ओलीलाई बयान दिन जाँचबुझ आयोगको पत्र, के ओलीले बयान देलान् ?
काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेन–जी विद्रोहको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बयानका लागि पत्र काटेको छ ।
पत्रपछि ओलीको सार्वजनिक प्रतिक्रिया आएको छैन । यसअघि उनले सार्वजनिक रूपमै बयान नदिने बताउँदै आएका थिए ।
आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिएको पृष्ठभूमिमा ओलीसँग बयानका लागि पत्र काटेको हो ।
हालै आयोगका अध्यक्ष कार्कीले ओलीलाई बयानमा बोलाउने र त्यसका लागि पत्र काट्ने बताएका थिए ।
यहीबीच ओलीसँग राष्ट्रिय मानव अधिकार आयोगले बयान लिएको आयुक्त लिली थापाले जानकारी दिइन् ।
आयोगले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलगायतसँग बयान लिइसकेको छ ।
आयोगलाई विद्रोहको पहिलो दिन २३ भदौमा भएको सरकारी दमन र २४ गते विद्रोहीहरूबाट भएको विध्वंशको सत्यतथ्य छानबिन गर्ने कार्यादेश छ ।
तर, आयोगको अध्यक्ष हुनुभन्दा अघि कार्कीले ओली, लेखकलगायतलाई जेल कोच्नुपर्ने भन्दै कडा अभिव्यक्ति दिएको र उनै छानबिन आयोगको अध्यक्ष हुनाले निष्पक्ष छानबिन हुनेमा विश्वास नरहेको ओलीले बताउँदै आएका छन् ।
उनले पहिले नै कार्कीले दोषी ठहर्याइसकेकाले सिँधै जेल पठाउन चुनौती दिने गरेका छन्
