रास्वपामा विधि मिचेर समानुपातिक सूची : पार्टीभित्र विवाद, बाहिर आलोचना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीले पार्टीभित्र मात्र होइन, सार्वजनिक रूपमा पनि तीव्र विवाद र असन्तुष्टि जन्माएको छ । ‘विधि, पारदर्शिता र नयाँ राजनीति’ को नारा बोकेको रास्वपा आफैंले सुरु गरेको प्राइमरी इलेक्सनको नतिजा मिचेर सूची तयार गरेको आरोपमा आफ्नै नेताहरू, अभियन्ता र समर्थकको घेराबन्दीमा परेको छ ।
सबैभन्दा ठूलो असन्तुष्टि प्राइमरी इलेक्सनबाट शीर्ष स्थान हासिल गरेका उम्मेदवारहरूलाई सूचीमा पछाडि पारिएको विषयमा देखिएको छ । खुलातर्फ सबैभन्दा बढी मत ल्याएका रमेश प्रसाईं खस–आर्य कोटामा पाँचौँ स्थानमा राखिँदा, कम मत पाएका विपिनकुमार आचार्य पहिलो नम्बरमा परेका छन् । यही विषयलाई लिएर ‘आफैंले परीक्षा लिने, आफैं प्रश्नपत्र बनाउने र आफैं पहिलो हुने’ कटाक्ष पार्टीभित्रैबाट उठेको छ ।
यसै सन्दर्भमा केन्द्रीय सदस्य तथा निवर्तमान सांसद डा. तोसिमा कार्कीले ‘प्राइमरी भोटिङकै धज्जी उडाइएको’ भन्दै नेतृत्वमाथि सीधा प्रश्न उठाएकी छन् । पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरू सधैं ‘पोजिसन अफ बेनिफिट’ मा रहेको आरोप लगाउँदै उनले पद होल्ड गर्नेहरूले प्रत्यक्ष चुनाव लड्ने साहस देखाउनु पर्ने धारणा सार्वजनिक गरेकी छन् ।
असन्तुष्टि केवल प्रक्रियामा सीमित छैन, भूगोल र प्रतिनिधित्वको सवाल पनि चर्को बनेको छ । सभापति रवि लामिछानेको गृह जिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिँदा सुदूरपश्चिमबाट दुई जना मात्रै पर्नु गम्भीर असन्तुलनको उदाहरण बनेको छ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले ‘मेरो सुदूर अझै पनि सुदूर नै छ’ भन्दै समानुपातिक प्रणालीलाई ‘सांसद पद बिक्री र नातेदार भर्ती गर्ने केन्द्र’ बनाइएको आरोप लगाएकी छन् ।
रास्वपासँग एकता गरेका उज्यालो नेपाल पार्टी (उनेपा) भित्र पनि असन्तुष्टि उस्तै छ । उनेपाबाट पहिलो नम्बरमा सिफारिस गरिएका डा. महेन्द्र लावतीलाई संयुक्त सूचीको १२ नम्बरमा राखिएपछि उनले आफ्नो नाम नै हटाउन आग्रह गरेका छन् । उनेपाले पाउनु पर्ने २२ सिटमध्ये १४ मा सीमित हुनुपरेको गुनासो पनि छ ।
सूचीमा सेलिब्रेटी, व्यापारी, इन्फ्लुएन्सर र चिनजानका व्यक्तिहरूलाई प्राथमिकता दिएको आरोप बाहिर पनि तीव्र रूपमा उठेको छ । अभियन्ता आशिका तामाङले ‘निमुखाका लागि छुट्याइएको समानुपातिक कोटामा मिस नेपालले अवसर पाउने’ कटाक्ष गर्दै नयाँ दलहरू पनि पुरानै अभ्यासमा फसेको टिप्पणी गरेकी छन् ।
रास्वपाको समानुपातिक सूचीमा गायक–गायिका, अभिनेता–अभिनेत्री, पूर्व मिस नेपाल र मिस्टर नेपालसम्म परेपछि ‘प्रतिनिधित्व कि पहुँच ?’ भन्ने प्रश्न झन् बलियो बनेको छ । रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङको त्रिकोणात्मक एकताबाट ठूलो राजनीतिक सन्देश जाने अपेक्षा गरिएको बेला सार्वजनिक भएको यो सूचीले भने रास्वपाभित्र गहिरो दरार देखाएको छ । नयाँ राजनीतिक संस्कृतिको दाबी गर्ने दल आफैं पुरानै रोगले ग्रस्त भएको हो कि भन्ने प्रश्न अब पार्टीभित्र मात्र होइन, जनस्तरमै उठ्न थालेको छ ।


