७८ लाख घुसकाण्डमा पूर्वमन्त्री गुप्तालाई जेलवास
काठमाडौं। विशेष अदालतले पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदूर कोइरालाको इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको यो आदेशसँगै पूर्वमन्त्री गुप्ताको जेलबास हुने भएको छ ।
२२ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ चौधरीलगायत छ जनाविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको थियो ।
पोखराको बाटुलेचौरस्थित लिची बगैँचाको १ सय ३४ रोपनी जग्गा हडप्न खोज्ने बिचौलियासँग घुसवापत ७८ लाख रुपैयाँ लिएको उनको अडियो मन्त्री छँदै बाहिरिएको थियो ।
यसपछि राजीनामा दिन उनलाई चौतर्फी दबाब पर्यो । प्रतिनिधिसभामा तत्कालीन विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतले मन्त्री गुप्तालाई पदबाट हटाउन त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाए ।
मन्त्री गुप्ताको राजीनामा मागे । अन्ततः ओलीको निर्देशनमा उनले राजीनामा दिए ।
यही प्रकरणमा तत्कालीन भूमि सुधारमन्त्री बलराम अधिकारी पनि मुछिए । तर, उनले राजीनामा दिनु परेन ।
त्यसलाई लिएर विपक्षी दलहरूले आरोप लगाए– प्रधानमन्त्रीको आशीर्वाद मन्त्री अधिकारीमाथि भयो ।’
लिचीबारी प्रकरण ठूलो भ्रष्टाचारकाण्ड हो । पूर्वमन्त्री रञ्जिता श्रेष्ठ चौधरी पनि यो प्रकरणमा जोडिएकी छिन् ।
हाल उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा पुगेकी छिन् ।
उनी नेकपाबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको बन्दसूचीमा परेकी छिन् ।
