगामी संगठनात्मक संरचनामा शाहलाई सहमहामन्त्रीको जिम्मेवारी दिने विषयमा आन्तरिक सहमति जुट्दै गएको छ ।
रास्वपामा समाहित हुने प्रक्रियाका क्रममा शाह बालेनका तर्फबाट वार्ता समितिमा समेत सक्रिय रहेका थिए । सोही पृष्ठभूमिमा बालेनको सिफारिसमै शाहलाई सहमहामन्त्री बनाउने तयारी भएको स्रोतको दाबी छ । पार्टीभित्र संगठन विस्तार र रणनीतिक भूमिकामा शाहलाई अघि सार्ने योजना रहेको बताइएको छ ।
यससँगै भूपदेव शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा पनि छन् । उनले रास्वपाको ‘घण्टी’ चुनाव चिह्न लिएर उम्मेदवारी दिने तयारी गरिरहेको र त्यसका लागि स्थानीय तहमा संगठन विस्तार तथा चुनावी रणनीति निर्माणका काम तीव्र बनाइएको जनाइएको छ । अछाम शाहको जन्मस्थान समेत हो ।
२०७९ को स्थानीय तह निर्वाचनमा बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि भूपदेव शाहलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिइएको थियो । त्यसयता शाह बालेनका सबैभन्दा विश्वासिला सहयोगीका रूपमा परिचित छन् । बालेनका विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयमा शाहको प्रभावकारी भूमिका रहने गरेको निकटस्थहरू बताउँछन् ।
केही दिनअघि मात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दुई पक्षीय राजनीतिक सहमति भएको थियो । सो सहमतिपछि बालेन–रास्वपा सम्बन्ध थप नजिकिएको विश्लेषण भइरहेका बेला भूपदेव शाहको सहमहामन्त्री बन्ने तयारी र प्रतिनिधिसभा उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
