बढ्दो हिंसाको जालोमा बङ्गलादेश
काठमाडौँ । गत साता विद्यार्थी नेता तथा ‘इन्कलाब मंच’ का संयोजक उस्मान हादीको मृत्युपछि बङ्गलादेश गम्भीर भूराजनैतिक र सामाजिक संकटमा फसेको छ । हादीको मृत्युसँगै सुरु भएको अशान्ति अहिले साम्प्रदायिक हिंसामा रूपान्तरित हुँदै देशका विभिन्न भागमा फैलिएको छ । हादी गत वर्ष बङ्गलादेशमा भएको व्यापक विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक थिए, जसले तत्कालीन सरकारविरुद्ध जनदबाब सिर्जना गरेको थियो ।
गत हप्ता हिन्दु भएको आरोपमा २७ वर्षीय दिपु चन्द्र दासलाई भीडले हत्या गरेपछि अवस्था झनै तनावपूर्ण बनेको छ । उस्मान हादीको हत्या भारतले गराएको र हत्यारालाई भारतले शरण दिएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएको भीडको निशाना दिपु चन्द्र दास बनेका थिए । यस घटनाले साम्प्रदायिक संवेदनशीलता झनै चर्काएको छ ।
त्यसपछि बङ्गलादेशको राजबारी जिल्लामा डिसेम्बर २४ को राति करिब ११ बजे ‘सम्राट’ भनेर चिनिने २९ वर्षीय अमृत मण्डललाई भीडले कुटपिट गरी हत्या गरेपछि हिंसा अझ फैलिएको छ। उनलाई फिरौती मागेको आरोप लगाइएको थियो । तर सरकारले भने यो घटना साम्प्रदायिक नभई आपराधिक मनसायबाट भएको दाबी गरेको छ । अन्तरिम सरकारका अनुसार मण्डलविरुद्ध पांशा प्रहरी चौकीमा हत्या सहित कम्तीमा दुई मुद्दा दर्ता थिए र सन् २०२३ मा भएका फिरौतीका धेरै घटनामा उनी आरोपी थिए ।
हप्तैपिच्छे भइरहेका यस्ता हिंसात्मक घटनाले भारतसँग सीमा जोडिएका बङ्गलादेशका सिमावर्ती क्षेत्रमा प्रदर्शन र असन्तोष बढाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस अस्थिरताले आगामी फेब्रुअरी १२ मा तोकिएको चुनावमा प्रत्यक्ष असर पार्ने सम्भावना छ । गत वर्षको विद्यार्थी आन्दोलनपछि १५ वर्षदेखि सत्तामा रहेकी शेख हसिना पदच्युत भई भारतको शरणमा पुगेकी थिइन् । त्यसयता बङ्गलादेशको आन्तरिक राजनीति निरन्तर अस्थिर बन्दै गएको छ ।
