रास्वपा कार्यालयमा सरकारी टोली, मन्त्री खरेलले भने, ‘चुनावी माहोल बनाउँछौं’
काठमाडौं । उच्चस्तरीय राजनीतिक संवाद कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर औपचारिक भेटघाट गरेको छ । बुधबार दिउँसो भएको भेटमा समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीबारे छलफल भएको बताइएको छ ।भेटघाटमा संवाद कार्यदल संयोजक तथा कानुनमन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनाल सहभागी थिए। रास्वपाको तर्फबाट उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झासहित केन्द्रीय सदस्यहरू उपस्थित थिए।
छलफलपछि प्रवक्ता खरेलले सरकार निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण बनाउन सबै दलसँग संवादमा जुटेको बताए । ‘चुनावको वातावरण बनाउँदैछौं’, उनले भने । फागुन २१ मा तोकिएको निर्वाचनलाई लक्षित गर्दै दलगत भेटघाट तीव्र बनाइएको उनको भनाइ छ ।
यसअघि संवाद टोलीले कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा पुगेर शीर्ष नेताहरूसँग छलफल गरेको थियो । आजै राप्रपा र जनमत पार्टीको कार्यालयमा समेत अनुगमन तथा भेटघाट गरिएको छ । सरकारको यो पहललाई निर्वाचनपूर्व राजनीतिक सहमति र संवाद सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ ।

