भरतपुर मुलुकको केन्द्रीय सहर भएको छः सञ्चारमन्त्री खरेल
चितवन, १८ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताउनुभएको छ ।
‘सुनौलो नेपाल’ले आज यहाँ आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उहाँले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरल सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताउनुभयो ।
“जसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए पनि मुख्य सहर न्युयोर्क हो, त्यसैगरी भरतपुर हाम्रो प्रमुख सहरका रूपमा स्थापित भएको छ ।” उहाँले भारतको टोकियो, भारतको नयाँदिल्ली, बेलायतको लण्डन, फ्रान्सको पेरिस भएजस्तै नेपालका लागि भरतपुर त्यो सहर भएको उल्लेख गर्नुभयो ।
भरतपुरलाई यहाँसम्म ल्याउनका लागि भरतपुर महानगरका मेयर रेनु दाहालको भूमिका महत्त्वपूर्ण रहेको मन्त्री खरेलको भनाइ थियो । यसभन्दा अगाडि जति पनि जनप्रतिनिधि, अभियान्ता र सरोकारवालाहरू हुनुहुन्थ्यो उहाँहरूको पनि योगदान ठूलो छ । “पछिल्लो आठ वर्षमा सबै कायापलट भएको होइन, तर यस अवधिमा जे भएका छन्, त्यो निकै उल्लेखनीय छ”, उहाँले भन्नुभयो ।
मन्त्री खरेलले भरतपुर बन्यो तर देश किन बनेन भन्ने जवाफ पनि भरतपुरबाटै खोज्न सकिने बताउनुभयो । “भरतपुरमा मेयरका रुपमा रेनु दाहालले आठ वर्ष लगातार काम गर्न पाउनुभयो, यदि उहाँले नौ महिनामात्र पाएको भए भरतपुरमा यो तहको विकास हुने थिएन”, उहाँले भन्नुभयो ।
त्यस अवसरमा मन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेमा आशङ्का नगर्न पनि आग्रह गर्नुभयो । साथै आफू निर्वाचनमा उठ्ने विषयमा कुनै पनि निर्णय नगरेको स्पष्ट पार्नुभयो ।
