रास्वपा छोडेको घोषणा लगतै सुमनाको चेतावनी : जेनजी आन्दोलनलाई बदनाम नगरौं


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) त्यागेको घोषणा गरेकी नेतृ सुमना श्रेष्ठले आफू पार्टीबाट अलग भए पनि परिवर्तनको एजेण्डा नछाडेको बताएकी छन् । अहिलेको जेनजी आन्दोलनप्रति कट्टर समर्थन जनाउँदै पूर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले यसलाई बदनाम गर्ने कोशिश नगर्न आग्रह गरेकी छन् ।
फेसबुक लाइभमा बोल्दै श्रेष्ठले जेनजी आन्दोलनलाई भविष्यले गरेको विद्रोहको संज्ञा दिइन् । उनले भनिन्, ‘यो भविष्यले गरेको आन्दोलन हो । यो परिवर्तनका लागि गरिएको आन्दोलन हो । सबैलाई भन्न चाहन्छु मैले परिवर्तनको एजेण्डा छोडेको छैन । भित्र बसेर गर्न सकिनँ, अब तपाईंहरु माझ आएर गर्नेछु ।’
श्रेष्ठले नयाँ सरकारमा मन्त्री खान नजाने प्रष्ट्याएकी छन् । सरकारलाई बाहिर बसेर सघाउने उनको प्रतिवद्धता छ । युवाहरुको बलिदान खेर जान नहुने पनि उनले बताएकी छन् । ‘७२ जनाको ज्यान गइसकेको छ । उहाँहरुको बलिदानलाई कसैले पनि बदनाम गर्न पाउनु हुन्न । युवाको बलिदान यत्तिकै खेर जान नदिनुहोला । यो परिवर्तनका लागि युवापुस्ताले गरेको विद्रोह हो’, उनले भनिन् ।
पुराना राजनीतिक दलका युवा नेताहरुलाई उनले पार्टी छोड्न वा पुरानालाई विस्तापित गर्न सुझाव दिइन् । श्रेष्ठले भनिन्, ‘पुराना दलहरुको तेस्रो, चौंथो, पाचौं पुस्तालाई म आह्वान गर्न चाहन्छु, कति डराउने ? किन डराउने ? आखिर हामी सबैले चाहेको परिवर्तन हो । कि हट्नुस कि हटाउनुस । तर एउटा पार्टीभित्र बसेर जेनजीको रेभुलुसनलाई बदानम गर्ने अभियानलाई साथ नदिनु होला ।’