`

रवि–बालेन र कुलमानबीचको एकता वार्ता विफल, आज निर्णायक प्रयास हुने

Nepal One HD १४ पुष २०८२ ८:२२
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने प्रयास निर्णायक मोडमा पुगे पनि सहमतिमा टुंगिन सकेन ।

आइतबार राति मध्यरातसम्म चलेको भनिएको एकता वार्ता पद, भूमिका र शक्ति सन्तुलनका विषयमा सहमति नजुट्दा असफल भएको हो । यद्यपि नेताहरूले समयसीमाको दबाबका बीच सोमबार पनि अन्तिम प्रयास जारी राख्ने बताएका छन् ।

निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले सोमबार बिहानसम्म सहमति जुटाउने प्रयास गरिने वार्तामा सहभागी एक नेताले जानकारी दिएका छन् । उनका अनुसार बिहान १० बजेसम्म सहमति भएन भने कानुनी र प्राविधिक कारण एकीकृत सूची बुझाउन कठिन हुने अवस्था छ । यही कारण केही घण्टालाई निर्णायक मानिएको छ ।

केही दिनदेखि चलिरहेको त्रिपक्षीय संवादमा आइतबार बिहान भने रवि लामिछाने र बालेन शाहबीच सात बुँदे सहमति भइसकेको थियो । त्यस सहमतिले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै रास्वपाभित्रै वैकल्पिक राजनीतिको केन्द्र बनाएको छ । तर उक्त सहमतिमा उज्यालो नेपाल पार्टी र उसका संरक्षक कुलमान घिसिङ अटाउन नसकेपछि उनीसँग छुट्टै संवाद तीव्र पारिएको थियो ।

वार्तामा सबैभन्दा ठूलो अड्चन कुलमान घिसिङको भूमिका र पदलाई लिएर देखिएको बताइन्छ । उज्यालो नेपाल पार्टी पक्षले सहअध्यक्ष वा कार्यकारी सभापति जस्ता हैसियतको माग गरेको स्रोतको दाबी छ भने प्रधानमन्त्री आलोपालो हुनुपर्ने प्रस्ताव समेत आएको बताइएको छ । रास्वपा नेतृत्व भने पार्टी संरचना, शक्ति सन्तुलन र नेतृत्वको स्पष्टतामा सम्झौता गर्न तयार नदेखिएको जनाइएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले पनि कुलमानको कार्यकारी नेतृत्वसम्बन्धी आकांक्षाका कारण सहमति नजुटेको संकेत दिएका छन् ।

बालेन शाह भने कुलमानलाई समेट्न लचक देखिएका थिए भन्ने कुरा बालेन निकट नेताहरूले बताएका छन् । तर अन्ततः रवि लामिछानेको अडानका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको उनीहरूको भनाइ छ । यद्यपि सोमबारसम्म अन्तिम प्रयास गर्ने सहमति भने कायम रहेको जनाइएको छ । यसैबीच, जेनजी आन्दोलनबाट उदाएका युवा अगुवाहरूले कुलमानलाई पनि एकतामा समेट्न दबाब बढाएका थिए ।

केही युवा प्रतिनिधिहरू मध्यराति कुलमान घिसिङको निवासमै पुगेर सहमतिका लागि आग्रह गरेका थिए । जेनजी आन्दोलनका एक अगुवा सुदन गुरुङ पनि वार्तामा प्रत्यक्ष संलग्न थिए । सहमति नजुटेपछि उनले राति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै यस्तो निर्णायक घडीमा कुलमान अलग देखिनु परिवर्तन चाहने जनताका लागि दुःखद भएको बताएका छन् । उनले देशलाई विभाजन होइन, एकता आवश्यक रहेको भन्दै अन्तिम क्षणमा पनि सबै पक्षलाई सँगै उभिन आग्रह गरेका छन् ।

उता, आइतबार राति बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले रवि र बालेनबीच भएको सातबुँदे सहमतिलाई औपचारिक रूपमा अनुमोदन गरिसकेको छ । यससँगै बालेन–रास्वपा एकता संस्थागत भइसकेको छ भने वैकल्पिक राजनीतिका अन्य धारहरू पनि क्रमशः रास्वपामै समाहित हुने अवस्था देखिएको छ ।
विगत एक दशकदेखि नेपालमा वैकल्पिक राजनीतिको बहस विभिन्न धारमार्फत अघि बढ्दै आएको छ ।

स्वर्गीय उज्ज्वल थापाले सुरु गरेको विवेकशील नेपाली अभियान, त्यसपछि बनेको विवेकशील साझा पार्टी, साझा हुँदै आएका युवा अभियन्ताहरू, स्थानीय तहमा उदाएका स्वतन्त्र पात्र र पछिल्लो समय जेनजी आन्दोलन-यी सबै धार अहिले रास्वपामा मिसिने प्रक्रियामा देखिन्छन् । मंसिर १४ गते विवेकशील साझा पार्टी र रास्वपाबीच भएको पाँच बुँदे सहमतिले वैकल्पिक राजनीतिको एउटा ठूलो धार औपचारिक रूपमा रास्वपामा विलय भइसकेको छ ।

स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन शाह वैकल्पिक राजनीतिका सबैभन्दा प्रभावशाली अनुहारका रूपमा उदाए । उनका कार्यशैली र निर्णय विवादास्पद भए पनि भ्रष्टाचारबाट टाढा रहेको छवि र फरक शैलीकै कारण उनी युवा पुस्तामाझ लोकप्रिय बने । जेनजी आन्दोलनपछि नवयुवाहरूले उनलाई प्रधानमन्त्रीको पहिलो विकल्पका रूपमा अघि सारेका थिए । अन्ततः उनले त्यो प्रस्ताव अस्वीकार गरे पनि अहिले रास्वपासँगको एकतामार्फत भावी प्रधानमन्त्रीको उम्मेदवारकै रूपमा औपचारिक राजनीतिक भूमिकामा प्रवेश गरेका छन् ।

बालेनसँगको एकतापछि जेनजी आन्दोलनका धेरै अनुहारहरू पनि रास्वपातर्फ आकर्षित भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूची तयार गर्दा जेनजी युवाहरूलाई प्राथमिकता दिने समझदारी भएको बताइन्छ । बालेन र रवि लामिछानेले आ–आफ्नो सूची बनाएर अन्तिम चरणमा क्षमता, विज्ञता र आन्दोलनको प्रतिनिधित्वका आधारमा साझा सूची बनाउने सहमति गरेका छन् ।

यस समग्र प्रक्रियाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैकल्पिक राजनीतिको केन्द्रबिन्दुमा पुर्‍याएको देखिन्छ । विवेकशील साझा, बालेन शाह र जेनजी आन्दोलन-तीनै प्रमुख वैकल्पिक धारहरूलाई समेट्दै रास्वपा नयाँ राजनीतिक भँगालोका रूपमा उभिएको छ । कुलमान घिसिङ यो प्रक्रियामा समेटिन्छन् वा अलग धारका रूपमा अघि बढ्छन् भन्ने कुरा केही घण्टाभित्रै स्पष्ट हुने संकेत देखिएको छ । तर जे जस्तो परिणाम आए पनि नेपाली राजनीतिमा वैकल्पिक शक्तिहरूको पुनर्संरचना र ध्रुवीकरण तीव्र रूपमा अघि बढिरहेको तथ्य भने स्पष्ट देखिन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *