`

रवि–बालेन सहमतिपछि ‘आक्रामक’ हर्क : ‘फटाहाहरू’ ले विदेशीको इशारामा देश चलाउने रे !

Nepal One HD १३ पुष २०८२ १४:०५
प्रमुख खबर

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच ७ बुँदे सहमति सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सामाजिक सञ्जालमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । आइतबार बिहानदेखि उनले लगातार फेसबुक स्टाटस, भिडियो लिङ्क र लाइभमार्फत नयाँ तथा वैकल्पिक भनिएका राजनीतिक शक्तिमाथि कडा टिप्पणी गरेका छन् ।

आइतबार बिहान ७ः२६ बजे पहिलो स्टाटस लेखेका साम्पाङले अपराह्न १२ः१२ बजेसम्म ५ घण्टाको अवधिमा ३७ वटा स्टाटस र सामग्री शेयर गरेका छन् । उनका अधिकांश अभिव्यक्तिहरू रवि–बालेन सहकार्य केन्द्रित छन् । साम्पाङले उक्त सहमतिलाई ‘विदेशीको इशारामा देश चलाउने प्रयास’ को संज्ञा दिँदै ती नेताहरूलाई ‘डलरे’ र ‘विदेशीद्वारा पालित–पोषित’ समेत भनेका छन् ।

उनले लेखेका छन्, ‘जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ । फटाहाहरू । सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे ।’ यस अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस र प्रतिक्रिया जन्माएको छ । साम्पाङ पछिल्लो समय कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरूभन्दा पनि नयाँ दल र नेताप्रति बढी आक्रामक देखिएका छन् । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङदेखि रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन साहसम्मलाई उनले पटक–पटक विदेशी प्रभावमा चलेको आरोप लगाएका छन् । उनका अनुसार ‘मिडिया ट्रायल’ मार्फत प्रधानमन्त्री घोषणा गर्ने प्रवृत्ति खतरनाक छ र श्रम संस्कृति पार्टी विदेशी दलाली गर्ने शक्तिसँग सहकार्य नगर्ने अडानमा छ ।

यसैबीच, साम्पाङले आफ्नो पार्टीका नेता मित्र परियारलाई निष्काशन गर्नुको कारणबारे पनि स्पष्ट पारेका छन् । उनले कारबाहीका दुई कारण उल्लेख गर्दै आयोजक श्रमदातालाई अपमानजनक र दम्भी व्यवहार देखाएको तथा श्रमदातामाथि असभ्य भाषा प्रयोग गरेको बताएका छन् । आफ्नो कार्यशैलीको बचाउ गर्दै साम्पाङले ‘हर्कवाद’ र ‘श्रम संस्कृति’ को अवधारणालाई निरन्तर अघि सारेका छन् ।

ढुङ्गा बोकेको तस्बिर शेयर गर्दै उनले लेखेका छन्, ‘यो वाद, त्यो वाद भन्दै रात पार्नेहरूलाई देश विकासमा ढुङ्गा बोकाउने धोको छ । जय हर्कवाद ।’ उनको दाबी छ–आगामी निर्वाचनमा श्रम संस्कृतिले नै बहुमत ल्याउनेछ र अन्य शक्तिहरू केवल मिडियामै सीमित छन् । आइतबार उनले दुई पटक फेसबुक लाइभ समेत गरेका थिए । ती लाइभमा उनी भावनात्मक र केही तनावग्रस्त देखिएका थिए । सामाजिक सञ्जालमार्फत निरन्तर अभिव्यक्ति दिँदै आएका साम्पाङका यी गतिविधिले स्थानीय राजनीति मात्र होइन, राष्ट्रिय राजनीतिक बहसलाई समेत तताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *