`

‘देश युवाहरूले चाहे जस्तो निर्माण गर्ने दिशामा अग्रसर भयो’ {तस्वीरहरु}

काठमाडौं । गुरुङ समुदायको ठूलो चाड तमु ल्होसारको अवसरमा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पनि पुगिन् । तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी प्रम कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिएका थिए । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताइन् । ‘यही विविधता नै हाम्रो ठूलो शक्ति पनि हो । तमु ल्होसार जस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् । यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन्,’ उनले भनिन्, ‘आज हामी घोडा वर्गको नयाँ वर्ष मनाउँदै छौँ । घोडा शक्ति, साहस, गति र कर्मठपनाको प्रतीक हो । यही ऊर्जा र सकारात्मक भावनालाई आत्मसात् गर्दै हामी सबैले देशको समुन्नति र समृद्धिको यात्रामा तीव्र वेगमा अघि बढ्नु पर्नेछ ।’

जस्तोसुकै चुनौती र कठिन परिस्थितिमा पनि एकआपसमा हातेमालो गर्दै समाधान खोज्न सक्छौं भन्ने विश्वास नै नेपाली समाजको अर्को सुन्दर पक्ष रहेको प्रधानमन्त्री कार्कीले बताइन् । पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उनले बताइन् ।
तस्वीरहरुः नेपाल फोटो लाइब्रेरी

यसरी मनाइँदै ‘तमु ल्होसार’ मनाइँदै (तस्वीरहरू)

काठमाडौँ । आज देशभर हर्षोल्लासका साथ ‘तमु ल्होसार’ मनाइँदै छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मनाउँदै आएका छन् । ‘गुरुङ समुदायमा ‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले फेरिनु भन्ने बुझिन्छ । तसर्थ, वर्ष फेरिने दिनको सङ्केतका रूपमा यस पर्वलाई ‘तमु ल्होसार’ नामकरण गरिएको हो । विशेष गरी पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि दिनहरू लम्बिँदै जाने हुँदा अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ ।

सूर्यको ताप र भौगोलिक अवस्थितिसँग पनि यो पर्वको गहिरो सम्बन्ध रहेको छ । गुरुङहरूको बाहुल्य रहेका लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका जिल्लाहरूमा सूर्यको ताप पहिले महसुस गरिने भएकाले पुस महिनामै यो पर्व मनाउने परम्परा बसेको विश्वास गरिन्छ । ल्होसारको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज गुरुङ समुदायले वसन्तपुरबाट सांस्कृतिक ¥याली सहित रत्नपार्क, भद्रकाली सहिदगेट हुँदै टुँडिखेलमा पुगेर आफ्नो मौलिक पर्वलाई भव्यताका मनाइरहेका छन् ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी