`

रवि–बालेन सम्झौतापछि कुलमानकाे पार्टीले भन्यो–जेनजी आन्दोलनको भावना समेटिएन

Nepal One HD १३ पुष २०८२ ११:४२
प्रमुख खबर

काठमाडौं । वैकल्पिक राजनीतिक धार निर्माणको बहुप्रतीक्षित प्रयास अन्ततः त्रिपक्षीय एकतामा रूपान्तरण हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ यो प्रक्रियाबाट अलग भएका छन् । उज्यालो नेपाल पार्टीले उक्त सहमतिले ‘जेनजी आन्दोलनको मूल भावना’ नसमेटेको भन्दै असहमति जनाएको छ ।

आइतबार बिहान रवि र बालेनले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुई पक्षीय एकताको औपचारिक घोषणा गरे । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी गरिएको छ । तर यही संरचनाले उज्यालो नेपाल पार्टीको पहिचान र भूमिकालाई ओझेलमा पार्ने निष्कर्षसहित कुलमान पछाडि हटेका हुन् ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न जितराम लामाले सहमतिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यो सम्झौता अपेक्षाकृत थिएन । त्यहाँ पदको भागबण्डा बाहेक भोलिको रोडम्याप, नीतिगत स्पष्टता र देशका समस्या समाधानका उपाय देखिँदैनन् । जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेटिएको छैन ।’ उनका अनुसार पार्टीले अब आफ्नै ढंगले संगठन विस्तार गर्दै कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतामा जाने निर्णय गरेको छ ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच भइरहेको संवादमा रवि जोडिएपछि त्रिपक्षीय वार्ता अघि बढेको बताइन्छ । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा कुरा टुंगिन सकेन । छलफलमा सबै संरचना र पहिचान रास्वपाकै रहने र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । यसले उज्यालो नेपाल पार्टीको अस्तित्व नै विलय हुने ठहरसहित कुलमानले अस्वीकार गरेका थिए ।

स्रोतहरूका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न उज्यालो नेपाल पार्टीकै स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आवश्यक नरहेको भन्दै संरचनागत सम्मान र दीर्घकालीन राजनीतिक दिशामा जोड दिएका थिए । तर रवि र बालेन यसमा सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गर्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीमा भएको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि शक्ति बाँडफाँड मिलाउने आश्वासन दिइए पनि बालेनले सुरुदेखि नै स्पष्ट संरचना र भूमिकाको माग गरेका थिए ।

त्यसपछि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । उनले राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै वैकल्पिक शक्ति निर्माणको संकेत दिएका थिए । बालेन अलग बाटोमा अघि बढेको बुझाइपछि रविले पुनः संवाद थाले र पुस १० गतेको छलफलमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएको बताइन्छ । त्यसपछि दुवै पक्षका प्रतिनिधि रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर उज्यालो नेपाल पार्टीका प्रतिनिधिलाई कार्यदलमा समेटिन नसक्नु, रविले जेलबाट छुटेपछि कुलमानसँग प्रत्यक्ष संवाद नगर्नु र शक्ति बाँडफाँडमा लचकता नदेखिनुका कारण कुलमान असन्तुष्ट बने । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर विलय नहुने औपचारिक निर्णय समेत गरिसकेको थियो ।

यद्यपि अन्तिम समयसम्म बालेनले कुलमानलाई मनाउने प्रयास जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । परिणामतः चर्चित त्रिपक्षीय वैकल्पिक राजनीतिक धार निर्माणको प्रयास दुई पक्षीय सहमतिमा सीमित रह्यो । अब रवि–बालेन एउटै प्लेटफर्मबाट अघि बढ्ने भएका छन् भने कुलमान घिसिङ आफ्नै दलसहित अलग राजनीतिक यात्रामा निस्कने संकेत स्पष्ट देखिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *