‘देश युवाहरूले चाहे जस्तो निर्माण गर्ने दिशामा अग्रसर भयो’ {तस्वीरहरु}
काठमाडौं । गुरुङ समुदायको ठूलो चाड तमु ल्होसारको अवसरमा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पनि पुगिन् । तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी प्रम कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिएका थिए । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताइन् । ‘यही विविधता नै हाम्रो ठूलो शक्ति पनि हो । तमु ल्होसार जस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् । यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन्,’ उनले भनिन्, ‘आज हामी घोडा वर्गको नयाँ वर्ष मनाउँदै छौँ । घोडा शक्ति, साहस, गति र कर्मठपनाको प्रतीक हो । यही ऊर्जा र सकारात्मक भावनालाई आत्मसात् गर्दै हामी सबैले देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र वेगमा अघि बढ्नु पर्नेछ ।’
जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि एकआपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौं भन्ने विश्वास नै नेपाली समाजको अर्को सुन्दर पक्ष रहेको प्रधानमन्त्री कार्कीले बताइन् । पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उनले बताइन् ।
तस्वीरहरुः नेपाल फोटो लाइब्रेरी

