चुनाव सर्ने र सरकार फेरिने हुनु हुँदैन : बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तोकिएकै मितिमा चुुनाव हुनुपर्ने बताएका छन् । यही सरकारले चुनाव सम्पन्न गर्नुपर्ने उनले बताएका छ । त्यसका लागि अठोट गर्न उनले सरकार, सबै राजनीतिक दल र नागरिकलाई आग्रह गरेका छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले यही सरकारले निर्धारित मितिमै चुनाव सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
‘चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमै चुनाव हुनुपर्छ । अन्यथा सोच्नु हुँदैन । यही नेतृत्व सक्षम छ,’ भट्टराईले भने । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका भट्टराईले आजित हैरान भएँ भन्ने प्रधानमन्त्री कार्कीको अभिव्यक्ति मानवीय स्वभावजन्य भएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीले केही दिनअघि दलदेखि जेनजीका विभिन्न समूहले आजै छोड भोलि नै छोड भन्ने गरेको भन्दै आफू आजित र हैरान भएको बताएकी थिइन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले नेपाललाई शान्ति केन्द्रका रुपमा घोषणा गरेर विश्वबाट मान्यता लिनुपर्ने प्रस्ताव गरेका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले ‘हामी कसैसँग लड्दैनौं, हामी लगानी ल्याएर विकास गर्छौ’ भनेर संकल्प गर्नुपर्ने बताएका हुन् । डा. भट्टराईले मुख्यतः भारत र चीन त्यसपछि तेस्रोमा बाह्य मुलुकबाट आईटीलगायतसँग जोडेर पुँजी र प्रविधि भित्र्याउनु पर्ने अवस्था रहेको बताए । उनले भने, ‘लेबर एक्स्पोर्ट गर्नुको साटो फुड र सर्भिसेज एक्स्पोर्ट गरौै यसो गर्यो भने देश बन्छ ।’
